कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

स्वास्थ्यकर्मी धमाधम संक्रमित

राजधानीका केन्द्रीयस्तरका ६ अस्पतालमा मात्रै २ सयभन्दा बढीमा कोरोना
त्रिवि शिक्षण अस्पतालको मेडिकल आईसीयूका सबै कर्मचारी संक्रमित भएपछि वार्ड बन्द
अतुल मिश्र

काठमाडौँ — कोभिडबाट ठूलो संख्यामा स्वास्थ्यकर्मीसमेत संक्रमित हुन थालेका छन् । जनशक्तिको अभाव झेल्दै आएका राजधानीका केन्द्रीयस्तरका ६ अस्पतालमा शनिबारसम्म २ सयभन्दा बढी मा संक्रमण देखिएको छ । ती अस्पतालका सेवा हाल प्रभावित हुन थालेका छन् ।

स्वास्थ्यकर्मी धमाधम संक्रमित

गत सातादेखि राजधानी र बाहिरका अस्पतालमा पनि स्वास्थ्यकर्मी संक्रमित हुने दरमा अप्रत्याशित वृद्धि देखिएको छ । सबैभन्दा बढी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ३५ डाक्टरसहित १ सय १५ स्वास्थ्यकर्मी संक्रमित छन् । ८ शय्याको मेडिकल आईसीयूका सबै कर्मचारी संक्रमित भएपछि उक्त वार्ड नै बन्द गरिएको छ । ‘संक्रमितहरू आइसोलेसनमा छन्,’ अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दासले भने, ‘संक्रमितको संख्या बढे ननकोभिड र रुटिन नै प्रभावित हुन सक्छ ।’

ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य स्वास्थ्यकर्मीलाई कामको चाप अत्यधिक बढेको छ । सेवा प्रभावित हुन नदिन बढी स्वास्थ्यकर्मी भएका विभागबाट अभाव भएका विभागमा सार्न थालिएको डा. दासले बताए । मेडिकल आईसीयूका सबै स्टाफलाई एकैपटक कोभिड देखिएपछि १० दिनका लागि होम आइसोलेसनमा राखिएको छ । संक्रमितको अवस्था चिन्ताजनक नभएको उनले बताए । ‘सबै स्वास्थ्यकर्मीले पूर्ण खोप लिएका छन्, उनीहरूमा मध्यम ज्वरो, शरीर/घाँटी दुखाइलगायत रुघाखोकी जस्ता लक्षण देखिएको छ,’ उनले भने ।

वीर अस्पतालमा १३ डाक्टरसहित ४४ स्वास्थ्यकर्मी र पाटन अस्पतालमा ८ डाक्टरसहित २४ जना स्वास्थ्यकर्मी होम आइसोलेसनमा छन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पनि ३ डाक्टरसहित १४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका ६ स्वास्थ्यकर्मी संक्रमित भएपछि शनिबार जनशक्ति व्यवस्थापनबारे आकस्मिक बैठक बसेको छ । ‘कोभिड अस्पताल भएकाले थप जनशक्ति संक्रमित हुने उच्च सम्भावना छ,’ अस्पतालका निर्देशक डा. मनीषा रावलले भनिन्, ‘एकैचोटि धेरै संक्रमित भए अस्पताल कसरी चलाउने भन्नेबारे नै हामी विमर्शमा छौं ।’

विज्ञहरू सरकारले छिट्टै विशेष रणनीति नअपनाए स्वास्थ्य सेवा प्रवाहमा समस्या आउन सक्ने बताउँछन् । ‘तेस्रो लहरमा मुलुकको चुनौती नै स्वास्थ्य सेवा क्षेत्रमा जनशक्ति व्यवस्थापन हुने देखिएको छ,’ वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठले भने, ‘सेवा प्रभावित हुन नदिन जुनसुकै समय चिकित्साकर्मीलाई करारमा लिन सक्ने र पुलमा समेत राख्ने व्यवस्था गर्नुपर्छ ।’

पहिलो र दोस्रो लहरको लकडाउनले गर्दा नियमित स्वास्थ्य सेवा प्रायः बन्द हुँदा मुख्य रूपमा संक्रमितकै उपचारमा बढी ध्यान दिनुपर्ने भएकाले स्वास्थ्यकर्मीको अभाव भए पनि सेवा प्रभावमा ठूलो समस्या देखिएको थिएन । तर, यसपटक ओमिक्रोन भेरिएन्टका कारण संक्रमण तीव्र फैलिइरहेकाले नियमित सेवा र कोभिड सेवा दुवै दिनुपर्ने भएकाले जनशक्ति परिपूर्ति चुनौतीपूर्ण देखिएको विज्ञहरूको भनाइ छ । ‘हाल कोभिड र ननकोभिड स्वास्थ्य सेवामा उत्तिकै ध्यान दिनुपर्छ, जसले दुवै सेवामा चाप अत्यधिक छ,’ डा. श्रेष्ठ भन्छन्, ‘अवस्था चुनौतीपूर्ण छ । त्यसकारण हामी विशेष रणनीति अपनाउन थालेका छौं ।’ वीरले नियमित सेवाअन्तर्गत कार्डियोलोजी र ग्यास्ट्रो वार्ड एउटै बनाएर एउटा वार्डको जनशक्तिलाई कोभिड बिरामीको उपचारमा खटाउन थालिसकेको छ । डा. श्रेष्ठले अबको एक साता अवस्था भयावह हुन सक्ने चेतावनी दिए ।

पाटन अस्पतालको बहिरंग सेवामा कार्यरत ६ जना एकैपटक संक्रमित भएपछि जनशक्ति व्यवस्थापनमा समस्या निम्तिएको छ । निर्देशक डा. रवि शाक्य अहिलेकै दरमा स्वास्थ्यकर्मी संक्रमित हुने क्रम जारी रहे सेवा प्रभावित हुन सक्ने चिन्ता प्रकट गर्छन् । ‘साथीहरू तानतुन गरेर डबल ड्युटी गरिरहेका छन्,’ उनले भने ।

स्वास्थ्यकर्मी संक्रमित भए पनि उनीहरूमा स्वास्थ्य जटिलता नदेखिनुमा खोपको ‘अतिरिक्त मात्रा’ को सकारात्मक प्रभाव हुन सक्ने विज्ञहरूको दाबी छ । ‘देशभरिकै सबैजसो स्वास्थ्यकर्मीले बुस्टर डोज लिइसकेको ओपेन सेक्रेट हो,’ राजधानीको एक प्रमुख सरकारी अस्पतालका एक चिकित्सकले भने । औपचारिक रूपमा आइतबारदेखि मात्र स्वास्थ्यकर्मीलगायत ‘फ्रन्टलाइनर’ लाई अतिरिक्त डोज लगाउने सरकारी तयारी छ । कतिपय सरकारी अधिकारीहरू नै सरकारले धेरै ढिलो गरी अतिरिक्त खोप अभियान सुरु गरेकामा आलोचना गरिरहेका छन् ।

सरकारले अतिरिक्त खोपबारे निर्णय लिन ढिलाइ गरेपछि स्वास्थ्यकर्मीले आफ्नै हिसाबले अतिरिक्त खोप लगाएका थिए । ‘अतिरिक्त खोपका लागि मन्त्रालयको बाटो हेरेको भए ठूलै दुर्घटना भइसक्ने थियो,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘स्वास्थ्यकर्मीले बुस्टर डोज लगाएकाले जटिलता देखिएको छैन, मानसिक रूपमा समेत उच्च मनोबल देखिएको छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीसमेत मन्त्रालयको निर्णय समयअनुसार नभएको आरोप लगाउँछन् । उनले मन्त्रालयले समयमा निर्णय नलिँदा स्वास्थ्यकर्मीले भित्रभित्रै खोप लगाउन बाध्य भएको बताए ।

आजदेखि ‘बुस्टर डोज’

फ्रन्टलाइनर र सार्वजनिक क्षेत्रमा काम गर्नेलाई आइतबारदेखि ‘बुस्टर डोज’ खोप दिइने भएको छ । पूर्ण खोप लगाएको ६ महिना पुगेकालाई हाल सञ्चालनमा रहेका र थपिने नयाँ खोप केन्द्रबाटै ‘बुस्टर डोज’ दिइने छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ९ लाख ४९ हजार ८ सय ८७ जनालाई बुस्टर डोज दिन लागिएको हो । स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीले समेत बुस्टर डोज पाउनेछन् ।

सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई पनि खोप दिइने डा. अधिकारीले बताए ।

प्रकाशित : माघ २, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?