२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अस्पताल भरिभराउ, होल्डिङ सेन्टर खाली

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधीन होल्डिङ सेन्टरको काम अधुरै हुँदा कोरोना संक्रमितलाई महाकाली अस्पतालको आइसोलेसनमा राख्नुपर्ने अवस्था आएको छ ।

अस्पताल भरिभराउ, होल्डिङ सेन्टर खाली

दुई महिनामा सक्ने गरी गत असारदेखि सुरु भएको सेन्टर निर्माणको काम अझै सकिएको छैन । १ हजार बेड क्षमताको होल्डिङ सेन्टर २९ करोडभन्दा बढी लागतमा बन्न लागेको हो ।

निर्माणाधीन होल्डिङ सेन्टरमा पाइपलाइबाट अक्सिजन दिन सकिने व्यवस्था गरिएको छ । ‘होल्डिङ सेन्टर कसले चलाउने भन्ने अझै निश्चित छैन,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भने, ‘हामीले तत्काल होल्डिङ सेन्टर सञ्चालनका लागि आवश्यक निर्णय गर्न आग्रहसमेत गरेका छौं ।’ सामाजिक विकासमन्त्री लालबहादुर खड्काले एक महिनाको अवधिमा तीन/चार पटक गड्डाचौकी नाका अनुगमन गरिसकेका छन् । होल्डिङ सेन्टरको पनि अनुगमन गरेका उनले यसको सञ्चालनबारे कार्यविधि नबनेको बताए । लावालस्करसहित अनुगमनमा आउने गरेका अन्य मन्त्रीसमेत सेन्टर सञ्चालनबारे स्पष्ट छैनन् । ‘गृहमन्त्रीदेखि प्रधानमन्त्रीको कार्यालयमा फनि होल्डिङ सेन्टर सञ्चालनबारे छलफल भएको छ,’ गत साता सेन्टर अनुगमन गर्न पुगेका मन्त्री खड्काले भने, ‘कार्यविधि नबन्दासम्म प्रदेशले आफ्नै स्वास्थ्यकर्मी र अन्य जनशक्ति परिचालन गरेर सेन्टर सञ्चालनमा ल्याइनेछ ।’ कोरोना संक्रमण रोकथामका लागि प्रदेश निर्देशक समितिको बैठक बसेर प्रदेशका सबै होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने र लक्षण नभएका संक्रमितलाई त्यहाँ राख्ने निर्णय भएको उनले बताए ।

केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ । भारतबाट घर फर्किनेमा बढी संक्रमण देखिन थालेको छ । अहिले पनि गड्डाचौकी नाकामा परीक्षणका क्रममा संक्रमण पुष्टि भएकालाई महाकाली प्रादेशिक अस्पतालमा राखिन्छ । जहाँ क्षमताभन्दा दोब्बर संक्रमित राख्दा उनीहरूको रेखदेखसम्म हुन सकिरहेको छैन । संक्रमितहरू अस्पतालबाटै भाग्ने गरेका छन् । महाकाली प्रादेशिक अस्पतालमा अहिले ५० बेडको आइसोलेसन सञ्चालनमा छ ।

सालघारीमा ५० बेड क्षमताका २२ ठूला जस्ता र फलामका संरचनाहरू निर्माण भइरहेका छन् । जसमध्ये २० वटामा संक्रमितलाई राखिनेछ भने २ वटामा स्वास्थ्यकर्मीको टोली बस्नेछ । निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका प्रतिनिधि लक्ष्मण सापकोटाले तत्काल ३ सय बेड तयार गर्न सकिने बताए । ९० प्रतिशत काम सम्पन्न भए पनि भुक्तानी भने ५०/६० प्रतिशत मात्रै भएका कारण निर्माणमा समस्या भइरहेको उनको भनाइ छ ।

शनिबार पनि गड्डाचौकी नाकाबाट घर फर्किनेमध्ये ४५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू सबैलाई महाकाली अस्पतालमै राखिएको छ । नाकामा संक्रमण पुष्टि हुनेको संख्या बढ्दा अस्पतालमा चाप बढेको हो ।

प्रकाशित : माघ २, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?