कोरोना परीक्षण नाकामा मात्रै

विभिन्न नाकाबाट भित्रिएकामध्ये धेरैजसोमा संक्रमण पुष्टि भइरहेको छ, संक्रमित व्यक्ति सार्वजनिक यातायात चढेर घर गइरहेका छन्

लुम्बिनी र भैरहवा — लुम्बिनी प्रदेशमा परीक्षण र ट्रेसिङलाई सीमा नाकामा केन्द्रित गरिएको छ । स्वास्थ्य चौकी, जिल्ला र प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गर्ने कम देखिन्छन् । पछिल्लो समय परीक्षण गरिएकामध्ये धेरैमा संक्रमण पुष्टि भइरहेको छ । विभिन्न नाकाबाट भित्रिएकामध्ये धेरैमा संक्रमण पुष्टि भइरहेको छ । संक्रमित सार्वजनिक गाडी चढेर घर गइरहेका छन् ।

कोरोना परीक्षण नाकामा मात्रै

रूपन्देही, कपिलवस्तु र बाँकेका ठूला नाकाबाट दिनहुँ सयौं व्यक्तिको ओहोरदोहोर भइरहेको छ । नाकामा हेल्थ डेस्क राखेर निगरानीको व्यवस्था गरिए पनि छोटी नाका र खुला दशगजामा निगरानी छैन ।

रूपन्देहीको बेलहिया नाका हुँदै मुलुक प्रवेश गर्नेमध्ये एन्टिजेन परीक्षणमा पोजिटिभ नतिजा आउनेलाई राख्न अस्थायी होल्डिङ सेन्टर स्थापना गरिएको छ । त्यहाँ केही समय राखेर संक्रमितलाई होम क्वारेन्टिनमा बस्ने सर्तमा घर पठाउने गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णयअनुसार स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा मुलुकबाहिरबाट आउने यात्रुको एन्टिजेन परीक्षण भइरहेको छ । नतिजा पोजिटिभ आएमा उनीहरूसँग सम्बन्धितहरूको ट्रेसिङ गरी फैलनबाट जोगाउन छलफल गरिएको केन्द्रका संयोजक रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

पश्चिम नवलपरासीस्थित महेशपुर नाकाबाट मात्रै दिनमा ३ हजार जनाभन्दा बढी आवतजावत गर्छन् । उक्त नाकामा बिहीबारदेखि मात्रै एन्टिजेन परीक्षण सुरुवात गरिएको पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यनारायण चौधरीले बताए । पालिका, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र सम्बन्धित निकायको छलफलपछि सरकारले तोकेको स्थानमा हेल्थ डेस्क स्थापना गरी परीक्षण सुरु गरिएको उनले बताए । ‘नाकाबाट हजारौं मानिस आउने जाने गर्छन्,’ उनले भने, ‘सबैको टेस्ट गरेर सकिँदैन, दिनमा १५ जनासम्मको परीक्षण गरिन्छ ।’

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार जिल्लाका नागरिकमा चेतनाको विकास गर्न नसकिँदा कोरोना महामारीको स्थिति भयावह हुने सम्भावना छ । हेल्थ डेस्कमा काम गर्ने कर्मचारी अभाव भएकाले आउने जति मानिसको परीक्षण सम्भव नभएको उनले बताए । ‘जिल्ला स्वास्थ्य कार्यालय र अन्य स्थानबाट पठाएर कर्मचारी खटाइएको छैन,’ उनले भने, ‘स्थानीय तहका स्वास्थ्य कर्मचारीले जति भ्याउँछन्, त्यति परीक्षणको थालनी गरिएको छ ।’ डेस्क राखिएको स्थानमा परीक्षण गरिने भए पनि महेशपुर नाकामा वारपार गर्न बीचका खेत, नहर छेउका सडकका साथै अन्य थुप्रै गल्ली भएकाले नागरिकमै सचेतना नआएसम्म परीक्षणले मात्र थाम्न नसकिने उनको भनाइ छ । मिश्रले नाकाको स्थिति हेरेपछि स्थानीय पालिकासँग समन्वय गरी गाउँगाउँमा परीक्षण गरिने जनाए । उनले विस्तारै संख्या वृद्धि भए सरकारी कार्यालय, सार्वजनिक स्थानमा समेत एन्टिजेन परीक्षणको काम गरिने बताए । कपिलवस्तुको कृष्णनगर नाका हुँदै मुलुक प्रवेश गर्नेको न्यून मात्र परीक्षण भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । डीसीसीएमसीको बैठकबाट पालिका र गाउँसम्म टेस्टको दायरा बढाउने गरी छलफल भइरहे पनि सुरु भइनसकेको उनले जनाए ।

पाल्पाबाट सर्वसाधारण दिनहुँ बुटवल, भैरहवा र सुनौली बजारसम्म किनमेलका लागि आउजाउ गर्छन् । उनीहरूमध्ये कसैको पनि परीक्षण हुन सकेको छैन । तानसेन नगरपालिकाका स्वास्थ्य प्रमुख झविन्द्र न्यौपानेले पालिका हजारौंको परीक्षण गर्न तयार रहे पनि मानिसहरूले नमानिदिँदा हैरानी भएको बताए । बसपार्क, विशालबजार र नारायणस्थानमा परीक्षण गर्ने सोचमा आफूहरू रहेको उनले बताए । केही दिनयता माघीको अवसर पारी दाङमा लाग्ने ठूलो मेला भर्न भारतीय बाँकेको जमुना नाका हुँदै नेपाल प्रवेश गरे । उनीहरूको आगमनले थप चुनौती थपिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए । उनले भने, ‘मेला–महोत्सव नहुने हो भने जोखिम र डर कम हुन्थ्यो ।’

नाकामै परीक्षणको दायरा बढाउन सके कोरोना फैलनबाट जोगाउन सकिने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए । उनका अनुसार अस्पतालमा भर्ना हुने संक्रमित संख्या न्यून भए पनि नयाँ देखिएका संक्रमित ओमिक्रोनका भएमा संख्यात्मक दर बढ्दै जानेछ । ‘अस्पताल नै भर्ना हुने र बिरामी हुने खालको भेरिएन्ट होइन भन्ने छ,’ उनले भने । छोटी नाकामा स्वास्थ्य जाँच न मापदण्ड रूपन्देहीको सुनौली–बेलहिया मूल सीमामा यात्रुको एन्टिजेन परीक्षण हुन्छ, स्वास्थ्य सुरक्षालाई व्यवस्थित पारिएको छ । यही मूल नाकाबाट करिब ४ किमि पश्चिमको केवटलिया–फूलपुर भित्री नाकाको अवस्थाले भने अस्तव्यस्त छ । यस नाकाबाट चौबीसै घण्टा यात्रुको आवागमन हुने गर्छ । नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल र चारपांग्रे भारतीय गाडीको ओहोरदोहोर चलिरहन्छ । रोजगारी तथा मजदुरी, किनमेल, औषधोपचार, आफन्तसँगको भेटघाटका लागि मानिसको आवागमन बढ्दो छ ।

‘मूल नाकाबाट आवतजावत गर्दा दुवैतर्फका सुरक्षाकर्मीले सोधपुछ गर्ने भएकाले यताबाट आवतजावत बढेको छ,’ भारतीय नागरिक अस्लाम धोबीले भने, ‘ठूला सहरमा धेरै फोहर र प्रदूषण हुने गरेकाले कोभिड संक्रमणको डर हुने हो । यता साना गाउँमा संक्रमण हुँदैन ।’ नाकाबाट आवतजावत गर्ने कसैले पनि मास्कको प्रयोग गर्दैनन् । सेनिटाइजर त परको कुरा । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उपस्थिति छैन । बेलाबेलामा नेपालतर्फ सशस्त्र प्रहरी बल र भारततर्फ एसएसबीका सुरक्षाकर्मीले गाडीबाट गस्ती गरे पनि स्थानीयलाई केही भन्दैनन् ।

सिद्धार्थनगर–२ मेउडिहवासँग जोडिएको यो नाका सिधै भैरहवा र भारततर्फ नौतनवासँग जोडिएको छ । आवागमन सुरक्षित र व्यवस्थित गराउनेतर्फ भारतीय पक्षबाट पनि पहल भएको छैन । बेलहियापछि लुम्बिनीको कक्रहवा नाकाबाट नेपालतर्फ आउने यात्रुको एन्टिजेन परीक्षण गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

प्रकाशित : माघ २, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?