१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अफगानिस्तानलाई नेपालको सहयोग हस्तान्तरण

काठमाडौँ — मानवीय संकट सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा आइतबार अफगानिस्तान पुगेको टोलीले काबुलमा सहयोग हस्तान्तरण गरेको हो ।

अफगानिस्तानलाई नेपालको सहयोग हस्तान्तरण

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार नेपाली टोलीले काबुल अन्तर्राष्ट्रिय विमानस्थलस्थित संयुक्त राष्ट्रसंघका महासचिवका उप-विशेष प्रतिनिधि तथा अफगानिस्तानका लागि मानवीय तथा विकास संयोजक रामिज अलकबरोबलाई आइतबार सहयोग हस्तान्तरण गरेको हो ।

आइतबार दिउँसो सहयोग हस्तान्तरणका केही तस्बिरसहित परराष्ट्र मन्त्रालयको ट्वीटर ह्यान्डलबाट यसबारे जानकारी दिइएको छ । नेपाल सरकारले आइतबार बिहानै औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित १० टनको सामग्री लिएर नेपाली टोली हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको थियो ।

परराष्ट्रमन्त्री नारायण खड्काका अनुसार नेपाली टोली काबुल अन्तर्राष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फर्कने छ ।

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएका छन् । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ ।

त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।

प्रकाशित : माघ २, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?