भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री देउवा

रासस

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको मुख्य कारण बन्न सक्ने चिन्ता व्यक्त गरेका छन् । चौबीसौं भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । 

भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री देउवा

उनले भने, 'विसं २०७२ को भूकम्पमा देखेका र भोगेका कुरालाई मनन गरेर आउँदा दिनमा यसबाट जोगिने योजना तयार गर्नुपर्नेछ ।'

भूकम्प तथा आगलागी तथा बाढीपहिरोजस्ता प्राकृतिक विपद्को क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारबीच सहकार्य अति नै जरुरी रहेको उनको भनाइ छ । सो जोखिमबाट मुलुकवासीको रक्षा गर्न दक्ष जनशक्ति परिचालन गर्न सबै स्थानीय तहले तयारी अवस्थामा रहिरहनुपर्ने प्रधानमन्त्री देउवाले आग्रह गरे ।

गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११औं नम्बरमा रहेको जानकारी गराउँदै सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्नुपर्ने बताए । उनले भने, 'देशभर पटक–पटक गरी आउने प्राकृतिक विपत्तिबारे जानकारी लिन पूर्वसूचना प्राप्त गर्ने संयन्त्रलाई जडान गरेर थप प्रभावकारी बनाउनेछौं ।' ललितपुर महानगरपालिकाले जस्तै मुलुकमा रहेका अन्य बाँकी पालिकाले समेत भवन निर्माण संहिता लागू गर्नसके जोखिम कम हुने उनको भनाइ थियो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी दिनमा आउने भूकम्पको जोखिम कम गराउन बलियो भवनले मात्रै पर्याप्त नहुने भन्दै सोसँगै भूगोलको संरचनाप्रति पनि संवेदनशील हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, 'मुलुकका भित्री सहरमा प्राकृतिक विपद् आउँदा प्रयोग गर्न मिल्ने खुला क्षेत्र अभाव भएकाले सोको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दछु ।'

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवन निर्माण संहिता, २०६९ बनाउने पहिलो नगरपालिका आफ्नै रहेको जानकारी गराउँदै त्यसैका कारण गएको पछिल्लो गोरखा भूकम्पमा महानगरपालिकाभित्र कम क्षति भएको जिकिर गरे ।

भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले गएको भूकम्पमा भएका क्षति र विनाशलाई मध्यनजर गरेर पूर्वतयारी अत्यावश्यक भएकाले त्यसतर्फ लाग्न अनुरोध गरे ।

प्रकाशित : माघ २, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?