कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रदेशको नाम र राजधानी मतदानबाटै

राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसदहरुले वीरगन्ज छुट्टै प्रस्ताव पेस गरेका छन्
सन्तोष सिंह

धनुषा — नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी फेरि मतदान प्रक्रियामै गएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ–आफ्नै अडान दोहोर्‍याएपछि नाम र राजधानी टुंग्याउन मतदान हुने भएको हो ।

प्रदेशको नाम र राजधानी मतदानबाटै

आइतबारको बैठकमा प्रदेशसभा सांसदहरू बोल्ने क्रम नसकिएकाले सोमबार ११ बजे फेरि संसद् बैठक डाकिएको छ । सोमबार सांसदको बोल्ने क्रम सकिएपछि नाम र राजधानीको छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ । प्रदेशसभाको आइतबार बसेको पहिलो बैठकमा समितिका तर्फबाट सांसद प्रमेश्वर साहले प्रतिवेदन पेस गर्दै ‘जतिसुकै प्रयास गरे पनि नाम र राजधानीमा एकमत हुन नसकिएको’ बताए । उनले नाम र राजधानी मतदान प्रक्रियाबाटै छिनोफानो हुने दाबी गरे । लगत्तै बसेको दोस्रो बैठकमा सांसदहरुले नाम र राजधानीबारे आ–आफ्ना अडान राखेका थिए ।

सभामुख नेतृत्वको संसदीय समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस तथा राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको छ । प्रदेशको नाम मधेसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी (केन्द्र) को साझा प्रस्ताव हो । जानकी नाममा भने एमाले र नेकपा (एकीकृत समाजवादी) तथा मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव हो । यी सबै दलका बारा–पर्साका सांसदले भने प्रदेशको नाम मध्य मधेस भनेर छुट्टै प्रस्ताव गरेका छन् । राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसदहरुले वीरगन्ज छुट्टै प्रस्ताव हालेका छन् ।

प्रदेश २ मा हाल जसपा, कांग्रेस, माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार छ । प्रदेशसभाका १ सय ७ सांसदमध्ये माओवादीले ४ सांसदलाई कारबाही गरेपछि हाल १ सय ४ सांसद छन् । प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ मत अनिवार्य छ । प्रदेश २ का सत्ता गठबन्धनले नै नाम र राजधानीको नाम फरक–फरक प्रस्ताव गरेपछि यो मामिला मतदान प्रक्रियाबाट टुंग्याइने भएको छ । करिब डेढ वर्षअघि, प्रदेशसभामा प्रदेशको नाम मधेस, जानकी र मिथिला–भोजपुरा तथा राजधानी जनकपुर वा वीरगन्ज भन्ने प्रस्तावमा मतदान हुँदा दुवै प्रस्तावलाई दुई तिहाइ नपुग्दा अस्वीकृत भएको थियो ।

सांसदबीच घोचपेच

प्रदेशको राजधानी तोक्न प्रदेश सांसदबीच घोचपेच भएको छ । पर्सा, बारा र रौतहटका सांसदहरु जनकपुर महँगो सहर भएको र यहाँका स्थानीयले गर्ने व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । जानकी भूमि जनकपुरप्रति उच्च सम्मान भए पनि जनकपुर राजधानी योग्य नभएको लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद प्रह्लाद गोस्वामीले बताए । ‘महँगो घर भाडाले जनकपुर बस्न सास्ती छ । पछिल्लो चार वर्षको भोगाइले जनकपुर राजधानी भए पछुतो हुन्छ,’ उनले भने, ‘२ रुपैयामा हाजमोला खरिद गरेको ४ दिनपछि ५ रुपैयाँमा खरिद गर्नुपरेको छ ।’

प्रदेश सांसद सिंहासन साह कलवारले पटकपटकको आन्दोलनले वीरगन्जमा भएको आर्थिक, सामाजिक र मानवीय क्षतिलाई सम्मान गर्न वीरगन्जलाई राजधानी बनाउनुपर्ने तर्क गरे । जसपाकी सांसद करिमा बेगमले जनकपुरवासीको व्यवहार राजधानीलायक नभएको बताइन् । नेकपा एकीकृत समाजवादीका सांसद रवीन्द्र बैठाले जनकपुर राजधानी हुनुपर्ने बताए । कांग्रेस संसदीय दलका सचेतक उपेन्द्र कुशवाहले भौतिक संरचना र प्रदेशको ८ जिल्लालाई सहज आवतजावतका लागि जनकपुर राजधानी उपयुक्त रहेको बताए । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद जयनुल राइनले राजधानी जनकपुरधामको पक्षमा ५ दल रहेकाले जनकपुरधामको पक्षमा मत दिन अनुरोध गरे ।

प्रदेशसभामा नाम र राजधानी अध्ययन विशेष समितिले प्रतिवेदन बुझाएको छ ।

समितिले सुझावसहित बुझाएको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । समितिले माघ पहिलो साता गोप्य मतदानमा जान प्रदेशसभालाई अनुरोधसहितको प्रतिवेदन बुझाएको छ । समितिले गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्धलगायतका व्यवस्थापन मिलाउने सुझावसहितको प्रतिवेदन प्रदेशसभामा पेस गरेको छ ।

राजधानी बनाउन दबाब

प्रदेशसभामा टुंगो लाग्न बाँकी रहेको प्रदेशको नामका लागि जनकपुर र वीरगन्जवासीले दबाब बढाएको छ । प्रदेशसभामा जनकपुर र वीरगन्जलाई राजधानी बनाउन दुई प्रस्ताव पेस गरिएको छ । सबै दलले जनकपुरलाई राजधानी बनाउन प्रस्ताव गरे पनि ती सबै दलका बारा–पर्साका सांसदहरुले भने वीरगन्जलाई राजधानी बनाउन अर्को प्रस्ताव पनि पेस गरेको छ ।

जनकपुरलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जनकपुर उद्योग वाणिज्य संघले आइतबार मुख्यमन्त्री लालबाबु राउत र सभामुख सरोज यादवलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा उद्योगी–व्यवसायी सम्मिलित टिमले प्रदेश २ को राजधानी जनकपुर नै उपयुक्त रहेको दाबी गरेका छन् ।

यस्तै, वीरगन्जलाई राजधानी बनाउन पनि त्यहाँ दबाबमूलक कार्यक्रम भइरहेको छ । आइतबार बिहान गृहनगर वीरगन्जमै रहेका मुख्यमन्त्री राउतको निजी निवास अगाडि वीरगन्जवासीले राजधानी वीरगन्ज बनाउन दबाब दिए । राउतको घरअगाडि भेला भएका वीरगन्जवासीले ‘मुख्यमन्त्रीसँग राजधानी साट्न नपाइने’ भन्दै नाराबाजी गरे । अहिले प्रदेश २ को अस्थायी राजधानी जनकपुर हो ।

प्रकाशित : माघ २, २०७८ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?