कञ्चनपुरमा ‘बुस्टर डोज’ को खोप नै आएन

भवानी भट्ट

कञ्चनपुर — सरकारले अग्रपंक्तिमा रहेकालाई आइतबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने घोषणा गरे पनि कञ्चनपुरमा खोप छैन । ‘खोप नै आइसकेको छैन,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘अझै दुई/तीन दिन लाग्न सक्ने देखिन्छ ।’

कञ्चनपुरमा ‘बुस्टर डोज’ को खोप नै आएन

अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीलगायतलाई विगतमा कोभिसिल्ड र अस्ट्राजेनेका खोप दिइएको थियो । अहिले पनि सोही खोप आवश्यक पर्छ ।

कञ्चनपुरमा अग्रपंक्तिमा खटिनेका लागि १५ देखि २० हजारसम्म खोप आवश्यक पर्ने स्वास्थ्य कार्यालय प्रमुख सुनारले बताए । उनीहरूलाई पहिलो मात्रा गतवर्ष फागुनमा र दोस्रो मात्रा वैशाखमा दिइएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा हालसम्म ३ लाख बढीले पहिलो मात्रा खोप लगाएका छन् । जिल्लामा १८ वर्षमाथिका ३ लाख ५२ हजार ९ सय ६२ मध्ये ८६ प्रतिशत (३ लाख ५ हजार ७ सय २७) ले पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको संख्या भने ६८ प्रतिशत (२ लाख ४० हजार ८ सय ६२) छ । पुस मसान्तसम्म ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

पहिलो मात्रासमेत नलगाएकाका लागि अहिले पनि जिल्लाभरिका स्वास्थ्य संस्थामा जान्सन एन्ड जान्सन खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए । उनका अनुसार अहिले भारतबाट घर फर्किनेहरूलाई पनि गड्डाचौकी नाकामा यही खोप लगाउने काम भइरहेको छ ।

‘जिल्लाका सबै स्वास्थ्य संस्थामा जान्सन खोप उपलब्ध छ,’ कुँवरले भने, ‘तर स्थानीय खोप लगाउनै आउँदैनन् ।’ उनका अनुसार १८ वर्षमुनिका २५ हजार बालबालिकालाई मोडर्ना खोपसमेत दिइएको बताए । अहिले मोडर्ना खोप सकिएका कारण थप बालबालिकालाई दिन नसकिएको उनले बताए ।

कोरोना संक्रमणको पहिलो लहरका बेला संक्रमित हुनेको संख्या कम थियो । त्यति बेला संक्रमणबाट मृत्यु हुनेको संख्या पनि निकै कम थियो । यही कारणले खोप अभियान सुरु हुँदा सर्वसाधारण मात्रै नभई कतिपय स्वास्थ्यकर्मीले समेत खोप लगाएनन् । खोपबाटै हुने असरबारे विभिन्न अफवाहका कारणसमेत उनीहरूले खोप लगाएनन् ।

दोस्रो लहरमा संक्रमित हुनेसँगै मृत्यु हुनेको समेत संख्या निकै बढेपछि खोप लगाउन चाहनेको संख्या निकै बढ्यो । साउन–भदौमा खोप अभियान सुरु हुँदा खोप केन्द्रमा तँछाडमछाड नै भयो । दोस्रो लहरको संक्रमण कम हुँदै गएपछि फेरि खोपप्रतिको आकर्षण कम भएको छ ।

अहिले पनि जिल्लामा १४ प्रतिशतले एक मात्रासमेत लगाएका छैनन् । हरेक स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुँदासमेत स्थानीय खोप लगाउन आइरहेका छैनन् । तेस्रो लहरबाट जोगिनसमेत खोप अनिवार्य भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित : माघ ३, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?