१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नोबेलका विद्यार्थी अनशनमा

मोरङ — नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा पीडित विद्यार्थीले आन्दोलन जारी राखेका छन् ।

नोबेलका विद्यार्थी अनशनमा

उनीहरूले आइतबार कलेजको प्रवेश द्वारमा अनशन बसेर नाराबाजी गरेका थिए । विद्यार्थीको विरोधले अस्पतालको सेवा प्रभावित भएको थियो । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले कलेजमा सुरक्षा व्यवस्था कडा पारेको थियो ।

कलेज सञ्चालक सुनील शर्माका दाइ खगेन्द्रप्रसाद न्यौपाने, कलेज प्रबन्धक नारायण दाहाल र कलेजका अन्तर्राष्ट्रिय निर्देशक तथा होस्टल सञ्चालक निरञ्जन यादवले चार जना अभिभावकलाई विद्यार्थीको भविष्य बिग्रिने भन्दै शनिबार राति पाँचबुँदे सम्झौता गराएका थिए । सम्झौतामा कलेजले लिने अतिरिक्त शुल्क विद्यार्थीले तिर्नुपर्ने, पढाइ अवधिभरि कुनै किसिमको राजनीतिक गतिविधि गरेर निष्कासन गरे कलेजले लिएको शुल्क फिर्ता नगर्ने सर्त उल्लेख छ ।

यस्तै विद्यार्थीको कुनै कारणले मृत्यु भएको अवस्थामा कलेजमा बुझाएको शुल्क फिर्ता नहुने र पढाइ छोडेर जानेले पढाइ अवधिको शुल्क बुझाउनुपर्ने सम्झौतामा भनिएको छ । विद्यार्थीले गर्दै आएको आन्दोलनका कारण कलेजले असुल्दै आएको छात्रावासको मासिक १२ हजार शुल्कमध्ये २ हजार छुट दिने उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्ने अभिभावकमा वीरेन्द्रकुमार यादव, राजेन्द्रबहादुर थापा, प्रकाश फुयाल र रामकुमार भट्टराई छन् । कलेज प्रशासनले उनीहरूलाई आन्दोलनरत अन्य विद्यार्थी र अभिभावकका साथै आन्दोलनमा सहयोग गरेका विद्यार्थी संगठनहरूसँग समेत कुनै समन्वय गर्न नदिई दबाब र प्रभावमा पारेर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको पीडित विद्यार्थीले गुनासो पोखे ।

कलेज प्रशासनले उक्त सहमति नै आन्दोलनरत सम्पूर्ण विद्यार्थी र विद्यार्थी संगठनलाई मान्य हुने भन्दै चर्को प्रचार गरेको विरोधमा समेत विद्यार्थीले नाराबाजी गरेका थिए । पीडित विद्यार्थीको आन्दोलनमा सहयोग गर्दै आएका नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, एकीकृत समाजवादीनिकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानले संयुक्त विज्ञप्ति जारी गरी विद्यार्थीविरोधी सम्झौता मान्य नहुने र आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

विद्यार्थी संगठनहरूले ऐन–कानुन नमान्ने कलेज सञ्चालक शर्मालाई पक्राउ गरी कारबाही गर्न विज्ञप्तिमार्फत माग गरेका छन् । विज्ञप्तिमा चिकित्सा शिक्षा आयोगले तोकेभन्दा एक रुपैयाँ पनि बढी विद्यार्थीसँग असुल्न नपाउने र छात्रावास ऐच्छिक हुनुपर्ने माग गरिएको छ । कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि संघर्ष गर्दै आएका छन् । तर, कतैबाट कुनै सुनुवाइ भएको छैन ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । कलेज सञ्चालक शर्माले भने अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौतापत्रमा हस्ताक्षर गराएपछि मात्रै पढाइ थाल्ने अडान लिएपछि विद्यार्थी आन्दोलित छन् ।

प्रकाशित : माघ ३, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?