कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अस्पताल बनाउन साढे दुई करोड दान

सुदीप कैनी

काठमाडौँ — चिकित्सक शारदाराम भण्डारीले बाल अस्पताल र उपचारात्मक सेवा दिन नमिल्ने बिरामीहरूलाई दिइने आश्रय स्थल (हसपिस) भवन निर्माणका लागि साढे दुई करोड रुपैयाँ सहयोग गरेका छन् ।

अस्पताल बनाउन साढे दुई करोड दान

काठमाडौंको डिल्लीबजारका भण्डारीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बुढानीलकण्ठमा बन्दै गरेको काठमाडौं इन्स्टिट्युट अफ चाइल्ड हेल्थ अस्पतालका लागि डेढ करोड रुपैयाँ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गंगोलको अग्रसरतामा निर्माणाधीन हसपिसलाई एक करोड रुपैयाँ सहयोग गरेका हुन् ।

हाल अमेरिकामा बसोबास गर्ने भण्डारीले बाल अस्पताललाई ५० लाख रुपैयाँ र हसपिसलाई २५ लाख रुपैयाँ नगद हस्तान्तरण गरिसकेका छन् भने बाँकी रकम किस्ताबन्दीमा सहयोग गर्दै जाने सम्झौता भएको छ । अस्पताल र हसपिस दुवैको भवन निर्माणाधीन अवस्थामा रहेकाले किस्ताकिस्तामा रकम प्रदान गर्ने सम्झौता भएको हो । भण्डारीले आमा गृह्य र बाबु लक्ष्मीराम भण्डारीको नाममा सहयोग गरेका हुन् ।

चिकित्सकसहित केही सामाजिक अगुवाको अग्रसरतामा काठमाडौंको बुढानीलकण्ठ र ललितपुरको धापाखेलमा हसपिस निर्माणाधीन छ । व्यक्तिगत रूपमा अस्पताल बनाउन यति ठूलो सहयोग पहिलो पटक प्राप्त भएको डा. कोइरालाले बताए । २१ वर्षदेखि लगनखेलको महालक्ष्मीस्थानमा सञ्चालित हसपिस धापाखेलमा हस्तान्तरण गर्न लागिएको छ ।

यी दुवै गैरनाफामूलक उद्देश्यले स्थापित संस्था हुन् । ‘लगनखेलमा सानो युनिटमा हसपिस चलाउँदै आएका थियौं, त्यसलाई नेपालभरि नै विस्तार गर्नुपर्छ भनेर धापाखेलमा तालिम केन्द्रसहितको संरचना बनाउँदै छौं,’ गंगोलले भने । त्यहाँ जग्गा खरिद गरिसकिएको छ । ‘सरकारले सहयोग नगरे पनि विभिन्न व्यक्तिले सहयोग गर्नुभएको छ, त्यहीक्रममा एक करोड रुपैयाँ सहयोग जुटेको हो,’ उनले भने ।

भण्डारीले दुवै संस्थालाई बाँकी रकम २५/२५ लाखका दरले किस्तामा उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले थपे, ‘कहिले नेपाल बस्छु, कहिले अमेरिका बस्छु, नेपालमा पनि भरपर्दो स्वास्थ्य संस्थाहरू चाहिन्छ भनेर सकेको योगदान गरेको हुँ ।’

भवन निर्माण सम्पन्न हुँदासम्म सहयोग प्रदान गरिसक्ने सम्झौतामा उल्लेख छ । उपचारका लागि अस्पतालमा राख्न जरुरी नहुने र घरमा राख्न पनि स्वास्थ्यकर्मीको हेरचार चाहिने क्यान्सरलगायत दीर्घरोगले मृत्युको मुखमा पुगेका व्यक्तिलाई हसपिसमा आश्रय दिने गरिन्छ ।

प्रकाशित : माघ ३, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?