सरकारले छिट्टै स्थानीय तहको निर्वाचन मिति घोषण गर्छ : मन्त्री खतिवडा

'आन्दोलनरत एमबीबीएस विद्यार्थीको माग वार्ता र सम्झौताबाट सम्बोधन नभए सरकार नै कानुन अनुसार अघि बढ्छ'
देवनारायण साह

मोरङ — स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले छिट्टै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सरकारी तयारी रहेको बताएका छन् ।

सरकारले छिट्टै स्थानीय तहको निर्वाचन मिति घोषण गर्छ : मन्त्री खतिवडा

‘सरकार स्थानीय तहको निर्वाचन नगराउने पक्षमा छैन,’ समाजवादी प्रेस संगठन मोरङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचन आयोगले माघ पहिलो हप्ता स्थानीय तहको चुनाव घोषणा गर्न सुझाव दिएकाले त्यही अनुसार सरकारले निर्णय गरेर घोषणा गर्ने तयारी गरेको छ ।’ निर्वाचन आयोगले माघ पहिलो साता सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे तोकिएको समयमा चुनाव गराउन नसक्ने जनाइसकेको छ ।

अर्को प्रसंगमा मन्त्री खतिवडाले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीहरुले मेडिकल कलेज सञ्चालकविरुद्ध गर्दै आएको आन्दोलन जायज रहेकाले सरकारको चासो रहेको बताए । ‘मेडिकल कलेज सञ्चालक विरुद्धको आन्दोलन जायज भएकाले वार्ता र सम्झौताबाट नै समस्या समाधान होस् भन्ने सरकारको चाहना छ,’ उनले भने, ‘वार्ता र सम्झौताबाट आन्दोलनरत विद्यार्थीहरुको माग सम्बोधन नभए सरकार कानुन अनुसार अघि बढेर कानुनी राज्यको प्रत्याभूति गराउँछ ।’ मेडिकल कलेजले विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिएको बारे गृहमन्त्री बालकृष्ण खाँण र शिक्षामन्त्री देवेन्द्र पौडेलले आफैं अनुगमन गरेर छानबिनमा लागेको खतिवडाको भनाई थियो ।

नोबेल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुले मन्त्री खतिवडालाई पनि ज्ञापन पत्र बुझाएका थिए । नोबेल मेडिकल र केएमसी मेडिकल कलेज सञ्चालक सुनिल शर्माले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा २० लाख बढी अतिरिक्त शुल्क बुझाउनु पर्ने र विद्यार्थीले होस्टेलमा बस्नैपर्ने अडानमा रहेकाले विद्यार्थी संगठनको सहयोगमा पिडित विद्यार्थीहरु आन्दोलनरत छन् ।

मन्त्री खतिवडाले सरकारसँग प्रयाप्त खोप रहेकाले १८ वर्षमाथिका प्रत्येक नागरिकलाई खोप लगाउन आग्रह गरे । उनले खोप सेवालाई प्रभावकारी बनाउन तिथिमिति तोकेर कार्यसूची बनाएर गाउँगाउँमा अभियान चलाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले खोपको दुवै मात्रा दिएर बुस्टर डोजसमेत लगाउनु पर्ने भएकाले प्रदेश र स्थानीय सरकारलाई तत्काल तिथि, मिति तोकेर खोप अभियानलाई गाउँगाउँमा पुर्‍याउन आग्रह गरेका हुन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि पनि खोप प्रयाप्त रहेकाले अभियानका रुपमा खोप लगाउन सबैलाई आग्रह गरे । उनले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप चाँडै दिएर विश्व स्वास्थ्य संगठनले मान्यता दिने बित्तिकै १ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप खरिद गर्न पहिलो भुक्तानी गरिसकेको जानकारी गराए ।

प्रकाशित : माघ ३, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?