१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश २ को नाम र राजधानीमा दलीय अडान कायमै

जसपा, लोसपा, माओवादी : नाम मधेस, राजधानी जनकपुर
एमाले, नेकपा(एस) : नाम जानकी, राजधानी जनकपुर
कांग्रेस : नाम मिथिला–भोजपुरा, राजधानी जनकपुर
बारा, पर्साका सांसद : नाम मध्य मधेस, राजधानी वीरगन्ज
सन्तोष सिंह

जनकपुर — नाम र राजधानी टुंग्याउन प्रदेश सभाको बैठकमा भइरहेको छलफलमा सोमबार पनि प्रदेश २ का सांसदहरू आ–आफ्नै अडानमा अडिग देखिएका छन् । दलले प्रस्ताव गरेकै नाम र राजधानी हुनुपर्ने तर्क गर्दै उनीहरुले आ–आफ्नो प्रस्तावको पक्षमा मतदान गर्न आग्रहसमेत गरेका छन् ।

प्रदेश २ को नाम र राजधानीमा दलीय अडान कायमै

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले राजधानी जनकपुरलाई टुंग्याएर प्रदेशको नाममा सहमति गर्न थप समय दिएर छलफल गर्न सुझाव दिएका छन् । उनले लोकतन्त्रको सुन्दर पक्ष सहमति र सहकार्य रहेकाले जनकपुर राजधानी हुनुपर्ने अधार सुनाए । ‘रेल, स्वास्थ्य, शिक्षा र विमानस्थल जनकपुरमा छ । सामाजिक, सांस्कृति, सभ्यता र धार्मिक महत्त्वका अधारमा राजधानीको लागि उपयुक्त ठाउँ जनकपुरधाम नै हो,’ उनले भने ।

‘मधेस शब्दसँग कांग्रेसलाई कुनै एलर्जी छैन । म पनि मधेसको अधिकारका लागि लड्ने व्यक्ति नै हुँ,’ नेता यादवले भने,‘मिथिलाको संस्कार, संस्कृति र सभ्यता इतिहास हेर्ने हो भने मिथिला–भोजपुरा उपयुक्त नाम हो ।’

नेकपा (एस) संसदीय दलका नेता शत्रुधन महतोले नाम र राजधानीमा एकमत हुन आग्रह गरे । उनले दुवै मामिलामा सामूहिक एजेन्डा बनाएर अगाडि बढ्न आग्रह गरे । ‘पछिल्लो अवस्थामा मधेस आन्दोलन भयो । तर त्योभन्दा पहिले अरु आन्दोलन पनि भएको छ । त्यसकारण कसैको भावनामा ठेस पुर्‍याउने काम नहोस्,’ उनले भने,‘सबै दलको आफ्नो अजेन्डा हुन्छ । यसैपालि नाम र राजधानी टुंगो लगाउनुपर्छ नभए हामी असक्षम प्रमाणित हुन्छौं ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उपेन्द्र महतोले सरकारमा सहभागी दलहरू मधेस एजेन्डामा एकमत हुनुपर्ने सुझाव दिए । ‘आज प्रमाणित हुन्छ, स्वार्थका लागि सरकार बनेको छ । कि मधेस र मधेशीको लागि पनि बनेको छ,’उनले भने,‘दुई तिहाइ सरकार कुर्सीका लागि छ कि जनताका लागि प्रस्ट हुन्छ ।’ सत्तारुढ दल जसपाका सांसद अशोककुमार यादवले जन्मभूमिको लाज राख्न प्रदेशको नाम मधेस नामकरण हुनुपर्ने बताए । ‘धेरै आमाले आफ्नो सन्तान गुमाए । धेरै बहिनीले आफ्नो भाइलाई गुमाए । त्यो ऋण चुक्ता गर्न हामीले मधेस प्रदेश नामकरण गर्नुपर्छ,’उनले भने ।

आइतबारको बैठकमा १७ जना सांसद छलफलमा सहभागी भएका थिए । प्रदेशसभाको बैठकमा अहिले राजधानी जनकपुरमा मतदान भइरहेको छ ।

यता, जनकपुरको होटलको बसाई र खाना महँगो भएको भन्दै त्यसैले राजधानीका लागि उपयुक्त नरहेको बारा र पर्साका सांसदको आक्षेपपछि सोमबार जनकपुरका होटलमा सांसदका लागि विशेष सुविधा घोषणा गरिएको छ । होटल व्यवसायी तथा पर्यटन संघ धनुषा, होटल एसोसिएसन नेपाल प्रदेश २ र जनकपुर उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति निकाल्दै सांसदलाई जनकपुरको होटलमा लजिङमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको घोषणा गरेका छन् ।

प्रकाशित : माघ ३, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?