कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रहरी बढुवामा तक्माको अंक कटौती, ७ वटा दर्जा थपिए

काठमाडौँ — सरकारले नेपाल प्रहरीका कर्मचारीको बढुवा हुँदा विभूषण (तक्मा) बापत पाउने २ नम्बर अंक कटौती गरेको छ । विभूषण बापत पाउने अंक कटौती गरेर त्यसलाई जेष्ठ सदस्यले पाउने नम्बरमा थप गरिएको छ।

प्रहरी बढुवामा तक्माको अंक कटौती, ७ वटा दर्जा थपिए

यससँगै अब 'भनसुन'का आधारमा विभूषण पाउने र त्यसकै आडमा वरिष्ठतम सदस्यलाई पनि उछिनेर बढुवा हुने चलखेलमा लगाम लागेको छ । तक्माको अंक कटाएर जेष्ठ सदस्यले पाउने २० नम्बरमा जोडिएको छ । अब जेष्ठ सदस्यको बढुवा बापत २२ नम्बर कायम हुने छ ।

प्रहरी नियमावली २०७१ (नवौं संसोधन) गर्दै गृह मन्त्रालयले यससम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशन गरेको हो । यसै साता बसेको मन्त्रीपरिषद्‍ बैठकले नियमावली संसोधन गरेको थियो । मंसिर दोस्रो साता नै यससम्बन्धी मन्त्रिपरिषद्‍बाट निर्णय गरको बताइए पनि थप विषय संशोधनका लागि पेश भएका कारण सार्वजनिक गरिएको थिएन ।

यस्तै प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र सहायक हवल्दार पद सिर्जना गरिएको छ । अहिले जवानबाट हवल्दार, हवल्दारबाट सहायक निरीक्षक (असई) र असईबाट सई हुने प्रावधान रहेकोमा नियमावली संशोधनसँगै हवल्दारबाट सहायक हवल्दार, सहायक हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा गरिने छ । त्यस्तै सईभन्दा माथि वरिष्ठ सई रहने गरी एक तह माथिको दर्जा थप गरिएको छ ।

थप गरिएका दर्जामध्ये वरिष्ठ सईको दर्ज्यानी चिन्ह ३ वटा तारा रहने छ। त्यस्तै वरिष्ठ हवल्दारको दर्ज्यानी चिन्ह हल्का फिक्का एल आकारको तीनवटा धर्सामा ठाडो धर्सा र सहायक हवल्दारको दुईवटा एल आकारको धर्सा रहने छ । बाँकीको यसअघिकै दर्ज्यानी कायम गरिएको छ । कार्यालय सहयोगीलाई पनि प्रथमदेखि पञ्चम श्रेणीगत रुपमा विभाजन गरिएको छ ।

हाल रहँदैआएको कार्यालय सहयोगीलाई प्रथमदेखि पञ्चमसम्म श्रेणी विभाजन गरिएको छ । २० वर्ष सेवा पूरा गरेका कार्यालय सहयोगीको श्रेणी पञ्चम हुने छ । ५ वर्ष देखि १० वर्ष सेवा गरेकालाई द्धितीय, १५ वर्षसम्म सेवा गरेमा तृतीय, १५ देखि २० वर्ष सेवा गरेमा चतुर्थ श्रेणी प्रदान गरिने छ । बढुवा श्रेणी तोकिएको अवधि पूरा गरेको भोलिपल्टैबाट गणना हुने संशोधित नियमावलीमा उल्लेख छ । यससँगै प्रहरीमा ७ वटा दर्जा थप भएको हो ।

संशोधित नियमावली अनुसार सेवा अवधिका कारण अनिवार्य अवकासमा जाने स्थिति भएमा प्रहरी नायव उपरीक्षक (डीएसपी) तहसम्मका कर्मचारीको कार्यरत पद ८ वर्ष पुगेको अवस्थामा एक तह बढुवा दिइने छ । यसो भएमा डीएसपीले एसपीसम्म हुन पाउने छन् । यस्तै कायम मुकायम जिम्मेवारी दिँदा प्रशासनतर्फ एक तहमुनिको सबैभन्दा वरिष्ठ सदस्य र प्राविधिकतर्फ प्राविधिकतर्फकै आफूभन्दा एक तहमुनिका वरिष्ठ अधिकारीलाई मात्रै जिम्मेवारी दिइनु पर्ने व्यवस्था समेटिएको छ ।

यस्तै जवानदेखि वरिष्ठ नायव निरीक्षकसम्मका कर्मचारीलाई सरुवा गर्दा घरपायक पर्ने प्रदेशभित्र सरुवामा प्राथमिकता दिइने उल्लेख गरिएको छ । यता कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई १६ अवधि वर्ष पुगेमा पेन्सनमा जान सकिने व्यवस्था राख्न प्रहरी प्रधान कार्यालयले गरेको प्रस्ताव भने फिर्ता भएको छ । प्रहरीको प्रस्ताव गृहमन्त्रालयबाट कानुन मन्त्रलयको राय लिई अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषद्‍मा पठाइएको थियो ।

तर, मन्त्रिपरिषद्‍बाट त्यो व्यवस्था तत्काल अघि नबढाउने भन्दै गृह मन्त्रालयमै फिर्ता आएको हो । २०६० अघि जवान र हवल्दारको १६ वर्ष, असई र सईको १८ तथा निरीक्षकमाथिका अधिकृतको पेन्सन पूरा हुने अवधि २० वर्ष कायम थियो । २०६० सालमा प्रहरी नियमावली संशोधन गरेर सबै तहको पेन्सन पूरा हुने अवधि समान २० वर्ष पुर्‍याइएको थियो ।

प्रकाशित : माघ ३, २०७८ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?