१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
फैलँदै संक्रमण

घरघरै बिरामी, छैन परीक्षण

कोरोनासँग मिल्दो लक्षण भएका बिरामी बढिरहे पनि स्थानीय तह, स्वास्थ्य कार्यालय र प्रशासनले परीक्षण बढाउन ध्यान दिएनन्
कैलालीमा १५–२० उमेर समूहमा रुघाखोकी, ज्वरो, वाकवाकी, टाउको र जीउ दुख्ने लक्षण
प्रदेश ब्युरो

काठमाडौँ — देशभर कोरोना महामारी तीव्र रूपमा विस्तार भए पनि सामान्य रुघाखोकी ठानेर परीक्षण नगर्नेको संख्या धेरै पाइएको छ । कन्ट्रयाक्ट ट्रेसिङसमेत हुन नसकेको अवस्थामा घरघरमै कोरोनासँग मिल्दो लक्षण भएका बिरामी बढेका छन् । सक्रिय संक्रमितलाई होम आइसोलेसनमै राख्दा परिवारका अन्य सदस्य पनि संक्रमित भइरहेको विज्ञले बताएका छन् ।

घरघरै बिरामी, छैन परीक्षण

मकवानपुरको दुर्गम बस्तीमा कोरोनाको लक्षण भएका बिरामी घरपिच्छे देखिन थालेका छन् । तर, उनीहरूको परीक्षण गरिएको छैन । राक्सिराङ–६ सिलिङेका चेपाङ बस्तीका रुघाखोकी, घाँटी र जीउ दुख्ने बिरामी रहेको वडाध्यक्ष सिंंहलाल चेपाङले बताए । चेपाङ समुदायको बसोबास रहेको उक्त क्षेत्रका अधिकांशले खोप लगाएका छैनन् । विशेषगरी चेपाङ बस्तीमा खोपबारे भ्रम फैलिएका कारण समस्या भएको राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विजयकुमार कापरीले बताए । ‘गाउँपालिकाभर पहिलो खोप ४० प्रतिशतले लगाएका छन् भने दोस्रो खोप २७ प्रतिशतले मात्र लगाएका छन् ।’

यस्तै, दोलखाको शैलुङ गाउँपालिकाका एक वडाध्यक्षसहित १७ जना कर्मचारी संक्रमित भएका छन् । जसका कारण सेवा प्रभावित बनेको अध्यक्ष भरतप्रसाद दुलालले बताए ।

गण्डकी प्रदेशमा सोमबारसम्म १ हजार ५ सय १० सक्रिय संक्रमितमध्ये १ हजार ४ सय ६५ जना होम आइसोलेसनमा छन् । तीमध्ये ४५ जना अस्पतालमा छन् । होम आइसोलेसनमा बस्नेबाटै कोरोना फैलिन मद्दत पुगेको छ ।

पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलका अनुसार घरमा एक जनालाई कोरोना देखिए पुरै परिवार संक्रमित हुने क्रम बढेको छ । सामान्य रुघाखोकी ठानेर पनि परीक्षण नगर्नेको संख्या धेरै रहेको उनको भनाइ छ । ३२ वटा वडा रहेको महानगरले हाल दिनमा एक ठाउँमा मात्रै परीक्षण गरिरहेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल १५ संक्रमित भर्ना भएका छन् । तीमध्ये अधिकांशको अवस्था जटिल रहेको अस्पतालका कोभिड फोकल पर्सन डा.शरद बरालले बताए । ‘ओमिक्रोनले ठूलो असर पुर्‍याउँदैन भनिए पनि हाम्रोमा आउने बिरामी गम्भीर छन्,’ उनले भने, ‘संक्रमितबाटै धेरै स्वास्थ्यकर्मीमा पनि सरेको छ ।’ लेखनाथमा रहेको प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा रुघा, खोकीका लक्षण लिएर बिरामी आउने गरेको निर्देशक डा.विकास गौचनले बताए । ‘घरबाटै समुदायमा कोरोना फैलिरहेको छ,’ उनी भन्छन्, ‘सक्रिय संक्रमितलाई संस्थागत आइसोलेसनमै राख्नु उचित हुन्छ ।’

दैनिक संक्रमितको संख्या बढिरहँदा सहरमा भने भीडभाड उत्तिकै छ । परीक्षण गरिएकामध्ये ४० प्रतिशतभन्दा बढीमा संक्रमण देखिने गरेको छ । ‘ज्वरो र रुघाखोकीका बिरामी अत्यधिक बढे पनि परीक्षण गराउनेको संख्या न्यून छ । हामीले खोप लगाएका छौं, ओमिक्रोनको प्रभाव धेरै छैन भन्ने देखिए,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने ।

पश्चिम नवलपरासीमा घरघरमै कोरोनासँग मिल्दो लक्षण भएका बिरामी छन् । तर परीक्षण बढाउनेतर्फ स्थानीय तह, स्वास्थ्य कार्यालय र प्रशासनको ध्यान पुगेको छैन । पहिलो र दोस्रो लहरका बेला स्थानीय तहले आफ्नै खर्चमा धमाधम कोरोना परीक्षण गर्ने, आइसोलेसन सञ्चालन गरेका थिए । जनप्रतिनिधि र मातहत कर्मचारीबाहेकको पीसीआर परीक्षण गराएका छैनन् । कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासनले ६ दिनका लागि सोमबारदेखि सेवा बन्द गरेको छ । नागरिकता, राहदानी, प्रतिलिपि, राष्ट्रिय परिचय पत्रलगायत सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

रूपन्देहीको बेलहिया नाकामा एन्टिजेन परीक्षण जारी रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए । भारतबाट आउँदा संक्रमण पुष्टि भएकालाई होम आइसोलेसनमा बस्न पठाइएको उनले जानकारी दिए । ‘स्थानीय तहले ती संक्रमितको निगरानी गरिरहेका छन्,’ उनले भने, ‘ट्रेसिङ र परीक्षण पालिकामा सुरु भएको छ ।’

बाँकेका तीनवटा ल्याबमा परीक्षण गर्न आएकामध्ये आधाभन्दा बढीमा संक्रमण पाइएको छ । अहिले दैनिक २ सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको प्रयोगशालाले जनाएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीका अनुसार जिल्लामा अहिले १ सय ९० जना सक्रिय संक्रमित छन् । जसमा ८० प्रतिशत नेपालगन्ज उपमहानगरपालिकाभित्रका हुन् ।

भेरी अस्पतालमा १५ जना संक्रमितको उपचार भइरहेको छ । चिकित्सक खगेन्द्रजंग शाहले दीर्घ रोगीको उपचार भइरहेको बताए । उनले भने, ‘निमोनिया र अक्सिजन कम हुने समस्या कम छ, इन्फेक्सन सबैलाई देखिएको छ ।’

पछिल्लो एक सातायता पाल्पामा पनि संक्रमण बढेको छ । स्थानीय तहका स्वास्थ्य शाखाले पालिका केन्द्रमा राखेको एकै दिनको परीक्षणमा ७८ जना पोजिटिभ देखिएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले १० वटै स्थानीय तह, पाल्पा र रामपुर अस्पताललगायत स्थानमा कोभिड परीक्षण सहज बनाउन निर्देशन दिए पनि स्थानीय तहले सहज ढंगले परीक्षण अझै सुरु गरेका छैनन् । परीक्षणको दायरा बढाउन समन्वय भइरहेको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले बताए । पछिल्लो दिन संक्रमण बढेपछि मेला–महोत्सव र भीडभाडका कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

कञ्चनपुरको गड्डाचौकी नाकामा घर फर्किनेको एन्टिजेन परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : भवानी भट्ट/कान्तिपुर

जनशक्ति अभाव भएपछि बर्दिया जिल्ला अस्पताल गुलरियामा संक्रमितका लागि निर्माण गरिएको भवन सञ्चालनमा समस्या आएको छ । २५ बेडको कोरोना अस्पतालमा २५ जना स्टाफ नर्सको आवश्यकता छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुभाष पाण्डेयले तत्काल स्टाफ नर्ससहित १० जना चिकित्सक र एक जना आईसीयूका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता रहेको बताए ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित केही कर्मचारीलाई संक्रमण भएपछि दैनिक कामकाज प्रभावित भएको छ । रोल्पामा पनि स्वास्थ्यकर्मी र जनप्रतिनिधि संक्रमित भएका छन् । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितका आधा दर्जन बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । एक चिकित्सकका अनुसार संक्रमण नदेखिएका स्वास्थ्यकर्मीबाटै अस्पतालको सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले सबैलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे ।

बालबालिकामा लक्षण

कैलालीको धनगढी–५ तारानागरमा रुघाखोकी लाग्ने, ज्वरो आउने, वाकवाकी, टाउको र जीउ दुख्ने लक्षणका बिरामी देखिएका छन् । उनीहरू १५–२० वर्ष उमेर समूहका छन् । अधिकांश बिरामी जचाउन गएका छैनन् । अभिभावकहरूले पनि वास्ता गरेका छैनन् । ‘मेरो नानी र छिमेकीका दुई बच्चाहरू तीन दिनदेखि ज्वरो आएर थन्किएका छन्,’ एक स्थानीयले भनिन्, ‘सञ्चो भइहाल्ला भनेर जचाउन पठाएकी छैन ।’

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मीराज उपाध्यायले बालबालिका धेरै संख्यामा बिरामी परेको अनौपचारिक खबर आउने गरेको बताए । सुदूरपश्चिममा पछिल्लो समय कोरोना संक्रमण दर उच्च छ । सेती प्रादेशिक अस्पतालमा सोमबार १५६ जनाको स्वाब परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीका कन्सल्टेन्ट फिजिसियन डा. नीराजनदत्त शर्मा पौडेलले अस्पतालमा उपचारका लागि आउनेमा १५ देखि ४५ वर्ष उमेर समूहका अत्यधिक रहेको बताए ।

घरघरमा बालबालिकाहरू बिरामी पर्ने क्रम बढिरहे पनि कैलालीका बालबालिकाले अझै खोप पाउन सकेका छैनन् । कैलाली र डडेलधुराका बालबालिकालाई फाइजर खोप लगाइने भनिएको थियो । खोप नआएकाले उनीहरूलाई अहिलेसम्म खोप प्रदान गर्न नसकिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।

बैतडीमा पनि बालबालिका बिरामी हुने क्रम बढेको छ । दैनिक २० देखि २५ जनासम्म रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या लिएर बालबालिका आउने गरेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । अस्पतालका डा. वसन्तराज जोशीका अनुसार प्राय: सबै बालबालबालिका निमोनियाबाट थला परेका छन् ।

१५ महिने शिशुमा संक्रमण

१५ महिने शिशुमा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका सबै सदस्यमा संक्रमण देखिएपछि उनको समेत परीक्षण गरिएको हो । शिशुमा सामान्य ज्वरो र रुघा देखिएको कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । ‘परीक्षण गराउन नआएका मात्रै हुन्, बालबालिकामा कोरोनासँग मिल्दो लक्षण ज्वरो, रुघा र खोकी देखिन्छ,’ अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने ।

प्रकाशित : माघ ४, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?