१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बहुअध्यक्ष प्रणालीमा जानेबारे जसपामा बहस

मधु शाही

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच दूरी बढेका बेला केन्द्रीय समिति बैठक बस्ने भएको छ । राष्ट्रिय सभा निर्वाचनपछि बस्ने बैठकमा पार्टीलाई बहुअध्यक्ष प्रणालीमा लैजाने प्रस्ताव पेस हुने बताइएको छ ।

बहुअध्यक्ष प्रणालीमा जानेबारे जसपामा बहस

एक नेताका अनुसार अध्यक्ष यादवले एकलौटी निर्णय गर्न थालेपछि पार्टीभित्र असन्तुष्टि सुरु भएको भन्दै समावेशी चरित्रको नेतृत्व बनाउने होडमा भट्टराई पक्ष लागेको हो । तर, यादव पक्षले भने समावेशी नेतृत्वमा खासै चासो देखाएको छैन ।

आगामी केन्द्रीय समिति बैठकबाट पार्टीलाई बहुअध्यक्ष प्रणालीमा लैजान दबाब दिने पक्षमा आफूहरू रहेको भट्टराई पक्षधर एक नेताले बताए । ‘माइन्युट नगर्ने, भएका निर्णय पनि कार्यान्वयन नगर्ने काम भएको छ,’ ती नेताले भने, ‘पार्टीलाई एकतन्त्रे बनाएपछि गुनासो गरिएको हो ।’ भट्टराई पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै बहुअध्यक्ष प्रणलीलगायत निर्णय बहुमतबाटै गर्ने दाबी गरेको छ । ‘बहुमत हामीसँग छ, हामीले जे भन्छौं त्यही हुन्छ,’ ती नेताले भने ।

अध्यक्ष यादवनिकट मानिने मधेस प्रदेशका मन्त्री विजय यादवले भने पार्टीमा वैचारिक छलफल हुनु स्वाभाविक रहेको बताए । उनले बहुअध्यक्ष प्रणालीमा जाने विषयमा औपचारिक प्रस्ताव नै नआएको जिकिर गरे । ‘पार्टीभित्र वैचारिक बहस हुन्छ तर मनमुटाव छैन,’ यादवले भने, ‘उहाँहरूले प्रस्ताव ल्याउनुभएकै छैन ।’

भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठका अनुसार दुवै शीर्ष नेतृत्वबीच पार्टीका कुनै पनि विषयमा वैचारिक बहस नभएको बताए । ‘वैचारिक बहस नभए पार्टी मृत हुन्छ,’ उनले भने, ‘हामी छलफल गरेर मुद्दा मिलाउँछौं तर फुट्दैनौं ।’ तीनै तहको निर्वाचन नजिक रहेको जनाउँदै नेता श्रेष्ठले जसपालाई समावेशी पार्टीका रूपमा स्थापित गराउने प्रयास भइरहेको बताए ।

खस/आर्य, मधेसी र आदिवासी जनजाति समुदायबाट अध्यक्ष प्रस्ताव गर्ने भट्टराई पक्षको तयारी छ । ‘त्यसमा कतिपय पार्टीका साथीहरूको विमति छ,’ श्रेष्ठले भने, ‘नेपालमा बहुल अध्यक्ष प्रणाली असफल प्रणाली हो । जुनसुकै पार्टीमा पनि यो असफल देखियो । हाम्रै जसपामा पनि यो अभ्यास असफल देखियो । कतिपय साथीहरूले यो प्रणालीमा जानु हुँदैन भनेर तर्क राख्नुभएको छ ।’

अध्यक्ष यादव भने जसपाको हालकै जस्तो एकल अध्यक्ष प्रणालीकै पक्षमा छन् । नेता श्रेष्ठले आन्तरिक बहस गरेर यसको समाधान निकाल्ने बताए । ‘यो कुरा मिलाउनैपर्छ,’ उनले भने । भट्टराई र यादवबीच चुलिएको मतभेदले जसपा संकटमा परेको कतिपय नेताहरूको भनाइ छ ।

प्रकाशित : माघ ४, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?