१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

न्याय खोजिरहेका छोरालाई नै निरन्तर धम्की

जग्गा हत्याउन बुबा–आमाकै अपहरणपछि हत्या भएको घटनामा न्यायको याचना गरिरहेका महोत्तरीका मनीष झाले जग्गा दलालबाट ज्यान लिने धम्की खेपिरहेका छन्
तुफान न्यौपाने

काठमाडौँ — भिनाजुसँग बसेर भारतमा सानोतिनो रोजगारी गरिरहेका महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका मनीष झाको दैनिकी अहिले महोत्तरी–जनकपुर–काठमाडौं धाउँदैमा बितिरहेको छ । आफू भारतमै रहेका बखत गत वर्ष फागुनमा जग्गा दलालले वृद्ध आमा–बुबालाई अपहरण र हत्या गरेपछि न्यायका लागि सरकारी अड्डा धाइरहेका २८ वर्षीय मनीषले आफू लड्डालड्दा थाकिसकेको बताए । न्याय पाउनु त परको कुरा, हत्याका अभियुक्तहरूले अहिले उनैलाई ज्यान लिने धम्की दिइरहेका छन् । 

न्याय खोजिरहेका छोरालाई नै निरन्तर धम्की

भारतबाट आएर महोत्तरीमा जग्गा प्लटिङ गरिरहेका बिहारको मधुवनी थानाका हरेन्द्र ठाकुर, उनका स्थानीय सहयोगीहरू कैलाश झा र रामबुबा यादवको परिवारसमेत मिलेर मनीषका बाबा मुसाफिर झा (७३) र आमा गीतादेवी (६६) लाई अपहरण गरी हत्या गरेको अभियोग छ । सुरुमा अपहरण त्यसपछि एक महिनासम्म बेपत्ता र हत्या घटनाका केही अभियुक्तलाई उच्च अदालतले छाडेपछि अहिले उनीहरूले आफूलाई पनि ज्यान लिने धम्की दिइरहेको मनीषले बताए ।

२०७७ फागुन ११ मा झा दम्पतीलाई घरबाटै अपहरण गरिएको थियो । १० गते राति घरमा सुतेका उनीहरू भोलिपल्ट बिहान ११ बजेसम्म बाहिर नउठेपछि हेर्न जाँदा परिवारका सदस्यले कोठामा देखेनन् । गीतादेवीको कोठाको भुइँमा रगतका टाटा थिए भने मुसाफिरको कोठामा घिसारेजस्तो देखिने गरी भुइँमा माटो उप्केका चिह्न देखिन्थे । उक्त दिनदेखि बेपत्ता भएका झा दम्पती एकैपटक एक महिनापछि चैत १२ मा भेटिए तर मृत अवस्थामा । दुवै जनाको गलेको र आंशिक जलेको शव पिपराबाट मटाहिनी जाने सडकछेउमा माटोमा आधा गडेको अवस्थामा भेटियो । उनका छोरा मनीषले बुबा–आमालाई अपहरण गरी मारेर फालेको भन्दै ९ जनाविरुद्ध जाहेरी दिए ।

बिहारका हरेन्द्र ठाकुर, उनका सहयोगी बिहारकै रन्जित मिश्र, ठाकुरका नेपाली सहयोगी रामबुबा यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजिन्द्र यादव, मनीषका छिमेकी तथा ठाकुरका सहयोगी कैलाश झा, उनका बुबा तेजनारायण झा, आमा तारादेवी झा र भाइ बब्लुकुमार झाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइयो । अभियोगपत्रमा पीडित परिवारले दिएको जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, खानतलासी र बरामदी मुचुल्का, पोलिग्राफ रिपोर्ट, शव परीक्षण प्रतिवेदन, सनाखत कागज, पक्राउ प्रतिवादीको बयान, सीडीआर विश्लेषण र घटना विवरण कागज गर्ने मानिसहरूको भनाइबाट उनीहरूले अपराध गरेको पुष्टि हुने दाबी गरिएको छ ।

रन्जित र तेजनारायण सुरुदेखि फरार छन् । प्रहरीले पक्राउ गरेकामध्ये ठाकुर, कैलाश, उनका भाइ बब्लु, रामबुबा र उनका दुई छोराहरू सुरेन्द्र र राजिन्द्रलाई थुनामा राख्न आदेश दियो भने रामबुबाकी वृद्ध आमा तारादेवी उच्च रक्तचाप र थाइराइडको समेत बिरामी रहेको र कारागारमा कोभिडको जोखिम भएको भन्दै दुई लाख धरौटीमा छाड्न आदेश दियो । गत वैशाख १६ मा महोत्तरीका जिल्ला न्यायाधीश रमेशप्रसाद रिजालको त्यस्तो आदेशपछि ६ जना थुनामा परे ।

झा दम्पतीको अपहरण र हत्याका पछाडि उनीहरूको जग्गा हडप्ने नियत रहेको अनुसन्धानबाट खुलेको छ । हरेन्द्र ठाकुरले प्लटिङ गरेको जग्गा र मूलबाटोको बीचमा मुसाफिरको जग्गा थियो । जसका कारण हरेन्द्रले मुख्य बाटोसम्मको पहुँच पाइरहेका थिएनन् । आफूले प्लटिङ गरेको जग्गाको अगाडिपट्टि बाटोसँग जोडिएको मुसाफिरको आकर्षक जग्गासँग ठाकुर लोभिएका थिए । आफूलाई बेच्न गरेको प्रस्ताव अस्वीकार गरेका मुसाफिरलाई दुःख दिन ठाकुरले यसअघि नै ट्र्याक्टर र डोजरले उनको अन्नबाली नष्ट गरिदिएका थिए । त्यसबापत क्षतिपूर्ति भनेर पछि उनले दुई हजार रुपैयाँ पनि दिएका थिए ।

न्यायका लागि लडिरहेका मनीष झा । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

छिमेकी कैलाश झाको खेतको बाटोसँगको सिधा सम्पर्क पनि मुसाफिरकै जग्गाका कारणले रोकिएको थियो । हरेन्द्र ठाकुरसँग मिलेर आफ्नो दुई बिघा जग्गासमेत प्लटिङ गर्ने योजनामा रहेका कैलाशको नजरमा पनि मुसाफिरको जग्गा परेको थियो । हरेन्द्र र कैलाशबीच मुसाफिरको जग्गा जसरी पनि लिएर प्लटिङ गर्ने र आफ्ना जग्गाहरूमा बाटो पुर्‍याउने स्वार्थ मिलेको थियो । ‘जसरी पनि मुसाफिरको जग्गा लिनुपर्नेछ । त्यसका लागि मेरो मान्छेबाट पहिले नै उसले ऋण लिएको कपाली तमसुक तयार पारिसकेको छु । उनीहरूलाई अपहरण गरी पुरानै मितिमा तयार पारेको कागजमा जबर्जस्ती औंठाछाप लगाइदिनुपर्छ, त्यसपछि बेपत्ता पार्नुपर्छ,’ हरेन्द्रले बनाएको योजना भनेर कैलाशले जिल्ला सरकारी वकिलसँगको बयानका क्रममा भनेका छन् ।

हरेन्द्रको यस्तो योजनाबमोजिम नै झा दम्पतीको अपहरण भयो । त्यसराति नै रामबुबाको घरमा पुर्‍याएर पहिले नै तयार पारिराखेको तमसुकमा झा दम्पतीको ल्याप्चे लगाइयो । रामबुबाका छोराहरू सुरेन्द्रले मुसाफिर र राजेन्द्रले गीतादेवीलाई बेहोस पारेर बोकेर घर छिराएका थिए । जिल्ला अदालतमा दर्ता गरिएको अभियोगपत्र हेर्दा रामबुबाको घरमा तयार पारेर राखेको तमसुकमा हस्ताक्षर गराएपछि झा दम्पतीको हत्या गरेर कैलाशको घर पुर्‍याएको देखिन्छ ।

झा दम्पतीको मृत शरीरलाई कैलाशले टिनको बाकसमा हालेर आफ्नो कोठामा राखे । लास सड्दै गएर गन्ध आउन थालेपछि कैलाशले भाइ बब्लु, बुबा तेजनारायण र आमा तारादेवीको सहयोगमा टिनको बाकससँगै जलाउन खोजे । बाकसभित्रको लास सबै नजलेको र निरन्तर गन्ध आइरहेपछि हरेक क्षण कोठामा अगरबत्तीको ठूलो मुठो बाल्ने र भुइँमा फिनेल छर्किने गरेको बयान कैलाशले दिएका छन् । करिब एक महिनापछि दुवै जनाको शव घरबाट टाढा पर्ने स्थानमा बाटोछेउमा फालिदिए । उक्त लास भेटेपछि मनीषको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाउँदा पक्राउ परेका कैलाशले साबिती बयान दिएका छन् ।

१० वर्षदेखि महोत्तरीका विभिन्न ठाउँमा सस्तोमा जग्गा किन्ने र प्लटिङ गरेर महँगोमा बेच्ने गर्दै आइरहेका ठाकुरले पाँच वर्षदेखि झा दम्पतीका नाममा रहेको गाउँकै १४ कट्ठा जग्गा आफूलाई बेच्न दबाब दिइरहेका थिए । उनको दबाबलाई अस्वीकार गर्दै आएका मुसाफिरले अन्ततः त्यसैका कारण ज्यान गुमाउनुपर्‍यो । अहिले उनका छोरा मनीषले त्यस्तै धम्की खाइरहेका छन् । जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका हरेन्द्र, कैलाश र रामबुबालाई उच्च अदालतले पनि थुनामै राख्न भन्यो ।

गत पुस ४ मा उच्च अदालत जनकपुरका न्यायाधीशद्वय शकुन्तला घिमिरे र रमेश ढकालले रामबुबाका छोराहरू राजेन्द्र र सुरेन्द्रलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए । उक्त आदेशमा न्यायाधीशद्वय घिमिरे र ढकालले लेखेका छन्, ‘राजेन्द्र र सुरेन्द्र यादवलाई थुनामा राख्नु न्यायसंगत देखिएन । घटनामा निजहरूको भूमिकाका विषयमा पछि न्यायिक निरूपण हुँदा स्पष्ट हुने नै छ । झा दम्पतीको हत्याको योजना बनाउन र कार्यान्वयन गर्न यी प्रतिवादीहरू संलग्न रहेको तथ्य प्रमाणबाट नदेखिएकाले निर्विकल्प रूपमा थुनामै राख्नुपर्ने अवस्था देखिएन ।’

कैलाशका भाइ बब्लुलाई पनि जिल्ला अदालतले थुनामा पठाएकोमा उच्च अदालतका न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालले नै दुई लाख रुपैयाँ घरौटीमा छाड्न आदेश दिएका छन् । ‘उच्च अदालतले धरौटीमा छाड्नुअघि सुनुवाइकै क्रममा मलाई अदालतमै तँलाई पनि बाउ–आमाको हालत बनाइदिन्छु भनेर राजेन्द्रले धम्क्याएको थियो,’ मनीषले कान्तिपुरसँग भने, ‘अहिले दिनदिनै नयाँनयाँ नम्बरबाट नचिनेका मानिसहरूले फोन गरेर धम्की दिइरहेका छन् । न्यायको भरोसा गरेको अदालतले नै अन्याय गरेपछि हरक्षण मारिने डर लिएर बाँच्नुपरेको छ ।’

जन्मजात दुवै खुट्टामा अपांगता भएका मनीष २९ वर्षका भए । घरमा श्रीमती र दुई छोरी छाडेर अहिले न्यायका लागि काठमाडौं आएका छन् । उच्च अदालतको आदेश बदर गरेर धरौटीमा छुटेकाहरूलाई थुनामा पठाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिन उनी काठमाडौं आएका हुन् । महान्यायाधिवक्ता कार्यालयले गत पुस २२ मा मनीषको मागबमोजिम उच्च अदालतले धरौटीमा छाडेकाहरूलाई थुनामा पठाउनुपर्ने आधार–कारण उल्लेख गरेर सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । उक्त निवेदनमा सुनुवाइ गर्दै पुस २६ मा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उच्च अदालत जनकपुरबाट ‘कैफियत प्रतिवेदन’ माग गर्ने आदेश गरेको छ । अब उच्च अदालतले धरौटीमा छाड्नुको आधार–कारण उल्लेख गरेर प्रतिवेदन पठाएपछि सर्वोच्चले सुनुवाइ गर्नेछ ।

कैलाशले अनुसन्धान अधिकारी र अदालतमा समेत उक्त घटनाबारे आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनलाई थुनामा पठाउन दिएको आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन पनि नगरी बसेका छन् । तर, जिल्ला अदालतमा दिएको बकपत्रमा उनले झा दम्पतीलाई अपहरण गरी ज्यान लिने कार्यमा मनीषले जाहेरीमा अभियुक्त बनाएका ९ जनाको अतिरिक्त झा दम्पतीकै जेठी बुहारी अंशुलाई पनि मुछेका छन् । अंशुले अघिल्लो साँझ खानामा बेहोस हुने औषधि मिसाएर दिएको र बेहोस अवस्थामा रहेका झा दम्पतीलाई आफूहरूले अपहरण गरेको उल्लेख गरेका छन् । जसका कारण जेठी बुहारी अंशुविरुद्ध पनि पछिबाट मुद्दा चलाइएको छ ।

मनीषका जेठा दाजु पंकजको पाँच वर्षपहिले मृत्यु भएपछि अंशुले सन्तान हुर्काएर बसेकी छन् । मनीष उनीसँग छुट्टभिन्न भइसकेका छन् । अंशुले प्रहरी र अदालतमा गरेको बयानमा आफ्नो परिवारसँग दुस्मनी रहेका कैलाशले आफूलाई फसाउन झूटो बयान दिएको बताएकी छन् । उक्त साँझ आफूले खाना नबनाएको, बेहोस बनाउने कुनै औषधि नलिएको, कहिले पनि कैलाशसँग भेटघाट नगरेको जस्ता कारण दिँदै उनले आफूलाई फसाउन खोजेको आरोप लगाएकी छन् ।

मनीष पनि कैलाशले बदला लिन भाउजूलाई फसाउने गरी झूटो बयान दिएको बताउँछन् । तर, जिल्ला अदालतमा अंशुविरुद्ध पनि ज्यान मुद्दा चलेको छ । जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरी तारेखमा छाडेकोमा उच्चले पनि अंशुको हकमा उक्त आदेशलाई सदर गरेको छ । तर, महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा दिएको निवेदनमा अंशुलाई पनि थुनामा पठाउनुपर्ने माग गरेको छ ।

प्रकाशित : माघ ४, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?