स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: माघ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा पुग्छ

काठमाडौँ — नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको सम्वद्ध अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: माघ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा पुग्छ

संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा कोभिड-१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै सो तथ्यांक सार्वजनिक गरेका हुन् । उनले दैनिक संक्रमितको संख्या १९ हजार बढी देखिएसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने प्रक्षेपण समितिमा पेस गरेका थिए ।

डा. पौडेलको प्रक्षेपण अनुसार सो समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिने छ । यस्तै ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने उनको प्रक्षेपण रहेको छ ।

डा. पौडेलका अनुसार दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन पनि मन्त्रालयले राम्रो तयारी गरेको छ । उनका अनुसार प्रदेश १ मा दैनिक कुल ४०८२, मधेस प्रदेशमा कुल ३७७८, वाग्मती प्रदेशमा कुल १२४२४, गण्डकी प्रदेशमा कुल २१२४, लुम्बिनी प्रदेशमा कुल ४३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता अभिवृद्धि गरिएको छ ।


यस्तै मन्त्रालयले नेपालका भारतसँग सीमा जोडिएका प्रदेशहरुमा भारतमा संक्रमण बढेसँगै संक्रमणमा वृद्धि देखिएको तथ्यांक पनि प्रस्तुत गरेको थियो । पुसको अन्तिम साता भारतमा कोरोना संक्रमितको संख्यामा बढोत्तरी भएसँगै नेपालमा पनि त्यसको असर देखिन सुरु गरेको हो ।

प्रकाशित : माघ ४, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?