१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिटामोल अभाव हटाउन प्रधानमन्त्री देउवाको निर्देशन

‘मूल्य समायोजन, कालोबजारी र औषधि व्यवस्था विभागमा राजनीतिक हस्तक्षेपले सिटामोल अभाव’

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारी निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई बुधबार बिहान बालुवाटारस्थित सरकारी निवास बोलाएर उनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् ।

सिटामोल अभाव हटाउन प्रधानमन्त्री देउवाको निर्देशन

कोभिड–१९ संक्रमण तीब्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सरकारी निकायले समेत सिटामोल पाएका छैनन् । मूल्य वृद्धिका लागि अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील हुन नसकेको आरोप लागिरहेको छ । ‘प्रधानमन्त्रीज्यूले औषधिको उत्पादन क्षमता बढाउन पनि निर्देशन दिनुभएको छ,’ गृहमन्त्री खाँणले भने, ‘हामीले नेपाल औषधि लिमिटेड र निजी उत्पादक कम्पनीलाई औषधि उत्पादन बढाउन भनिसकेका छौं ।’ जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले औषधि आपूर्ति व्यवस्थाको अनुगमन गर्ने उनले बताए । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीब्र पार्न निर्देशन दिएका छन् ।

कान्तिपुरमा बुधबार ‘सर्वसाधारणले किन्ने सिटामोल बजारमै छैन’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री देउवाले चासो दिएका हुन् । स्वकीय सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार प्रधानमन्त्रीले मुख्यसचिव बैरागीलाई ‘सिटामोलसमेत नपाउने अवस्था कसरी आयो ?’ भन्दै सोधेका थिए । ‘उहाँले कुनै पनि बहानाबाजी नगरी तत्काल औषधि उत्पादन र आपूर्ति सहज गर्न निर्देशन दिनुभयो,’ ती कर्मचारीले भने, ‘कोभिड संक्रमण तीब्र भएको बेला सिटामोलसमेत अभाव हुने अवस्था आउनु विडम्बना भएको प्रधानमन्त्रीले बताउनु भयो ।’

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सिटामोललगायत औषधि अभाव हटाउन प्रक्रिया सुरु गरिसकिएको बताए । उनका अनुसार सिटामोल अभाव हुनुमा मूल्य समायोजन, कालोबजारी र औषधि व्यवस्था विभागमा राजनीतिक हस्तक्षेपका कारण सिटामोल अभाव भएको हो । कच्चा पदार्थ महँगो भएको भन्दै उद्योगहरुले औषधिको मूल्य समायोजन गर्न माग गरिरहेका छन् । उद्योगबाट उत्पादन घट्दा अत्यावश्यक औषधिमा कालोबजारी पनि भइरहेको छ । औषधिको मूल्य समायोजन गर्न औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा मूल्य अनुगमन समिति छ । मूल्य समायोजन गर्न कार्यविधि बनाएर बजारमा औषधि अभाव हुन नदिने जिम्मेवारी बोकेको समिति निष्क्रियजस्तै छ ।


प्रकाशित : माघ ५, २०७८ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?