कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्य मापदण्डको खिल्ली

सन्जु पौडेल

लुुम्बिनी — रूपन्देहीको मायादेवी–६ स्थित एक सहकारीको साधारणसभामा मंगलबार लुम्बिनी प्रदेश सरकारका दुई मन्त्री अतिथि थिए । प्रमुख अतिथिका रूपमा भौतिक योजना तथा पूर्वाधारमन्त्री सहसराम यादव र विशिष्ट अतिथि अर्थ तथा सहकारी राज्यमन्त्री सुष्मा यादव सहभागी भए ।

स्वास्थ्य मापदण्डको खिल्ली

सयौं सेयर सदस्य उपस्थित कार्यक्रममा राज्यमन्त्री यादवले मास्क लगाएकी थिइनन् । मञ्चमा बसेका केहीले चिउँडोमुनि मास्क पुर्‍याएका थिए ।

लामो समय कार्यक्रममा बसेकी मन्त्री यादवले श्वासप्रश्वासमा समस्या हुने भएकाले लगातार मास्क लगाउन नसकेको बताइन् । ‘एक पटक संक्रमण भइसकेको हो,’ उनले भनिन्, ‘कोरोना भएपछि मास्क लगाउँदा गुम्सिएको महसुस हुन्छ, गाह्रो हुने भएकाले लगाइरहन सक्दिनँ ।’

तिलोत्तमा–६ का सागर बस्यालले कोरोनाविरुद्धको खोप लगाउने लाइनमा धेरैबेर पर्खिनुपर्‍यो । त्यहाँ उभिउन्जेल मानिसको ठेलमठेलमा उनी पनि परे । ‘जुन रोगको डर हो, त्यसकै खोप लगाउन जाँदा पनि सामाजिक दूरी थिएन,’ उनले भने, ‘रोगबाट बच्न होइन, रोग फैलाउन खोप लगाएझैं भयो ।’ मानिस धेरै हतारिँदा स्वास्थ्य मापदण्ड अपनाउनै भुलेको उनले बताए ।

जिल्ला प्रशासनमै राष्ट्रिय परिचयपत्र बनाउन दिनहुँ भीड हुन्थ्यो । केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनले बुधबारबाट अत्यावश्यकबाहेक सेवा बन्द गरेको छ । निर्वाचन कार्यालयमा मतदाता नामावलीमा दर्ता हुनेको उस्तै भीड देखिन्छ । अहिले स्वास्थ्य चौकी, सरकारी कार्यालय, स्थानीय तह, रेस्टुराँ, बजार, बसपार्क जहाँतहीं भीडभाड उत्तिकै छ । कोरोना संक्रमण दर बढेसँगै सरकारले गरेको स्वास्थ्यसम्बन्धी निर्देशनलाई स्थानीय प्रशासन, कोभिड व्यवस्थापन समिति र पालिका कसैले पनि गम्भीरताका साथ लिएको देखिँदैन । लुम्बिनी सांस्कृतिक नगरपालिकामा कोरोनाका बिरामी देखा पर्न थालेका छन् ।

पालिकामा संक्रमित संख्या पहिलेको तुलनामा थोरै भएकाले गाउँगाउँ परीक्षण सुरु नगरिएको नगर प्रमुख मनमोहन चौधरीले बताए । मायादेवी गाउँपालिका अध्यक्षसहित केही कर्मचारीमा संक्रमण देखिएकाले उनीहरू कार्यालयमा उपस्थित हुन सकेका छैनन् । बाँकेस्थित जानकी गाउँपालिकामा कोरोना संक्रमित फाट्टफुट्ट देखिन थाले पनि स्थानीय तहले कुनै खालका जाँच गर्न नपाएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालको भनाइ छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा पनि नाका हुँदै आएका केही संक्रमित छन् । तर, पालिकाले परीक्षण गर्नुपर्ने अभियान थालनी नै नगरेको अध्यक्ष गोपालबहादुर थापा मगरले बताए । ‘कोरोना सेलाइसक्यो भन्ने पनि छैन,’ उनले भने, ‘त्यतातर्फ ध्यान दिई के–के गर्नुपर्ने हो, त्यसमा काम गर्नेछौं ।’

प्रकाशित : माघ ६, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?