के हुँदै छ मेलम्ची आयोजना ?

हेडवर्क्सको गेग्रान सफा गरेर अस्थायी रूपमा पानी काठमाडौं ल्याउन सिनो हाइड्रो सहमत
ऋषिराम पौड्याल

काठमाडौँ — बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स पुनर्निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबाटै गराउन मेलम्ची खानेपानी विकास समितिलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । आयोजनाले गत कात्तिकमा अस्थायी रूपमा पानी आपूर्तिका गर्नुपर्ने कामको विवरण तयार पारेको थियो ।

के हुँदै छ मेलम्ची आयोजना ?

खुला टेन्डर नगरी एउटै ठेकेदारसँग सम्झौता गर्दा अनियमितताको शंका हुने भन्दै खानेपानीमन्त्री उमाकान्त चौधरीले मन्त्रिपरिषद्बाट निर्णय गराएर पुनर्निर्माण पारदर्शी ढंगले गर्नुपर्ने अडान राख्दै आएका थिए । नयाँ टेन्डरमार्फत अर्को कम्पनी छनोट गर्दा प्रक्रिया पूरा गर्न लामो समय लाग्ने भएपछि भेरियसनको रकमबाट अहिले सुरुङ निर्माण गरिरहेको चिनियाँ कम्पनीलाई नै जिम्मेवारी दिन उचित हुने प्रस्ताव मेलम्ची विकास समितिले तयार गरेको थियो । मन्त्रिपरिषद्ले भेरिएसनको रकमबाट निर्माण गर्न स्वीकृति दिएको छ ।

खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य वज्राचार्यले आयोजनाको कामका लागि छिट्टै कार्यादेश दिने तयारी भएको दाबी गरिन् । ‘एक–दुई दिनमै कामका लागि ठेकेदारलाई अनुमति दिने तयारी भइरहेको छ,’ उनले भनिन् । २०७५ पुसमा इटालियन कम्पनी (सीएमसी) सम्झौता तोडेर फर्केको थियो । त्यसपछि सरकारले २०७६ असोजबाट सिनोलाई आयोजनाको हेडवर्क्स र सुरुङ निर्माणको जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद्ले पुनः सिनोलाई काम दिन सहमति दिए पनि फिल्डमै काम सुरु हुन अझै केही समय लाग्ने आयोजनाका अधिकारी बताउँछन् । आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौडेलले चिनियाँ ठेकेदारसँग छलफल भइरहेको बताए । सामान्यतया चैत अन्तिम साता वा नयाँ वर्षमा पानी काठमाडौं ल्याउने भनिए पनि सोहीअनुसारको तयारी नभएको अधिकारीहरू बताउँछन् ।

सरकारले करिब पौने दुई अर्ब रुपैयाँ आयोजना निर्माणका लागि विनियोजन गरिसकेको छ । आयोजनाको प्रवेश मार्ग, पुल, सुरक्षा क्याम्पलगायतका कामको लागत अनुमान गरिएको छैन । पैसाको खाँचो नहुने भए पनि वर्षात्मा काम गर्न नसकिने भएकाले निर्माणको सुरुवातमै ढिलाइ भएको आयोजनाका प्राविधिकहरू बताउँछन् । बाढीले हेडवर्क्स पुरेको मात्र नभई सडक, मोटरेबल पुल, सुरक्षा र आवास भवन सबै बगाएकाले सामान्य वर्षात्मा पनि काम गर्न कठिन छ ।

मेलम्ची बजारदेखि करिव २० किमि मुहानतर्फको सडक छियाछिया छ । मोटरेबल पुल नभएकाले मेसिनरी सामान ओसारपसारमा निकै कठिनाइ हुने देखिन्छ । गत असार १ गते मध्याह्न सुरुङ बन्द गरेर काठमाडौं पठाइएको पानी रोकिएको थियो । त्यसपछि सुरुङको अवस्थाबारे आयोजनाले विस्तृत अध्ययन गरिसकेको छैन । ‘सुरुङको मुखबाट बाढीको लेदो धेरै भित्र नपसेकाले कम क्षति भएको अनुमान छ,’ आयोजनाका प्रवक्ता इन्जिनियर राजेन्द्रप्रसाद पन्तले भने ।

निर्माण सुरु भएको २२ वर्षपछि गत फागुनमा परीक्षणका रूपमा काठमाडौंमा पानी वितरण गरिएको थियो । बाढीपछि पानी वितरण बन्द छ । सुन्दरीजल–काठमाडौं २६ किमि सुरुङको अवस्था भने अज्ञात रहेको आयोजनाका प्राविधिकहरू बताउँछन् । सुरुङको मुहानस्थित पहिलो खण्ड ढुंगा–माटोले पुरिएको अनुमान छ । हेलम्बुबाट सुन्दरीजलसम्म २६ किमि सुरुङ एवं संरचना निर्माणमा लागि करिब ३० अर्ब खर्च भइसकेको छ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र बनिसकेको छ ।

हेडवर्क्सको ग्रेगान सफा गरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न सिनो हाइड्रोले एक अर्ब १२ करोड प्रस्ताव गरेकामा घटाघट गर्दागर्दै साढे ३४ करोडमा सकार्ने भएको छ । हेडवर्क्समा माथिल्लो भागबाट बगाएर ल्याएको २०–३० फिट गेग्रान थुपारेको अनुमान छ । नेपाली एजेन्टमार्फत ठेकेदार कम्पनीले सवा अर्बबाट घट्दै अन्तिममा ५८ करोडमा अडान राखेको थियो ।

मन्त्री चौधरीले आफूले मेलम्ची आयोजनाको प्राविधिक टोलीले प्रस्ताव गरेको योजना रकमबाहेक सम्झौता गर्न नसक्ने बताएका थिए । आफूले काम नपाउने सम्भावना बढेपछि चिनियाँ कम्पनी सिनोले उक्त रकममा काम गर्न सहमति जनाएको हो । कम्पनीले काम सुरु गरेको तीन महिनामा पानी सञ्चालन गर्ने लिखित सहमति गर्नुपर्ने प्रस्ताव मन्त्रालयले राखेको छ ।

प्रकाशित : माघ ६, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?