कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पलायन हुँदै बीपीका दक्ष चिकित्सक

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्ने सहज वातावरण नपाएपछि पाँच वर्षयता ५० जनाभन्दा बढी दक्ष चिकित्सकहरू अन्यत्र पलायन भएका छन् ।

पलायन हुँदै बीपीका दक्ष चिकित्सक

प्रतिष्ठान स्वायत्त स्वास्थ्य शैक्षिक संस्थामात्र नभएर अन्तर्राष्ट्रिय स्तरका विभिन्न विश्वविद्यालय र मेडिकल कलेजसँग भगिनी सम्बन्ध रहेकाले अधिकांश चिकित्सकहरू आफ्नो वृत्ति विकासका लागि यहाँ आउने गरेका थिए ।

पछिल्लो एक दशकयता प्रतिष्ठानभित्र बढ्दो भ्रष्टाचार, आर्थिक अनियमतिता, पदाधिकारीको मनोमानीका कारण प्रतिष्ठानको साख गिर्न थालेको छ । पछिल्लो समय राजनीतिक खिचातानी, विभागैपिच्छे अनेक समस्याका चाङ, पदाधिकारीहरूबीच तालमेलको अभाव देखिन थालेको छ । योग्य तथा दक्ष चिकित्सकलाई अग्रज भनिएका चिकित्सकहरूले काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा हतोत्साहित गर्ने गरेको, नेपाल बाहिरको मेडिकल युनिभर्सिटीबाट एमडी, डीएम एसीएच गरेर प्रतिष्ठानमै विशिष्ट सेवा दिने उद्देश्यले आएका चिकित्सकलाई पदाधिकारी र व्यवस्थापन पक्षले आवश्यक मेडिकल उपकरण उपलब्ध गराउन नसक्नुजस्ता कारणले प्रतिष्ठानबाट पलायन हुने चिकित्सकहरूको संख्या बर्सेनि बढ्दै जान थालेको छ ।

टाउको, मुटु, मिर्गौला, फोक्सो, स्नायु, हाडजोर्नी, नाक‚ कान‚ घाँटी, मानसिक रोग, स्त्री तथा प्रसुती, शल्यक्रिया, रेडियोलोजी, बालरोगसम्बन्धी विशेषज्ञ चिकित्सकदेखि विशिष्ट उपचार सेवा दिने चिकित्सकहरूले धमाधम प्रतिष्ठान छाड्न थालेको प्रतिष्ठानकै कर्मचारी प्रशासनबाट प्राप्त तथ्याङ्कले देखाएको छ ।

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को मोडलमा २९ वर्षअघि भारत-नेपाल मैत्री परियोजनाअनुसार धरानमा प्रतिष्ठान स्थापना गरिएको हो । नन-प्राक्टिसिङ विश्वविद्यालयको रुपमा स्थापित बीपी प्रतिष्ठानका चिकित्सकहरूले प्रतिष्ठान प्रवेशद्वार बाहिरका कुनै पनि निजी मेडिकल कलेज, नर्सिङ होम वा क्लिनिकमा अभ्यास गर्न पाउँदैनन् । प्रतिष्ठानबाहिर चिकित्सकीय अभ्यास गर्नेले सामाजिक दायित्वका लागि निःशुल्क सेवा भने दिन पाउ‍ने व्यवस्था छ । प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारीलाई सरकारले तलब/भत्ताको सुविधा दिँदैन । प्रतिष्ठान आफैंले कमाएर संकलन भएको पैसा नै चिकित्सक, नर्स कर्मचारीले तलबको रुपमा लिने गरेका छन् ।

प्रतिष्ठानले एक दशकअघि नै दक्ष चिकित्सकलाई पलायन हुनबाट रोक्न अनेकौं प्रयास गरेको थियो । प्रतिष्ठानले प्राध्यापक तहका चिकित्सकलाई तलब जति नै अतिरिक्त मासिक एक लाख रुपैयाँ थपिदिने गरेको छ । त्यसका अतिरिक्त प्रतिष्ठानले पेइङ सेवा पनि सञ्चालन गर्दै आएको छ । पेइङ सेवामा जनरल सेवामा भन्दा दोब्बर शुल्क लाग्छ । पेइङ सेवामा संलग्न चिकित्सक, नर्स र कर्मचारीले भने निश्चित प्रतिशत कमिसन पाउने गरेका छन् ।

प्रतिष्ठानका एक वरिष्ठ चिकित्सकले भने, ‘तर‚ पछिल्लो समयमा कोरोना महमारी र विभिन्न कारणले पेइङ सेवा पनि प्रभावित भएको छ । प्रतिष्ठानले योग्य चिकित्सकलाई रोक्न पेइङ सेवाको अवधारणा ल्याएको हो । तर योग्य चिकित्सक अडिने वातावरण बन्नुको सट्टा झन्झन् बिग्रिँदै गएकाले पलायन हुनेको लर्को लागेको छ ।’

बीपी प्रतिष्ठानको मुख्य उद्देश्य बिरामीको उपचार सेवा, चिकित्सा शास्त्र अध्ययन/अध्यापन र रोगव्याधीसम्बन्धी वैज्ञानिक खोज अनुसन्धान गर्नु हो । ती वरिष्ठ चिकित्सकले भने, ‘प्रतिष्ठानमा पैसा कमाउन चाहने भन्दा सेवा गर्न चाहने चिकित्सकहरू छन् । तर सेवा दिनका लागि पदाधिकारी, व्यवस्थापन पक्ष र सरकारले अवसर र वातावरण जुराइदिनुपर्ने हो । त्यो पनि नभएपछि यहाँ हल्लिएर त उसले जानेको ज्ञान निरर्थकमात्र हुँदैन‚ बिर्सन्छ नै ।’

प्रतिष्ठानभित्र विशिष्ट सेवा दिन सक्ने चिकित्सकहरू नभएका भने होइनन् । तर अझैसम्म पनि उनीहरूको योग्यता र दक्षता प्रदर्शन गर्ने गरी मेडिकल उपकरण नै नभएपछि सामान्य उपचार सेवामा सीमित भएका छन् । प्रतिष्ठानमा अझै पनि ४५ प्रतिशत चिकित्सकको दरबन्दी रिक्त छ । बीपी प्रतिष्ठान शुद्धीकरण अभियान तथा संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका स्त्री तथा प्रसुती विभागका चिकित्सक डा एसपी रिमालले भने, ‘राम्रा चिकित्सकले काम गर्ने वातावरण नपाउँदा पलायन हुने चिकित्सकहरूको संख्या बढ्दै गइरहेको छ । विभिन्न विभागमा हाल कार्यरत राम्रा चिकित्सकहरू पनि पलायन हुने तयारीमा छन् । तलब थोरै भयो भनेर चिकित्सकहरू पलायन भएका होइनन्, काम गर्ने उचित वातावरण नपाएर पलायन भएका हुन् ।’

उनले प्रतिष्ठानको अवस्था सुध्रिएमा र काम गर्ने वातावरण र अवसर पाएमा ती पलायन भएका चिकित्सकहरू पुनः फर्केर आउन सक्ने बताए । प्रतिष्ठान आफैँमा मुलुककै स्वास्थ्य मापदण्ड बनाउन सक्ने ‘ब्रान्ड’को रुपमा स्थापित भएकाले यहाँ कार्यरत चिकित्सकलाई अन्तर्राष्ट्रिय मेडिकल युनिभर्सिटी र कलेजहरूले समेत सहजै स्वीकार्ने, अध्ययन-अनुसन्धानमा अब्बल र बिरामी उपचारको अभ्यास गर्ने उपयुक्त थलो भएकाले सुरुमा आकर्षित हुने गरेका छन् ।

यसैबीच प्रतिष्ठानबाट दक्ष चिकित्सकहरू पलायन हुने क्रम बढेपछि नागरिक समाज, धरानका राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला, बुद्धिजिवी, जनप्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् । महेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख र धरानका पूर्वमेयर समेत रहेका कुमारबहादुर कार्कीले भने, ‘प्रतिष्ठानका राम्रा चिकित्सक पलायन हुनबाट रोक्न सबैले गम्भीर भएर लाग्नुपर्ने देखिएको छ । राम्रा डाक्टरहरूलाई अड्याउने र गलत प्रवृत्ति भएकाहरूलाई नङ्ग्याउनुपर्ने भएको छ । यसका लागि आजैदखि तयारी गर्न ढिलो गर्नु हुँदैन ।’

उनले बीपी प्रतिष्ठानका पदाधिकारी र अस्तव्यस्त व्यवस्थापनको समस्या समाधान गर्न नसक्नु र पदाधिकारीलाई कारबाही गर्न नसक्नु सरकारको नालायकीपन भएको बताए । उनले प्रश्न गरे, ‘सरकारले नै गठन गरेर पठाएको उच्चस्तरीय कार्यदलले तयार पारेका प्रतिवेदनका आधारमा प्रतिष्ठानका पदाधिकारीलाई सरकारले किन कारबाही गर्न सकिरहेको छैन ? सरकारले कि पदाधिकारीलाई क्लिन चिट देओस् कि कारबाही गरोस् ।’

बीपी प्रतिष्ठान संयुक्त सङ्घर्ष समितिका संयोजक राजेन्द्र शर्माले प्रतिष्ठानका सक्षम तथा योग्य चिकित्सकका लागि धराने जनताले साथ दिने बताए । उनले भने, ‘अझै पनि चिकित्सा क्षेत्रलाई सेवाको भावले हेर्ने दक्ष चिकित्सक छन् । तर तिनले बिरामी उपचार गर्दा आवश्यक मेडिकल उपकरण अभाव भएपछि त्यतिकै भौतारिरहनु परेको छ ।’

रेडियोलोजी विभागमा चार महिनाअघि मात्र रेडियोलोजीअन्तर्गतकै टाउकोको मष्तिष्कमा हुने रोग निवारणका लागि कुनै शल्यक्रिया नगरी रगतको नशामार्फत तार पठाएर गरिने आधुनिक प्रविधि पढेर आएका एक चिकित्सक यतिबेला सामान्य एक्स-रे‚ भिडियो एक्स-रे हेरेर दिन बिताइरहेका छन् । एमसीएच गरेका ती चिकित्सकले मष्तिष्कघात भएका बिरामी उपचारका लागि क्याथल्याबको माग गरे पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि उनको योग्यताअनुसार काम गर्ने वातावरण सिर्जना भएको छैन ।

नेकपा एमालेका नेता मीन सुब्बाले राम्रा र योग्य चिकित्सकहरूको पक्षमा आफू रहेकाले गलत गतिविधि गर्ने चिकित्सकलाई सामाजिक बहिस्कार आवश्यक रहेको बताए । महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेङले पनि गलत प्रवृत्ति भएका चिकित्सकहरूको भन्डाफोर गर्न आवश्यक रहेको र योग्य चिकित्सकलाई प्रतिष्ठानबाट पलायन हुनबाट रोक्न अन्य उपायहरू पनि खोज्नुपर्ने बताइन् ।


बीपी प्रतिष्ठानमा काम गर्ने वातावरण नभएपछि विगत पाँच वर्षयता प्रतिष्ठान छाडेर जानेहरूको नामावली । स्रोत : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

प्रकाशित : माघ ६, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?