कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गौर नरसंहार दोहोर्‍याउने मन्त्रीको धम्की

पदको उन्मादमा घृणा र हिंसा फैलाउने जसपा नेत्री रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन्, अब कारबाही गर्ने परीक्षामा प्रधानमन्त्री देउवा

रौतहट, काठमाडौं — पदको उन्मादले राजनीतिक नेतृत्व कतिसम्म असहिष्णु हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले । बुधबार गौरमा उनी सहभागी कार्यक्रममा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कालो झन्डा देखाए, आक्रोशित मन्त्री यादवले राउतको नामै लिएर धम्की दिइन्, ‘यो इतिहास बोकेको जिल्ला हो । राइस मिल घटना याद गर्नू । टकराउन खोज्यौ भने तिम्रो त्यही हालत हुनेछ, जुन गौरको राइस मिलमा भएको थियो ।’

गौर नरसंहार दोहोर्‍याउने मन्त्रीको धम्की

गौरको राइस मिल त्यही स्थान हो जहाँ १५ वर्षअघि २०६३ चैत ७ मा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २८ जना माओवादी कार्यकर्तालाई त्रूरतापूर्वक हत्या गरेका थिए । भाला, खुकुरी, ढुंगा, इँटा र गोली प्रहारबाट मारिएका उनीहरूमध्ये कतिपय महिला कार्यकर्तामाथि सामूहिक बलात्कारसमेत भएको समाचार आएका थिए । घटना सुनियोजित भएको भन्दै नेता उपेन्द्र यादव, बबन सिंहलगायत विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउन प्रहरीमा उजुरी परेको थियो । तर नरसंहारको गम्भीर अनुसन्धान अहिलेसम्म भएको छैन ।

पहिलो मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको स्मृतिमा समाजवादी युवा संघ रौतहटले बुधबार ‘बलिदान दिवस’ आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री यादव आउने थाहा पाएपछि जनमत पार्टीका कार्यकर्ता हातमा फराठा (बाँसको लाठी) बोकेर सदरमुकाम गौरमा भेला भएका थिए । कालो झन्डा देखाउने उनीहरूको योजनाबीच स्थानीय प्रशासनले मन्त्री यादवलाई रुट बदल्दै कार्यक्रमस्थलमा पुर्‍याएको थियो । जहाँ प्रमुख अतिथिको आसनबाट उनले नरसंहार दोहोर्‍याउने धम्की दिइन् ।

समाजवादी युवा संघले जसरी पनि कार्यक्रम गरिछाड्ने र जनमतका कार्यकर्ताले पनि अवरोध गर्ने भएपछि कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । ‘कालो झन्डा देखाउने क्रममा सीके राउतका केही कार्यकर्ता पक्राउ गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भने, ‘उनीहरूलाई कार्यक्रमस्थलभन्दा १ किलोमिटर परै रोकेका थियौं ।’ जनमतका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो ।

मन्त्री यादवले किसानलाई भड्काउने काम नगर्न राउतलाई चेतावनी दिइन् तर आफ्ना कार्यकर्तालाई भड्काउँदै भनिन्, ‘मधेसको नारा लिएर तपार्इं केपी ओलीका पाउ परेको होइन र ? तर इतिहासलाई नबिर्सनुस् । म नाम भन्दिनँ, डाक्टर साहब (सीके राउत) लाई यहींबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो । रिसर्च गर्नुहोस्, चिरफारतिर नलाग्नुस् । चिरफार गर्नुभयो भने बिरामी मर्नेछन् । र, घेराबन्दी गरेर तपाईंलाई मार्दिन्छन् । सतर्क रहनुहोस् ।’

सरकारसँग शान्ति सम्झौता गरेर लोकतान्त्रिक प्रतिस्पर्धा स्वीकार गरेका राउतको नेतृत्वमा गठन भएको दलले मधेसमा उपद्रो पनि गर्दै आएको छ । अराजकता फैलाउने व्यक्ति तथा समूहलाई कानुनी कारबाही गर्ने जिम्मेवारीमा रहेकी मन्त्रीले नै हिंसा भड्काउन खोजेकामा राजनीतिक तथा नागरिक समाज चिन्तित देखिएका छन् । यस्ता अभिव्यक्तिले राउतकै उपद्रोलाई बढावा दिने भन्दै मन्त्रीमाथि कारबाहीको माग पनि उठेको छ ।

मन्त्री यादवको पार्टी जनता समाजवादीका सांसद् मोहम्मद इस्तियाक राईले मन्त्रीजस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले दिएको यस्तो हिंसा भड्काउने अभिव्यक्तिबाट आफूहरूसमेत आश्चर्यमा परेको बताए । ‘लोकतान्त्रिक मूल्यमान्यताअनुसार शान्तिपूर्ण आन्दोलन गर्दै आएको पार्टीकै मन्त्रीले दिएको यस्तो अभिव्यक्तिलाई पार्टीले संज्ञानमा लिएको छ । छानबिन गरेर आवश्यक निर्णय लिन्छौं ।’

गौर घटनालाई भवितव्य भन्दै जसपा नेता यादवले आफू र आफ्नो दल यसमा जिम्मेवार नरहेको बताउँदै आएका छन् । तर मन्त्री यादवको अभिव्यक्तिले घटना योजनाबद्ध रहेको भनाइलाई बल दिएको छ । २०६४ को संविधानसभा निर्वाचनको मुखमा यादव राप्रपाबाट फोरम प्रवेश गरेकाले गौरको विषयमा उनलाई जानकारीसमेत नभएको राईको टिप्पणी छ । ‘१५ वर्षअघिको गौर घटना पनि योजनाबद्ध थिएन । माओवादी कार्यकर्ताको उद्दण्डताका कारण भवितव्य भएको थियो, अहिले मन्त्रीले इतिहास पनि नबुझी आक्रोशमा बोल्नुभएको छ । यो पार्टी र उहाँ दुवैका लागि अशोभनीय हो,’ उनले भने ।

मन्त्री यादवको आपत्तिजनक अभिव्यक्ति सार्वजनिक भएपछि प्रधानमन्त्री र मन्त्रीहरूले कारबाहीको संकेत दिएका छैनन् । कान्तिपुरसँग सम्पर्कमा आएका मन्त्रीहरूले प्रधानमन्त्रीसँग छलफल नभएकाले यो विषयमा प्रतिक्रिया नदिने बताए । त्यस्तै प्रधानमन्त्रीको सचिवालयको भनाइ छ, ‘समय आएपछि प्रधानमन्त्रीज्यूले केही गर्नुहोला, केही बोल्नुहोला ।’ माओवादी शान्ति प्रक्रियामा आएलगत्तै भएको गौर नरसंहारका विषयमा माओवादीले पनि खासै बोल्ने गरेको छैन । मन्त्री यादवको अभिव्यक्तिमाथि पनि माओवादी मौन छ ।

मन्त्री यादवले भने आफूले पार्टीले प्राप्त गरेका उपलब्धिको चर्चा गरेको बताउँदै आफ्नो अभिव्यक्तिलाई काँटछाँट गरेर सम्प्रेषण गरेको आरोप लगाएकी छन् । ‘मैले कार्यक्रममा पार्टीले आन्दोलनबाट प्राप्त गरेका उपलब्धिको चर्चा गरेकी थिएँ र प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष गर्ने कुरा बताएकी थिएँ’, मन्त्री यादवले बिहीबार साँझ कान्तिपुरसँग भनिन्, ‘राउतजीलाई मार्ने धम्की मैले किन दिनू ? बीचबाट शब्दहरू काँटछाँट गरेर गलत रूपमा प्रसारण गरिएको छ । मेरो भाषणको पूरै भिडियो हेरेमा स्पष्ट हुन्छ ।’

मन्त्री यादवले आफूले सीके राउत र उनका कार्यकर्तालाई गाउँगाउँमा तोडफोड नगर्न र आफ्ना कार्यक्रमहरूमा घेराबन्दी नगर्न सम्झाएको बताइन् । ‘हामी बलिदानी दिवस मनाउन जम्मा भएका छौं, यहाँ हामीलाई घेराबन्दी गर्नुभन्दा सक्छौ भने सिंहदरबार घेरेर संविधान संशोधन गराऊ भनेकी हुँ,’ उनले भनिन्, ‘मुठभेड नगर्ने र शान्तिपूर्ण रूपमा कार्यक्रम सम्पन्न गर्ने हाम्रो उद्देश्य थियो । त्यसमा हामी सफल भयौं । जिल्लाका एसपी र सीडीओ साक्षी छन्, उनीहरूलाई सोधे पनि धेरै कुरा स्पष्ट हुन्छ ।’ तर, बिहीबार गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले बारम्बार ‘राइस मिल घटना याद गर्न’ भनेको सुनिन्छ । उनले चेतावनी दिएकी छन्, ‘टकराउन खोज्यौ भने तिम्रो त्यही हालत हुनेछ, जुन गौरको राइस मिलमा भएको थियो ।’

राष्ट्रिय मानवअधिकार आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले गौर घटना बीभत्स नरसंहारका रूपमा रहेको उल्लेख गर्दै त्यसलाई दोहोर्‍याउने अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताए । ‘हिंसा भड्काउने अभिव्यक्ति कसैले पनि दिन मिल्दैन । त्यसमाथि गौर नरसंहारजस्तो घटना दोहोर्‍याउने अभिव्यक्ति त झन् अशोभनीय हो,’ उनले भने । बिहीबारको कार्यक्रममा मन्त्री यादवले दिएको सम्पूर्ण रेकर्ड हेरेपछि आयोगले आवश्यक निर्णय गर्ने उनले बताए ।

पूर्वगृहसचिव गोविन्द कुसुम पनि यस्तो अभिव्यक्ति दिने मन्त्रीलाई सरकार सञ्चालक र पार्टीले नियन्त्रण गर्नुपर्ने बताउँछन् । ‘मिडियामा आएजस्तै अभिव्यक्ति दिएको हो भने त्यो उपयुक्त भएन । उहाँले फिर्ता लिनुपर्छ,’ उनले भने ।

त्यस्तै मानवअधिकारकर्मी चरण प्रसाईंले पनि हिंसात्मक अभिव्यक्ति दिने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् । ‘त्यस्तो घटना दोहोर्‍याउने अभिव्यक्ति दिने व्यक्ति नै मन्त्रीको कुर्सीमा बसेको देशमा दण्डहीनता र सुशासनको हालत कति चिन्ताजनक अवस्थामा छ होला भन्ने स्पष्ट हुन्छ,’ उनले भने, ‘उत्तेजना फैलाउने यस्तो अभिव्यक्ति कदापि स्वीकार्य हुनुहुँदैन । उनलाई पार्टीले तुरुन्त मन्त्रीबाट फिर्ता बोलाओस्, पार्टीले नबोलाएमा पनि प्रधानमन्त्रीले बर्खास्त गरुन् ।’

मानवअधिकारकर्मी प्रसाईंले मन्त्री यादवको अभिव्यक्तिले हिंसालाई वैधता दिने प्रयास गरेको रूपमा बुझ्नुपर्ने बताए । ‘यो डरलाग्दो कुरा हो । सभ्य लोकतान्त्रिक समाजमा हिंसाको स्थान कहीं पनि हुनुहुँदैन । हिजोको हिंसालाई वैधता दिने र थप हिंसाका लागि आह्वान गर्ने त्यस्तो व्यक्तिलाई तुरुन्तै जवाफदेही बनाउनुपर्छ ।’

किसान आन्दोलनका नाममा मधेसका कतिपय जिल्लामा लाठी प्रदर्शनसहित तोडफोडमा समेत उत्रँदै आएको राउत नेतृत्वको जनमत पार्टीले पनि मन्त्री यादवको अभिव्यक्तिलाई ‘आपराधिक अभिव्यक्ति’ भन्दै उनलाई मन्त्री पदबाट अविलम्ब बर्खास्त गर्नसमेत माग गरेको छ । पार्टी उपाध्यक्ष दीपककुमार साहले बिहीबार साँझ विज्ञप्ति निकालेर भनेका छन्, ‘२०६३ साल चैत ७ गते भएको गौर नरसंहार, जसमा कम्तीमा २८ जनाको पाशविक तरिकाले हत्या भएको थियो, जनता समाजवादी पार्टी (तत्कालीन् मधेसी जनअधिकार फोरम) ले नै यो घटना गराएको मन्त्रीज्यूले सगर्व घोषणा गरिसकेपछि यो गौर–नरसंहारको स्वीकारोक्ति पनि हो । तसर्थ नेपाल सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्या–हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ ।’

उपाध्यक्ष साहले विज्ञप्तिमा दुई वर्षअघिको बर्दिया घटना पनि स्मरण गराएका छन् । २०७५ भदौ ७ गते तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवलाई बर्दियामा कालो झन्डा देखाउँदा राउतका कार्यकर्ता राममनोहर यादवलाई प्रहरीले पक्राउ गरेको थियो, पछि उनको हिरासतमै मृत्यु भएको थियो । राउतको पार्टी र पीडित परिवारले राममनोहरको हत्या भएको बताउँदै आएका छन् । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले संघीय मन्त्री रेणुकुमारी यादवले गौरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘प्रजातन्त्रप्रति विश्वास राख्ने पार्टीको मन्त्रीले यस्तो अभिव्यक्ति दिन सुहाउँदैन,’ उनले भने, ‘यो फाँसीवादी शैली भयो । नेता होस् वा मन्त्री जोसुकैले यसरी गैरजिम्मेवार ढंगले प्रस्तुत हुनुहुँदैन ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो संविधानसभाको निर्वाचनदेखि आजसम्म पनि सत्तामा उपेन्द्र यादवसँग निरन्तर सहकार्यमा छन् । तत्कालीन समयमा माओवादी नेतृत्वमा रहेका अर्का प्रभावशाली नेता बाबुराम भट्टराई अहिले यादवकै पार्टीसँग एकीकरण गरेर एउटै पार्टीमा छन् । गौर घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिइए पनि त्यसमा संलग्न भएका व्यक्ति र यादवलगायत तत्कालीन नेतृत्वलाई जवाफदेही बनाउने प्रयास कहिल्यै भएको छैन ।

प्रकाशित : माघ ७, २०७८ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?