जहाँ छ दशगजा नै आँगन

आर्थिकस्तर, समुदाय, भाषाभेष उस्तै भएकाले वारिपारिका बासिन्दा छुट्याउन मुस्किल 
जे पाण्डे

नेपालगन्ज — सीमा क्षेत्रको निरीक्षणमा पुगेका बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख छक्क परे । सीमा वारिपारि नेपाली र भारतीयका घर छन्, आँगन भने एउटै छ – दशगजा । जिल्लाको पूर्वी सीमा क्षेत्रको अवस्था बुझ्न पुगेका उनीहरूलाई बस्तीको नाम ‘घोडदौडिया’ सुन्दै अचम्म लागेको थियो ।

जहाँ छ दशगजा नै आँगन

‘दुईतिरको एउटै आँगन देखियो,’ दशगजामा उभिएका प्रजिअ सूर्यबहादुर खत्रीले भने, ‘यसलाई कसरी दशगजा भन्ने ? यो त गोठजस्तो देखिन्छ ।’ दुवै मुलुकका बासिन्दाको दशगजा साझा आँगन बनेको छ ।

नेपाली अधिकारीहरूलाई देखेपछि नजिकै सुरक्षा पोस्टबाट भारतीय सशस्त्र सीमा बलका जवानहरू दशगजामै आए । आपसमा परिचय गरे । छोटो कुराकानीपछि आफ्नै सुरक्षा पोस्टतर्फ फर्किए । दुईतिरका उक्त बस्तीका नेपाली र भारतीय एकअर्कालाई सहयोग गर्छन् । उनीहरू फरक मुलुकका बासिन्दाजस्ता लाग्दैनन् । बिहे होस् वा मर्दापर्दा साथै हुन्छन् ।

घोडदौडियाका बासिन्दाले कसैको मन कुँडिने काम नगरेको बताए । ‘यहाँ कुनै मनमुटाव छैन,’ स्थानीय इस्लाम साईले भने, ‘तर, भारतीय पक्षले कैयौं ठाउँमा सीमा र दशगजा मिचेको सुन्दा दुःख लाग्छ ।’

नरैनापुर गाउँपालिकाअन्तर्गत रहेको घोडदौडिया बस्ती दशगजाभन्दा उत्तर र दक्षिणमा छ । पहिलो पटक यहाँ पुग्नेहरूलाई नेपाल र भारत छुट्याउन गाह्रो पर्छ । दुवैतिरको रहनसहन, संस्कृति, परम्परा, वेशभूषा र भाषा एउटै छ । घरहरू पनि एउटै खालका छन् । आर्थिक अवस्था मिल्दो छ ।

दशगजामा सीमा स्तम्भ छन् । ती स्तम्भ वस्तुभाउ बाँध्ने किला बनेका छन् । यहाँको बस्तीमा आ–आफ्नै घरपरिवारका सदस्यबीच बरु झगडा हुन्छ, घोडदौडियाका नेपाली र भारतीयबीच सम्बन्ध सौहार्दपूर्ण छ । ‘कुनै दिन झगडा भएको छैन,’ भोजभगवानपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त गौतमले भने, ‘घोडदौडियामा न नेपालका बासिन्दाबीच झगडा भएको सुनिन्छ, न त पारिका बीचमा नै ।’

निरीक्षण क्रममा पुगेका प्रजिअ खत्रीले पनि दशगजालाई आँगन बनाएर बसेकाहरूको मित्रवत् सम्बन्ध अनुकरणीय पाएको टिप्पणी गरे । बाँकेको ६५ किलोमिटर दक्षिणी सीमामा बस्ती छ ।

घोडदौडियामा दुई मुलुकबीचको दशगजा आँगनका रूपमा प्रयोग गरिँदै आएको भए पनि कुनै खालको भौतिक पूर्वाधार निर्माण भने गरिएको छैन । भारतीय पक्षबाट पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म नेपालको सीमावर्ती ६ सय ६८ स्थानको जमिनमा भोगचलन हुँदै आएको छ । नेपाली पक्षले २ सय ७४ ठाउँमा खेती गर्दै आएको पाइएको छ ।

प्रकाशित : माघ ७, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?