कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

खोप सकिएपछि भेरोसेलको बुस्टर डोज स्थगित

उपत्यकाका तीनै जिल्लाले भेरोसेल लगाउन रोक लगाए पनि कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन लगाउने क्रम जारी
प्रशान्त माली

काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला स्वास्थ्य कार्यालयले भेरोसेल खोप अभाव देखाउँदै ‘बुस्टर डोज कार्यक्रम’ स्थगित गरेका छन् । कीर्तिपुर नगरपालिकाले सूचना नै जारी गरी खोप अभियान रोकेको छ । जसका कारण भेरोसेलको बुस्टर मात्रै नभई यसअघि छुटेका पहिलो/दोस्रो डोज लगाउन इच्छुक सर्वसाधारण खोपबाट वञ्चित भएका छन् । 

खोप सकिएपछि भेरोसेलको बुस्टर डोज स्थगित

स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार भेरोसेलको दोस्रो र बुस्टर डोज लगाउन बाँकी सर्वसाधारण १० लाखभन्दा बढी छन् । ललितपुर र भक्तपुरमा क्रमशः ३ लाख ४ हजार र २२ हजार छन् । कीर्तिपुरमा मात्रै डेढदेखि दुई लाख जना छन् । तीनै जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन खोपको भने अभाव छैन । यी खोप लगाउने कार्यक्रम भने जारी छ ।

स्वास्थ्य कार्यालय काठमाडौं प्रमुख शम्भु काफ्लेले खोप सकिएपछि भेरोसेलको पहिलो डोज लगाउन बन्द गरिएको बताए । ‘स्वास्थ्य विभागले नै परिपत्र गरेर पहिलो डोज नलगाउन भनेको छ,’ उनले भने, ‘पछिल्लो समय प्राप्त खोप दोस्रो र बुस्टरका रूपमा मात्र लगाउन दिएका हौं ।’ उनका अनुसार भण्डारमा भएको भेरोसेल ७ हजार डोज एउटा वडालाई पनि पुग्दैन । ‘वितरण गरेको थाहा हुनेबित्तिकै लगाउनेको भीड हुने र नपाएकाले आक्रोश पोख्ने भएकाले कहाँ कसरी वितरण गर्ने भन्नेबारे छलफलमा छौं,’ उनले भने ।

बुस्टर डोजका लागि भन्दै पछिल्लो समय स्वास्थ्य विभागले स्वास्थ्य कार्यालय काठमाडौंलाई २० हजार, ललितपुरलाई ७ हजार ८ सय र भक्तपुरलाई ४ हजार डोज भेरोसेल पठाएको थियो । कीर्तिपुरलाई भने पठाएको थिएन । अहिले ललितपुरमा २ हजार डोज मात्र भण्डारमा छ । भक्तपुरमा भने एक डोज पनि छैन । स्वास्थ्य मन्त्रालयका अनुसार १ करोड ८५ लाख ५१ हजार ४ सय ८७ डोज भेरोसेल भित्रिएको छ । पहिलो डोज लगाएकाले दोस्रो डोज चार सातापछि र ६ महिनापछि बुस्टर डोज पाउँछन् । यो हिसाबले पनि भेरोसेल खोप ठूलो मात्रामा आवश्यक देखिन्छ । तर, सरकारसँग भने स्टक नै सकिइसकेको छ ।

बिहीबार कीर्तिपुरमा घण्टौं लाइनमा बसेर भेरोसेल लगाउन नपाएको आक्रोशमा झडप नै भयो । त्यसपछि नगरपालिकाले खोप अभाव भन्दै सूचनामार्फत स्थगित गरेको हो । कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखाका अहेव तपराज दुलालका अनुसार पहिला स्टकमा रहेको खोप ५/६ सय जनालाई लगाइएको थियो, पछि अरू सर्वसाधारणले नपाएपछि उनीहरूले आक्रोश पोखेका थिए । ‘विभागमा माग गर्दा पनि स्टक छैन भनेर दिएन,’ दुलालले भने । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार भेरोसेल लगाउने जिल्लामा ज्येष्ठ नागरिक, फ्रन्टलाइनर र कर्मचारी बढी छन् । ‘खोप चाँडै उपलब्ध गराए अशक्त र वृद्धावृद्धालाई केही राहत मिल्थ्यो,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कम पठाउनुपर्ने जिल्लामा बढी खोप गएका कारण समस्या देखिएको बताए । ‘भेरोसेल लगाउनुपर्नेहरू केही दिन धैर्य गर्नुस्,’ उनले भने । स्वास्थ्य विज्ञ डा. ढुण्डीराज पौडेलले भने अन्य खोप उपलब्ध हुनु र भेरोसेल अभाव हुनुमा आर्थिक चलखेल हुन सक्ने आरोप लगाए । ‘राजनीतिक खिचातानी र व्यवस्थापनको कमजोरीले खोप अभियान रोकिनु भएन,’ उनले भने, ‘खोपको अन्य विकल्प पनि छैन । जसरी भए पनि व्यवस्थापन गर्नुपर्‍यो ।’ सरकारले शुक्रबारबाट सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गरेपछि खोप केन्द्रमा पहिलो डोज लगाउनेको संख्या पनि अत्यधिक बढेको छ ।

शुक्रराज ट्रपिकलका सूचना अधिकारी नवराज गौतम भन्छन्, ‘खोप लगाउन आउने दैनिक २ हजार ५ सय हाराहारीमा छन् । पीसीआर गराउने दैनिक ३ सयमध्ये ६० प्रतिशतमा संक्रमण देखिएको छ । स्थान अभावका कारण व्यवस्थापनमा मुस्किल परेको छ ।’ उनले दोस्रो लहरमा जस्तै खोप लगाउने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताए । स्वास्थ्य कार्यालय काठमाडौंले बुस्टर डोज लगाउने जिम्मा स्थानीय तहलाई दिएको छैन । राजधानीका २४ वटा अस्पताललाई खोप केन्द्र तोकेको छ ।

प्रकाशित : माघ ७, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?