कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लोसपाको चुनावी गठबन्धन कुन दलसँग ?

राष्ट्रिय सभा चुनावका लागि मधेसमा एमालेसँग गठबन्धन बनाए पनि अन्य चुनावमा के गर्ने भन्नेमा अनिर्णीत
मधु शाही

काठमाडौँ — प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रिय सभा चुनावका लागि भने मधेस प्रदेशमा एमालेसँग गठबन्धन बनाएको छ । अन्य चुनावमा कुन दलसँग मिलेर जाने वा एक्लै उत्रने भन्ने निर्णय भने लोसपाले गरेको छैन ।

लोसपाको चुनावी गठबन्धन कुन दलसँग ?

कम्तीमा मधेस प्रदेशको अन्य चुनावी परिणाममा प्रभाव पार्ने हैसियत राख्ने हुनाले लोसपाले बनाउन सक्ने गठबन्धनबारे अन्य दलले पनि चासो राखिरहेका छन् ।

लोसपाका एक कार्यकारिणी सदस्यका अनुसार सत्ता गठबन्धन यही अवस्थामा नरहे चुनावी सहकार्यका लागि पहिलो रोजाइ कांग्रेस हुनेछ । सत्ता गठबन्धन कायमै रहे एमालेसँग गठबन्धन बन्न सक्छ । एक्लै चुनावी मैदानमा उत्रिने सम्भावना रहेको पनि ती नेताले बताए । ‘अहिलेको सत्ता गठबन्धन धेरै समय टिक्दैन, फुट्यो भने लोसपा र कांग्रेसको सहकार्य हुने प्रबल सम्भावना छ,’ उनले भने ।

कार्यकारिणी सदस्य केशव झाले भने एक्लै चुनावी मैदानमा होमिने कि गठबन्धन बनाउने भन्ने विषयमा पार्टीभित्र छलफल नभएको बताए । ‘अहिले नै तय भएको छैन,’ उनले भने, ‘समयले जस्तो माग गर्छ, त्यसैअनुसार अघि बढ्छौं ।’ अर्का कार्यकारिणी सदस्य उमाकान्त झाले पनि अहिले गठबन्धनबारे केही नसोचेको बताए ।

‘चुनावका विषयमा सरकारले निर्णय गरेकै छैन, चुनाव आएपछि परिस्थितिअनुसार निर्णय हुन्छ,’ उनले भने । जनता समाजवादी पार्टीबाट फुटेर नयाँ पार्टी लोसपा बनेको ६ महिना भइसकेको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर २०७७ वैशाख १० मा जसपा गठन गरिएको थियो । त्यति बेला समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारीले हस्ताक्षर गरी पार्टी एकता गरेका थिए ।

पहिचानमा आधारित संघीयता, सहभागितामूलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि र बहुसांस्कृतिक राष्ट्रवाद विकास गर्न नयाँ ढंगको लोकतान्त्रिक राजनीतिक शक्ति निर्माण गर्नु आवश्यक रहेको सहमतिपत्रमा उल्लेख थियो ।

जसपामा रहदा महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त नेतृत्वमा पार्टी सञ्चालन गरिएको थियो । तर नेतृत्वमा रहेका दुवै नेताबीचको मनमुटावका कारण एकता साढे १४ महिनाभन्दा अघि बढ्न सकेन । गत असार २२ मा पार्टी फुट्यो । त्यसपछि ठाकुरको नेतृत्वमा निर्वाचन आयोगमा गत भदौ ९ मा लोसपा दर्ता भयो । पार्टीका एक नेताले यादव र ठाकुरबीच पुरानो तिक्तता रहेकाले पार्टी फुटेको बताए ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला ठाकुर पक्ष सत्ता टिकाउने पक्षमा उभियो भने यादव पक्ष ओलीको बहिर्गमनका लागि आन्दोलनमा थियो । त्यति बेला एकअर्कालाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने र निष्कासन गर्ने गतिविधि भएका थिए ।

प्रकाशित : माघ ७, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?