१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

उपरथीद्वय खड्का र पाण्डेको म्याद थपियो, कार्कीको अवकाश हुँदै

काठमाडौँ — सरकारले नेपाली सेनाका उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको थप दुई वर्ष कार्यकालको म्याद थप्ने निर्णय गरेसँगै अर्का उपरथी अनन्त कार्की नियमित ३ वर्षे समयअवधि पूरा गरेर केही दिनमा अवकाशमा जाने पक्का भएको छ । मन्त्रिपरिषद्को पुस ३० को निर्णय रक्षा मन्त्रालय हुँदै सैनिक मुख्यालय जंगी अड्डामा आइसकेको सेनाका एक अधिकारीले कान्तिपुरलाई जानकारी दिए ।  

उपरथीद्वय खड्का र पाण्डेको म्याद थपियो, कार्कीको अवकाश हुँदै

सैनिक ऐन–२०६३ अनुसार साधारणतर्फ उपरथीको नियमित रुपमा ३ वर्षको कार्यकाल हुन्छ । त्यसपछि थप दुई वर्षको एक कार्यकाल थप्न सकिने व्यवस्था छ । ऐनअनुसार उक्त अधिकार पूर्णरुपमा प्रधानसेनापतिमा निहीत हुन्छ । प्रधानसेनापति प्रभुराम शर्माले पुस १७ गते उपरथीद्वय खड्का र पाण्डेको म्याद थप्न सैनिक ऐनको दफा १७ अनुसार सिफारिस गरेका थिए ।

ऐनको दफा १७ अनुसार नेपाली सेनामा कार्यरत अधिकृतको उमेरको हदमा उल्लेख भएअनुसार सैनिक अधिकृतको पदावधि थप्न सकिनेछ । ‘लामो अवधिसम्म सेवा गरी शारीरिक रुपमा सक्षम रहेका अधिकृतको सेवा नेपाली सेनाका लागि आवश्यक छ भनी मनासिव आधार र कारण खोली नेपाल सरकारसमक्ष प्रधानसेनापतिले सिफारिस गरेमा नेपाल सरकारले पदावधि थप गर्न सक्नेछ’ उक्त दफामा उल्लेख छ ।

जंगी अड्डाको सिफारिसअनुसार मन्त्रिपरिषद्ले ती दुई उपरथीको म्याद थप्ने निर्णय गरेको हो । म्याद थपिएसँगै उपरथी पाण्डेलाई प्रधानसेनापति शर्मापछिको सम्भावित सैनिक प्रमुखको रुपमा पनि हेरिएको छ । ‘अहिले नै उनी (पाण्डे) प्रधानसेनापति हुन्छन् भन्ने भन्न गाह्रो हुन्छ, अझै धेरै समय बाँकी छ । सबै कुरा उनको अनुकूल भए, उनीलाई सम्भावित प्रधानसेनापतिको रुपमा हेरिएको छ,’ सैनिक स्रोतले भन्यो । पाण्डे प्रमुख नभएमा अर्का उपरथी अशोक सिग्देललाई शर्मापछिको भावी प्रधानसेनापतिको रुपमा हेरिएको छ । पाण्डे र सिग्देलमध्ये एक जना शर्मापछि नेपाली सेनाका प्रधानसेनापति हुने सैनिक वृत्तमा चर्चा छ ।

उपरथी कार्की भने म्याद नथपिएपछि यही माघ २३ गतेबाट नियमित अवकाशमा जाँदैछन् । नियमित अवकाशमा जानुभन्दा १५ दिनअघि बिदामा बस्ने सैनिक परम्पराअनुसार कार्की यसै साताबाट घर बिदामा बस्ने सैनिक मुख्यालयले जनाएको छ ।

अहिले नेपाली सेनामा प्रधासेनापति शर्मा र दुई रथीपछि चौथो वरीयतामा रहेका कार्की प्रधानसेनापति शर्माले आफूभन्दा कनिष्ठ वरीयताका उपरथीद्वय खड्का र पाण्डेको थप दुई वर्षे सयमवधिको लागि रक्षा मन्त्रालय पठाएको भन्दै रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निवेदन दिएका थिए । उनले पुस ४ गते प्रधानमन्त्रीको निजी सचिवालय सिंहदरबार पुगेर निवेदन दिएका थिए । साथै, आफ्नो ६ बुँदे निवेदनमा राष्ट्रिय प्रतिरक्षा निर्माण समितिको कार्यालय जगनाथ देवलमा कार्यरत उपरथी कार्कीले प्रधानसेनापति शर्माले स्वेच्छाचारी र गैरकानुनीरुपमा पदावधि नथपेको अरोप लगाएका थिए । उनले निवेदनको बोधार्थमा राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई राखेका थिए ।

उपरथी कार्कीले दिएको निवेदनको दुई नम्बरमा ‘प्रधानसेनापतिले गरेको सिफारिस पुस ३० गते छलफल हुँदा एक नम्बर वरीयताको पदावधि थप सिफारिस किन नभएको भनी प्रश्न उठी प्रधानसेनापतिसँग बुझ्ने भनेपछि प्रस्तावउपर निर्णय नभएको भन्ने मलाई जानकारी हुन आएको’ भन्ने उल्लेख गरे पनि त्यो झुटो हुन आएको छ । सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले खड्का र पाण्डेको म्याद थप्ने निर्णय गरेको थियो ।

सेनाका एक उच्च अधिकारीका अनुसार उपरथी कार्कीले नेपाली सेना, सैनिक ऐन र चेन अफ कमान्ड बाहिर गएर निवेदन दिएको र निवेदनमा पनि झुटाकुरा उल्लेख गरिएको पाइएको छ । ‘उहाँ छिट्टै अवकाशमा जाँदैछन् र केही दिनमात्र कार्यालयमा हुनेछन् । सोही कारणले गर्दा उनलाई सैनिक ऐन र संगठनविरुद्ध गरेका कामलाई लिएर कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन,’ ती सैनिक अधिकारीले भने,‘केही दिनमात्र जागिरमा रहने भएकोले कारबाही हुन पनि सक्छ, न हुन पछि सक्छ ।’

यो पनि

प्रकाशित : माघ ७, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?