खोपप्रति कतै भ्रम, कतै भीड

नेपालगन्ज, भैरहवा — भेरी अस्पतालमा उपचारार्थ दाङकी जगमती चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भयो । कोरोनाको तेस्रो लहर सुरु भएयता अस्पतालमा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । ४१ वर्षीया उनले पहिलो र दोस्रो लहरमा खोप लगाइनन् । तेस्रो लहर सुरु भइसक्दासमेत कोभिड–१९ विरुद्धको कुनै खोप नलगाएको अस्पतालले जनाएको छ ।

खोपप्रति कतै भ्रम, कतै भीड

अवस्था बिग्रँदै गएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएलगत्तै भेरी अस्पताल भर्ना भएको तीन दिनमा माघ ३ गते उनको मृत्यु भयो ।

यसले के संकेत गर्छ भने खोप नलगाएकाहरू बढी जोखिममा छन् । चिकित्सकहरूले संक्रमण सुरु भएको तीन वर्ष भइसक्दासमेत खोप नलगाउनुलाई व्याप्त भ्रम पनि प्रमुख कारक ठान्छन् । ग्रामीण तथा विकट क्षेत्रमा पहुँच नहुँदा खोप नपाउनेहरू त छन् नै सहरी क्षेत्रमा पनि सबैले खोप लगाएका छैनन् । ‘मलाई बजारमै दुई/चार जनाले खोप लाउने कि नलाउने भनेर सोधे । जबकि, ज्यान बचाउँछ र जोखिम हटाउँछ भने त्यो खोपले मात्र सम्भव छ,’ भेरी अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत रिसालले भने, ‘खोपविरुद्धको भ्रम निवारण गर्न बेलैमा सचेतना अभियान थाल्नुपर्छ ।’

रिसालका अनुसार खोप लगाएका मानिसको दाँजोमा नलगाउने संक्रमित उच्च जोखिममा पर्नुका साथै स्वास्थ्य अवस्था चिन्ताजनक भई ज्यानै जान पनि सक्छ । अस्पताल भर्ना भएका संक्रमितमध्ये खोप लगाउनेमा संक्रमणका असर निकै कम पाइएको उनले बताए ।

भ्रम निवारण गर्न नसक्दा बाँकेमा खोप लगाउने लक्षित उमेर समूहका ४ लाख ६ हजारमध्ये ३ लाख २६ हजारले मात्रै पहिलो र दोस्रो मात्रा लगाएका छन् । अहिले पनि ८० हजार व्यक्ति खोप लगाउन आएका छैनन् । ‘बुझ्नेहरू बेलैमा आउँछन्, नबुझ्ने अवस्था चिन्ताजनक भएपछि आउँछन्,’ स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेशबाबु श्रेष्ठले भने । बुस्टर डोज सुरु भइसक्दासमेत भ्रम झांगिँदै गएको छ ।

खोप लगाउँदा प्रजनन तथा यौन क्षमतामा कमी आउँछ भन्नेजस्तो गलत प्रचारविरुद्ध सरकारीस्तरबाट भ्रम चिर्ने प्रयास भएको छैन । जबकि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुस ३० मै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ‘व्याप्त भ्रम हटाउन र समुदायमा सही सूचना सम्प्रेषण गर्न’ निर्देशन दिइसकेको छ । त्यसका लागि कोभिड–१९ सहजीकरण समूह, टोल सुधार वा उपभोक्ता समिति बनाएर भ्रम हटाउन भनेको छ ।

‘वाहियात हल्लाले खोपप्रतिको रुचिमा कमी आउन सक्छ,’ भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले भने, ‘जुन समुदाय वा क्षेत्रबाट भ्रम फैलिएको छ, त्यहाँ चेतना अभिवृद्धि गर्नुपर्छ ।’ भ्रम निवारण नभए संक्रमण नियन्त्रणमा चालिएका सरकारी प्रयास सफल नहुन सक्ने उनले बताए । सक्रिय संक्रमण देखिएपछि उपचारार्थ अस्पताल पुग्नेहरूमा गर्भवती महिलाहरू पनि छन् ।

सरकारले पहिलो र दोस्रो चरणको खोप उपलब्ध गराउँदा रूपन्देहीका ग्रामीण क्षेत्रका बासिन्दामा पटक्कै उत्साह थिएन । उनीहरू खोप केन्द्रमा आउँदैनथे । उनीहरूलाई उपलब्ध गराइएको खोप बचेर फिर्ता जान्थ्यो । कतिपय ठाउँमा त अन्य क्षेत्रका बासिन्दा आएर खोप लगाएर जान्थे । तर, अहिलेको अवस्था फरक छ । रूपन्देहीका खोप केन्द्रमा स्थानीयको लाइन लाग्न थालेको छ ।

‘कोभिडविरुद्धको खोपप्रति स्थानीयको आकर्षण र चेतना बढ्दै गएको छ,’ रूपन्देहीको विकट मानिने सम्मरीमाई गाउँपालिकाअन्तर्गत बेतकुइया स्वास्थ्य चौकीका इन्चार्ज केशव ढकालले भने, ‘अहिले कोभिडको खोप भनेपछि स्थानीय ओइरिन थालेका छन् ।’ कोभिडविरुद्धको खोपले स्वास्थ्य कमजोर गराउने, यौन शक्तिमा कमी आउने, अनेक खालका अन्य रोग आउनेलगायता भ्रमले स्थानीय बासिन्दामा जरो गाडेको थियो । स्थानीयका लागि भनेर उपलब्ध गराइएको खोप स्थानीयले नलगाएपछि जिल्ला स्वास्थ्य कार्यालयमा फिर्ता पठाएको ढकालले सुनाए ।

ओमसतिया, मायादेवी, सियारी, गैडहवा, शुद्धोधन, रोहिणी, कोटहीमाई, सम्मरीमाई, मर्चवारी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको ग्रामीण क्षेत्रका कैयन् बासिन्दा खोप लगाउन इच्छुक थिएनन् । कतिपय ठाउँमा त सरकारले वृद्धभत्ताअन्तर्गतको रकम जोगाउन कोभिडको खोप लगाउन भनेको आरोपसमेत स्थानीयले लगाउने गर्थे । खोप लगाएपछि मानिसको मृत्यु हुने भएपछि वृद्धभत्ता जोगिने भ्रम उनीहरूमा थियो ।

खोपप्रति नकारात्मक सोच राख्नेमा ग्रामीण क्षेत्रका बासिन्दा मात्र नभएर सहर बजारका पढेलेखेका व्यक्ति थिए । यही गलत सोचका कारण खोप नलगाउँदा कोभिड संक्रमणबाट स्वयं चिकित्सककै मृत्यु भएको घटना पनि रूपन्देहीमा छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुदाबगर स्वास्थ्य चौकीका प्रमुख प्रमोद ज्ञवाली पनि पछिल्लो समयमा कोभिडविरुद्धको खोपप्रति स्थानीयको उत्साह बढ्दै जान थालेको बताउँछन् ।

‘पहिला खोप लगाउन भनेर जतिसुकै सम्झाउँदा पनि लगाउन मान्दैनथे,’ ज्ञवालीले भने, ‘कोभिडको दोस्रो लहर जब आक्रामक ढंगबाट आयो र धेरैको मृत्यु हुन थाल्यो, बल्ल खोपप्रतिको जागरुकता बढ्न थालेको छ ।’ अहिले पनि खोपका बारेमा नकारात्मक सोच र कुरा गर्ने व्यक्ति फाट्टफुट्ट भेटिने गरेको उनले बताए ।

प्रकाशित : माघ ८, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?