२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

झुरझुरे भिडन्तका साक्षी ‘युद्धवीर’

प्रताप विष्ट

हेटौंडा — ‘युद्धवीर’ को आज जन्मदिन हो । उनी उमेरले १७ टेके । सन्तानको जन्मदिन आफू पनि आमाको रूपमा जन्मिएको अर्थमा हरेक आमाका लागि विशेष हुने गर्छ । तर युद्धवीरका हरेक जन्मदिनमा आमा ज्योमाया बजूका आँखा रसाउँछन् ।

झुरझुरे भिडन्तका साक्षी ‘युद्धवीर’

हेटौंडाबाट करिब ५५ किलोमिटर पूर्वमा पर्छ, वाग्मती गाउँपालिका–४ (साविकको फापरबारी–१) झुरझुरे । २०६२ माघ ८ को साँझ ६ बजेदेखि तत्कालीन शाही नेपाली सेना र विद्रोही माओवादीबीच भिडन्त सुरु भएको थियो । झन्डै १२ घण्टासम्म चलेको भिडन्तमा ३ सर्वसाधारणसहित ३९ जनाको मृत्यु भएको थियो । ५० जनाभन्दा बढी घाइते भएका थिए । उक्त भिडन्त सुरु हुनु झन्डै २ घण्टाअघि मात्रै जन्मिएका हुन् युद्धवीर ।

झुरझुरेको थलीलाई आफ्नो सुरक्षित किल्ला बनाएर बसेको माओवादीले फापरबारीमा खोजतलास गर्दै आएको सरकारी सुरक्षा टोली थलीमा प्रवेश गरेपछि दोहोरो भिडन्त भएको थियो । सेनाले हेलिकोप्टरबाट बमबारी पनि थाल्यो । त्यसै क्रममा ज्योमायाको घरमा आगो लाग्यो । युद्धवीरलाई जन्म दिएर उनी घरको भुइँतलामा नवजात शिशु च्यापेर सुतिरहेकी थिइन् ।

सुत्केरी बुहारीलाई मासु खान दिएर घरमै आराम गरिरहेका ८५ वर्षीय ससुरा प्रतापसिंह बजू वरिपरि लगातार बन्दुक पड्केको आवाज सुनिन थालेपछि आत्तिँदै बाहिर निस्केर कराउन थाले । त्यसै क्रममा गोली लाग्दा उनी आँगनमै ढले । तर, ससुराको मृत्यु भएकोबारे ज्योमाया बेखबर थिइन् ।

काठेघरको छाना हुरहुर बल्न थालेपछि उनी नवजात शिशु (युद्धवीर) लाई ओछ्यानमै छाडेर जंगल पसेकी थिइन् । श्रीमान् प्रतापसिंह आँगनमै ढलेको देखेपछि होसहवास गुमाएर आगलागी भएको घरमै रुँदै बसिरहेकी माइलीमाया बजु र नवजात युद्धवीरलाई माओवादीका दुई छापामारले उद्धार गरी जंगलतर्फ लगेका थिए । जन्मेको २ घण्टामै शाही सेना–माओवादी भिडन्तले बिछोडिएका आमा र छोराको भेट १७ घण्टापछि मात्र सम्भव भएको थियो ।

त्यतिबेलासम्म युद्धवीर जन्मिएको घर खरानीमा परिणत भइसकेको थियो । ससुरा प्रतापसिंहको शव आँगनमै रगताम्मे अवस्थामा थियो । घरभित्र रहेका अन्नपात, लुगाफाटा, भाँडाकुँडा मात्र होइन, गोठमा बाँधिएका १० वटा बाख्रा र दुई हल गोरुलाई समेत आगोले पचाइसकेको थियो ।

भिडन्तमा खरानी बनेका ज्योमायासहित अन्य २ गाउँलेका घरसमेत माओवादी छापामारले घटनाको ३ महिनाबीचमै पुनर्निर्माण गरिदिएका थिए । आगलागीबाट बचेको एक स्थानीयको घरको फल्याकमा गोलीले पारेका प्वालहरूले अझै पनि झुरझुरे भिडन्त स्मरण गराउँछ । त्यसबाहेक युद्धवीर अर्का साक्षी र पीडित दुवै हुन् । दोहोरो भिडन्तको पूर्वसन्ध्यामा जन्मेका र जोगिएका उनको नाम एक वर्षपछि स्थानीयको उपस्थितिमा माओवादी लडाकुले नै झुरझुरे युद्धको स्मरणस्वरूप ‘युद्धवीर’ राखेका हुन् । युद्धवीर स्थानीय देवकी माविमा कक्षा ९ मा पढ्छन् ।

घटनाको भोलिपल्ट दिउँसो माहोल शान्त भएपछि जंगलबाट नवजात शिशुलाई दूध चुसाउने आसमा ज्योमाया घर फर्किन् । घर खरानीमा परिणत भएको देखेपछि उनलाई लाग्यो छोराको इहलिला सकियो । तर ज्योमाया घर आएको देखेपछि माओवादी छापामारले नवजात युद्धवीरलाई जंगलबाट ल्याएर उनको जिम्मा लगाए । त्यसपछि भने ज्योमायाको साहस र आत्मबल केही बढ्यो ।

उक्त भिडन्तमा फापरबारी लम्कनाका ६ वर्षीय बालकसहित ३ सर्वसाधारण मारिएका थिए । माओवादीतर्फ २८ जना र शाही नेपाली सेनाका ८ जनाले ज्यान गुमाए । २ दर्जनभन्दा बढी चौपाया जलेर मरे । ‘युद्धवीरको जस्तो पीडा अब कसैले भोग्न नपरोस्,’ झुरझुरेका रामबहादुर बजूले भने, ‘लडाइँमा महिला र बालबालिका अनायासै पीडित हुँदा रहेछन् ।’ रामबहादुर उक्त घटनाका प्रत्यक्षदर्शी पनि हुन् ।

मुलुकको राजनीतिक परिवर्तनको गतिसँगै झुरझुरेको घाउमा पनि खाटा बस्दै गएको बताउँछन्, स्थानीय रहरमान थिङ । युद्धवीरलाई देखेपछि त्यही दिनको सम्झना आउने गरेको उनले सुनाए । उक्त भिडन्तमा माओवादीतर्फको नेतृत्व गरेका थिए, वर्षमान पुन र देवेन्द्र पौडेलले । सेनाको गोली लागेर घाइते भएका सर्केश घलान अहिले गाउँपालिका अध्यक्ष छन् ।

झुरझुरेस्थित युद्धस्थलमा गाउँपालिकाले सहिद पार्कको निर्माण कार्य थालेको छ । दोहोरो भिडन्तमा ज्यान गुमाउनेहरूको स्मरणमा गाउँपालिकाले सहिद पार्क निर्माण गर्न लागेको अध्यक्ष घलान बताउँछन् । पार्कमा सहिद स्तम्भ, भ्यु टावर, पिकनिक स्थललगायत निर्माण गर्न गाउँपालिका र प्रदेश सरकारले करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जनाए ।

प्रकाशित : माघ ८, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?