कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मन्त्री यादवको धम्कीपूर्ण अभिव्यक्ति : कांग्रेस महामन्त्री शर्माले दिए तीन विकल्प

काठमाडौँ — गौर नरसंहार दोहोर्‍याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको सार्वजनिक  अभिव्यक्तिप्रति सत्तारूढ दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि आपत्ति प्रकट गरेका छन् ।

मन्त्री यादवको धम्कीपूर्ण अभिव्यक्ति : कांग्रेस महामन्त्री शर्माले दिए तीन विकल्प

कोरोना संक्रमणपछि आइसोलेसनमै बसेका महाममन्त्री शर्माले राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका छन् ।

त्यस्तै विगतका हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्ने र त्यसलाई रोमान्सको अभिव्यक्ति बनाउन नहुने पनि शर्माले बताएका छन् । उनले मन्त्री यादवको विवादित अभिव्यक्तिका बारेमा तीन विकल्प दिएका छन् । मन्त्री यादवले भूल स्वीकार गरी क्षमायाचना गर्नुपर्ने उनले दिएको पहिलो विकल्प हो । त्यस्तै सम्बन्धित दलले पहलकदमी लिएर राजीनामा गराउनुपर्ने उनको दोस्रो विकल्प हो । यदि त्यसो पनि नभएमा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ ।

उनले दिएका विकल्प यस्ता छन्

१) स्वयं व्यक्तिद्वारा भूल स्वीकार र क्षमायाचना !

अथवा..

२) सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा !

अथवा..

३) पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त

बुधबार रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्ष्य गर्दै गौर घटना दोहोरिने धम्की दिएकी हुन् । उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र निन्दा भइरहेको छ । बर्खास्तीकै मागसमेत उठिरहेको छ । बर्खास्त गर्ने अधिकार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने दुई दिन बितिसक्दा पनि मौन छन् । सर्वत्र आलोचना भइरहँदासमेत सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । मन्त्री यादवकै दल जनता समाजवादी पार्टी पनि बेखबर जस्तै छ ।

रौतहटको गौरमा २०६३ चैत ७ मा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताको आक्रमणबाट माओवादीका २७ कार्यकर्ताको ज्यान गएको थियो । घटनाको अनुसन्धान फाइल राजनीतिक दबाब र प्रभावमा अघि नबढाइँदा आरोपित कानुनी दायरामै आएनन् ।

प्रकाशित : माघ ८, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?