कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

देशभर करिब ९ सय स्वास्थ्यकर्मी संक्रमित : मन्त्रालय

कतिपयले घरमै एन्टिजेन परीक्षण गराउने भएकाले तथ्यांकमा आएको संख्याभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भएको अनुमान
बुनु थारु

कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा देशभर ८ सय ८८ स्वास्थ्यकर्मी संक्रमित बनेका छन् । पहिलो र दोस्रो लहरभन्दा तेस्रो लहरमा छोटो समयमै यत्ति धेरै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले बताएको छ ।

देशभर करिब ९ सय स्वास्थ्यकर्मी संक्रमित : मन्त्रालय

तर संक्रमित अझ बढी हुन सक्ने अनुमान गरिएको छ। धेरै स्वास्थ्यकर्मी संक्रमित भए पनि उनीहरुलाई अस्पताल भर्ना गर्नुपरेको छैन ।

पहिलो लहरको संक्रमण रोक्न आवश्यक रोकथामका उपायमा कमी थिए भने दोस्रो लहरमा स्रोत साधन भए पनि अक्सिजन तथा बेडको अभावले धेरैको ज्यान गएको थियो । पहिलो लहरमा १० जना स्वास्थ्यर्मीको मृत्यु भएको थियो भने ७ हजार ६९० जना संक्रमित बनेका थिए । त्यसैगरी दोस्रो लहरमा १ हजार ७७७ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो भने ४० जनाले ज्यान गुमाएका थिए। सेवा नरोकिए पनि स्वास्थ्यकर्मीको ड्युटी मिलाउन कठिन भइरहेको सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

त्रिवि शिक्षण अस्पतालमै हालसम्म ५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । अस्पतालका निर्देशक डा दिनेश काफ्ले भन्छन्, ‘धेरै जना स्वास्थ्यकर्मी संक्रमित भइरहेका छन् । सिफ्ट ड्युटी भएको स्टाफहरुलाई ड्युटी मिलाउन एकदमै कठिन भइरहेको छ । मिर्गौला प्रत्यारोपण, घुँडा प्रत्यारोपण एकदम कम संख्यामा भइरहेको छ ।’

स्वास्थ्यकर्मी भटाभट संक्रमित हुन थालेपछि अस्पतालले स्टाफ नभएका वार्ड खाली गरेर मर्ज गरेर चलाइएको उनले बताए । उनका अनुसार स्टाफ नै नपुगेर युरो वार्डको ओपीडी एकदिनका लागि बन्द नै गर्नुपरेको थियो । उपचारका लागि अस्पतालमा आउने लक्षणविहीन बिरामीको परीक्षण गर्दा धेरैमा पोजिटिभ देखिएको अस्पताल बताउँछ । डा काफ्लेले सेवाहरु प्रभावित भए पनि आवश्यक सेवा भने सञ्चालनमै रहेको बताए । उनले भने, ‘सजिलो पाटो के छ भने अक्सिजनको डिमाण्ड कम छ । इमरजेन्सीमा एक/दुई जनाबाहेक सबै स्टाफ पोजिटिभ छन् । त्यसले गर्दा चुनौती थपिएको छ ।' आइसोलेसन अवधि पूरा गरी कतिपय चिकित्सकहरु काममा फर्किँदैछन् । समस्या भएपछि २५ जना स्वास्थ्यकर्मी थप गरेको डा काफ्लेले बताए ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पनि अहिले ४५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित छन् । संक्रमित बढे पनि सेवा नरोकेको अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले बताए । ‘लक्षण भएकाले मात्र परीक्षण गर्न भनेका छौं। पहिलो लटमा संक्रमित भएकाहरु काममा फर्किन थालेका छन्,’ उनले भने, 'रेफर भएर आउने बिरामीले चाप भने बढेको छ । प्रसूतिमा नियमति अपरेशन गर्ने बिरामीहरुको पीसीआर परीक्षण गर्दा ६० देखि ७० प्रतिशत बिरामी पोजिटिभ आउँछन् । अस्पतालले कुपण्डोलमा रहेको कोभिड युनिटमा कोभिड पोजिटिभ गर्भवती महिलाहरुको डेलिभरी गरिरहेको छ भने नेगेटिभलाई अस्पतालको मुख्य भवनमा । दुई ठाउँमा सेवा सञ्चालन गर्दा समन्वय गर्न कठिन भइरहेको डा श्रेष्ठ बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार तथ्यांकमा जोडिएका स्वास्थ्यकर्मीको संख्या योभन्दा पनि बढी हुन सक्छ । ‘हामीसँग रिर्पोटेड संख्या हो । यो भन्दा धेरै पनि छन् । कसैले घरमै पनि एन्टिनेन परीक्षण गरिरहेका हुन सक्छन्,' उनले भने, 'स्वास्थ्यकर्मी संक्रमित भएर सेवा नै बन्द गरेको त सुनेको छैन । सेवा डाइभर्ट गरेर भए पनि व्यवस्थापन गर्ने काम त भइरहेको छ ।'

मन्त्रालयले केही हप्ताअघि कोरोना रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति थप्न अनुरोध गरेको थियो । करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि आवश्यकताअनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सक्ने सबै अस्पताल तथा प्रयोगशालालाई मन्त्रालयले भनेको थियो ।

प्रकाशित : माघ ८, २०७८ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?