सुनाकोठीमा रहेको बालकुमारी मन्दिरको मूर्ति चोरी

लिला श्रेष्ठ

ललितपुर — सुनाकोठीस्थित बालकुमारी मन्दिरका पुजारी प्राणनाथ महर्जन सधैंझैं शनिबार साँझ आरती सकेर मन्दिरको सबै ढोकामा ताला लगाई घर फर्किए । बेलैमा खाना खाएर आराम गरेका प्राणनाथ दिनहुँझैं आइतबार बिहान ४ बजे पनि नित्यपूजाका लागि सुनाकोठीवासीको मुख्य देवता बालकुमारी मन्दिर पुगे ।

सुनाकोठीमा रहेको बालकुमारी मन्दिरको मूर्ति चोरी

मन्दिर पुग्दा अरू बेलाको जस्तो अवस्था रहेन, मन्दिरको मूल गेट, चेन गेट, अर्को मूल गेट र माथिल्लो तलाको भित्री गेट चारवटै ढोका खुला देखे ।

ढोका खुला देखेपछि उनी सरासर माथिल्लो तला पुगे । त्यहाँ पुग्दा प्राणनाथले आसनमा बालकुमारीको मूर्ति देखेनन् । ‘म आत्तिएँ, मन बेचैन भयो, मन्दिर परिसरमा आएर चिच्याएँ, गुहार मागें,’ उनले भने, ‘अनिष्ट भएको खबर गरें, सबैजना जम्मा हुनुभयो, वडाध्यक्षलाई बोलाएँ ।’ मन्दिर परिसरमा आइतबार दिनभरि नै स्थानीय बासिन्दाको भीडभाड देखिन्थ्यो ।

ललितपुर–२७ सुनाकोठी चपाफलस्थित बालकुमारी मन्दिरको मूर्ति शनिबार राति चोरी भएको छ । मन्दिरको चारवटै ढोकाको ताला फोडेर मूर्ति चोरी भएको ललितपुर–२७ का वडाध्यक्ष बाबुराज महर्जनले बताए । ‘फलाम काट्ने कैंचीले ताला काटेर तालासहित करिब साढे दुई फिट अग्लो बालकुमारीको ढलौटको मूर्ति चोरी भएको छ,’ उनले भने । मंसिर पूर्णिमा र चैत पूर्णिमाका दिन बालकुमारी मन्दिरमा विशेष जात्रा मनाइन्छ ।

वर्षमा एकपल्ट चैत पूर्णिमाका दिन गणेश, कुमार, महादेव र बालकुमारीको भव्य खट जात्रा हुन्छ । उक्त खट जात्रा करिब ५ सय वर्ष पहिल्यैदेखि सञ्चालन भएको तथ्य छ । सोही जात्रा सञ्चालनको समयलाई आकलन गर्ने हो भने पनि बालकुमारी मन्दिर ५/६ सय वर्ष पुरानो हुन सक्ने स्थानीय एवं भृङ्गारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनले बताए । ‘जात्रा सञ्चालनको अवधिलाई हेर्ने हो भने पनि बालकुमारी मन्दिर ५ सय वर्ष पुरानो देखिन्छ, मूर्तिलाई खटमा राखेर नै जात्रा मनाइने हो,’ उनले भने, ‘बालकुमारी मन्दिरको अभिलेख, शिलालेख फेला परेको छैन ।’

उक्त मन्दिर गुठियारबाट सञ्चालित छ । मन्दिरको नित्यपूजा गुठियारमध्येकै ज्येष्ठ सदस्यबाट गरिँदै आएको छ । प्राणनाथका बुबा ९१ वर्षीय जगतबहादुर महर्जन गुठियारमध्येकै ज्येष्ठ सदस्य भएको र उनको सट्टा छोराले नित्यपूजा गर्दै आएका छन् । करिब ६ सय परिवार संगठित गुठीबाट सञ्चालन भएको बालकुमारीको मूर्ति चोरी हुनु लजास्पद विषय भएको स्थानीय बासिन्दाले बताए । पूजाआजाका क्रममा स्थानीय बासिन्दाले सुन, चाँदीलगायतका गरगहना पनि चढाउँदै आएका थिए ।

त्यस्ता गरगहना भने चोरी नभएको वडाध्यक्ष महर्जनले बताए । ललितपुर प्रहरीले मूर्ति चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ । ‘मन्दिर परिसरमा सीसी क्यामेरा जडान भएको पाइएन,’ ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले भने, ‘बालकुमारीको मूर्ति खोजी तथा थप अनुसन्धानका लागि डीएसपी दीपक भारतीको संयोजकत्वमा समिति गठन भएको छ ।’

प्रकाशित : माघ ९, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?