लकडाउनका कारण एक तिहाई परिवार आर्थिक सहयोगको खोजीमा: सर्वेक्षण

काठमाडौँ — कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउन र क्वारेन्टाइनका कारण बालबालिका रहेका एक तिहाई परिवार आर्थिक सहयोगको खोजीमा रहेको एक सर्वेक्षणले देखाएको छ ।

लकडाउनका कारण एक तिहाई परिवार आर्थिक सहयोगको खोजीमा: सर्वेक्षण

राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालले शेयरकाष्ट इनिसिएटिभसँगको सहकार्यमा गरेको सर्वेक्षणमा त्यस्ता परिवारले आर्थिक, रोजगारी, औषधि वा खाद्यान्न सहयोग आवश्यक रहेको बताएका छन् । त्यस्ता परिवारले लकडाउन तथा क्वारेन्टाइनका कारण बचतको प्रयोग गर्न र सरसापटी गर्न बाध्य भएको बताएका छन् ।

‘करिब प्रत्येक तीनमा एक परिवार आर्थिक सहायताको खोजीमा छन् । परिवारका प्रमुख आवश्यकतामा आर्थिक सहायता, रोजगारी, खाद्यान्न तथा औषधि रहेका छन्’ सर्वेक्षणको निष्कर्षमा भनिएको छ ‘बचत रकमको प्रयोग तथा सरसापटी गरी जीविकोपार्जन चलाएको हुनाले धेरै परिवार ऋणमा डुब्नुका साथै सम्पत्ति बेचबिखन गर्न बाध्य भएका छन् ।’

‘चाइल्ड एन्ड फेमिली ट्रयाकर’ नामको राष्ट्रिय सर्वेक्षणमा करिब ६ हजार परिवारका अभिभावकसँग टेलिफोनबाट अन्तर्वार्ता लिइएको थियो । सो सर्वेक्षण सन् २०२० मे देखि सन् २०२१ नोभेम्बरसम्म विभिन्न चरणमा गरिएको थियो ।

जसमा जनजीविका, स्वास्थ्य तथा सरसफाइ, बालबालिकाको शिक्षामा पहुँच, बालबालिकाको पोषण, स्वास्थ्योपचार, स्तनपान र गर्भवती महिलाको अवस्थाबारे प्रश्न सोधिएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतयता पटक पटक लकडाउन गरेको छ । नेपालमा अहिले कोरोना महामारीको तेस्रो लहर चलिरहेको बताइएको छ । अघिल्लो वर्षको असार/साउनमा गरिएको सर्वेक्षणमा भन्दा अवस्थामा सुधार आए पनि धेरै परिवारलाई गरिबीतर्फ धकेलोको सर्वेक्षणको निष्कर्ष रहेको छ ।

‘जुलाइ २०२० मा गरिएको सर्वेक्षण अनुसार बालबालिका भएका ६० प्रतिशतमा घरपरिवारले आम्दानी र जीविकोपार्जनका माध्यम गुमाएको पाइएको थियो’ निष्कर्षमा भनिएको छ ‘त्यसपछि चरणगत रुपमा गरिएका सर्वेक्षणहरूले यो प्रतिशतमा सुधार आएको देखाएता पनि धेरै परिवार गरिबीतिर धकेलिने जोखिम अत्याधीक छ । सन् २०२१, नोभेम्बरसम्म आइपुग्दा गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या ३० प्रतिशत रहेको देखिन्छ ।’

यस्तै सर्वेक्षणमा सहभागी रहेका २० प्रतिशत परिवारले दैनिक गुजाराका लागि संघर्ष गर्नु परेको बताएका छन् । उनीहरूले पैसाको अभाव र खानेकुराको आपूर्ति देखिएको समस्यालाई त्यस्तो भएको बताएका हुन् ।

त्यसैगरी १० परिवारले यस अवधिमा पहिलेभन्दा केटाकेटीलाई कम खान दिएको समेत बताएका छन् । यस अवधिमा आफ्ना केटाकेटीहरू पढाइमा कमजोर बनेको र भर्चुअल माध्यमबाट अध्ययन र गृहकार्य गर्न अपाङ्ता भएका बालबालिकालाई समस्या भएको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणका निष्कर्ष

१. जुलाइ २०२० मा गरिएको सर्वेक्षण अनुसार बालबालिका भएका ६० प्रतिशतमा घरपरिवारले आम्दानी र जीविकोपार्जनका माध्यम गुमाएको पाइएको थियो । त्यसपछि चरणगत रुपमा गरिएका सर्वेक्षणले यो प्रतिशतमा सुधार आएको देखाए पनि धेरै परिवार गरिबीतिर धकेलिने जोखिम अत्याधीक छ । सन २०२१, नोभेम्बरसम्म आइपुग्दा गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या ३० प्रतिशत रहेको देखिन्छ ।

२. करिब तीनमा एक परिवार आर्थिक सहायताको खोजीमा छन् । परिवारका प्रमुख आवश्यकतामा आर्थिक सहायता, रोजगारी, खाद्यान्न तथा औषधि रहेका छन् । बचत रकमको प्रयोग तथा सरसापटी गरी जीविकोपार्जन चलाएको हुनाले धेरै परिवार ऋणमा डुब्नुका साथै सम्पत्ति बेचबिखन गर्न बाध्य भएका छन् ।

३. सर्वेक्षण अनुसार ६० प्रतिशत अविभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउन निश्चिन्त हुनुका साथै ८० प्रतिशतले बालबालिका पढाइमा कमजोर भएको अनुभव गरेको पाइएको छ । अपाङ्गता भएका बालबालिकाहरूले भर्चुअल सिकाइका क्रममा गृहकार्य गर्न चुनौती भोग्नुका साथै उनीहरू पछि पर्ने सम्भावना बढी हुन्छ । केवल ६२ प्रतिशत उत्तरदाताले तिनीहरूका बालबालिकाहरूको विद्यालयमा हात धुने सुविधा भएको र केवल २५५ ले मात्रै विद्यालयका कक्षा कोठाहरूमा शारीरिक दूरी अभ्यास गरेको पाइयो ।

४. पैसाको अभाव र खाद्यान्न आपूर्तिमा अवरोधका कारण पाँचमध्ये एकभन्दा बढी घरपरिवारले खानाको लागि संघर्ष गरिरहन्छन् । सन २०२१, नोभेम्बर महिनामा गरिएको सर्वेक्षणमा २१ प्रतिशत उत्तरदाताले भरपेट खानका लागि दैनिक संघर्ष गरिरहेको बताएका थिए भने सर्वेक्षणमा सहभागी ११ प्रतिशत परिवार र उनका बालबालिकाले पहिलाको तुलनामा कम खाना खाने गरेको पाइयो ।

५. १५ प्रतिशत उत्तरदाताले समुदायमा महिला तथा बालबालिकामाथि हिंसा भएको देखेको भनेका छन् भने महिला तथा बालबालिकामाथि हिंसा भएको देख्नेको संख्या बढ्दै गएको छ । महिलाविरुद्ध हिंसाका सवालमा प्राप्त भएका रिपोर्ट गरिएका हिंसात्मक व्यवहारहरूका सवालमा घरेलु हिंसा, चिच्याउने र अपमान तथा धम्की दिने जस्ता कार्यहरू प्रमुख छन् । छोरीहरूले बालविवाह गर्न बाध्य भएको र शिक्षामा भेदभाव् भोग्दै छन् भने छोराहरूले आर्थिक शोषणका साथै शारीरिक हिंसा र धेरै गाली खाने गरेका छन् ।

६. महामारीअघि आफ्ना बालबालिकाको पढाइमा संलग्न हुने अभिभावकको संख्या ३० प्रतिशतभन्दा बढी थियो । सन २०२० मार्च महिनामा गरिएको पहिलो लकडाउन पछिका एक महिनामा करिब आठ प्रतिशत बालबालिकाहरूले आफ्नो परिवारलाई मद्दत गर्न काम गरिरहेका थिए । बालश्रमको दर घटेको विभिन्न तथ्याकंले देखाए पनि पछिल्लो तथ्याङ्कले भने बालश्रममा बृद्धि भएको देखाएको छ । किनकि उत्तरदाताहरूमध्ये १० प्रतिशतले बालबालिकाले काम गरिरहेको बताएका छन् ।

७. ८४ प्रतिशत उत्तरदाताले कोभिड १९ को महामारीबाट बच्न चाडपर्व र त्यसयताका समयमा मास्क नियमित लगाउने गरेको बताएका छन् । साथै सन् २०२१ नोभेम्बर महिनासम्म उत्तरदातामध्ये ७१ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको सर्वेक्षणले देखाएको छ ।

प्रकाशित : माघ ९, २०७८ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?