१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नोबेल कलेजविरुद्धको आन्दोलन रोक्न विद्यार्थी संगठनलाई प्रशासनको निर्देशन

देवनारायण साह

मोरङ — नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगित गर्न निर्देशन दिएको छ ।

नोबेल कलेजविरुद्धको आन्दोलन रोक्न विद्यार्थी संगठनलाई प्रशासनको निर्देशन

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले स्थगित गर्न निर्देशन दिएको हो ।

प्रजिअ दाहालले पठाएको पत्रमा नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्कको विषयमा अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिसकेकोले पनि आन्दोलनको औचित्य नभएको भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले एक साताभित्र अनुसन्धान गरेर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको पाइए कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार आन्दोलनरत विद्यार्थी संगठनहरूसँग छलफल गरेर जिल्ला प्रहरी कार्यालयलाई अतिरिक्त शुल्क असुलेको विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउने निर्णय गरी पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले एक साताभित्र अनुसन्धान गरेर अतिरिक्त असुली लिएको पाइए कारबाहीको दायरामा ल्याउने बताए । कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर मंसिर १९ गतेदेखि न्यायका लागि संघर्ष गर्दै आएका छन् ।

पीडित विद्यार्थीहरूको आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियान समर्थन जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । पठनपाठनमा रोक लगाएपछि विद्यार्थी संगठनको सहयोगमा पीडित विद्यार्थीहरूले कलेज प्रशासनमा पुस २१ गते तालाबन्दी गरेर रिले अनसन बस्दैआएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क बाहेकको काठमाडौं विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफिलिएसन शुल्क ९८ हजार ५७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीहरूले बताए ।

उक्त शुल्क विद्यार्थीहरूलाई आफैं विश्वविद्यालयको नेपाल बैंक लिमिटेल र इन्भेष्टमेन्ट बैंक र काउन्सिलको एसबीआई बैंकको खातामा र होस्टेल शुल्क कलेजको बैंक खातामा जम्मा गर्न लगाएको हो ।

आन्दोलनरत विद्यार्थी संगठनहरूले तोकेभन्दा एक रुपैयाँ पनि बढी विद्यार्थीसँग असुल्न नपाउने र छात्रावास ऐच्छिक हुनुपर्ने माग गर्दै आए पनि कलेजले विद्यार्थीका अभिभावकलाई डर, त्रास देखाएर उक्त शुल्क असुलेर विद्यार्थी भर्ना गराइरहेको गुनासो आउने गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

प्रकाशित : माघ ९, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?