लुम्बिनी गुरुयोजना नमिच्न माग

लुम्बिनी —  सार्वजनिक सूचना नै ननिकाली लुम्बिनीको ‘क्याम्पिङ ग्राउन्ड’ रिसोर्ट निर्माणका लागि व्यक्तिलाई दिन लागिएकामा स्थानीयले विरोध गरेका छन् । त्यस क्षेत्रमा लुम्बिनी विकास कोष गुरुयोजनाविपरीत काम गर्न नहुने उनीहरूको माग छ । 

लुम्बिनी गुरुयोजना नमिच्न माग

पर्यटनमन्त्री प्रेम आलेकै पहलकदमीमा गुरुयोजना क्षेत्रको चार बिघा जग्गा कोषले सम्सारा वेलनेस रिसोर्टलाई दिने प्रक्रिया अघि बढाएको छ । कम्पनी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यकी छोरी सभाना वैद्य बस्न्यातको स्वामित्वमा छ । आध्यात्मिक ऊर्जा लिन आउनेलाई उत्प्रेरित गर्ने संरचना बनाउनुको सट्टा व्यावसायिक स्वार्थ पूर्तिका लागि जग्गा दिन लागिएको स्थानीय मिथुनमान श्रेष्ठले बताए ।

‘क्याम्पिङ ग्राउन्डलाई गुरुयोजनाअनुसार बनाउन खुला प्रतिस्पर्धामा लैजानुपर्थ्यो,’ उनले भने, ‘यसो नगर्दा कोष पदाधिकारीमाथि नै प्रश्न उब्जिएको छ ।’

लुम्बिनी क्षेत्रका नौ गाउँका गरिब विपन्नले खुन–पसिना बगाएर जोडेको जग्गा लुम्बिनीलाई विश्वकै आध्यात्मिक केन्द्र बनाउन दिएको स्थानीय लीलामणि शर्माले बताए । ‘लुम्बिनी गुरुयोजनाको १ हजार १ सय ९० बिघा जनताको जमिन हो,’ उनले भने, ‘त्यसलाई व्यक्तिगत रूपमा उपयोग गर्नु राम्रो होइन ।’ सरकारलाई विश्वास गरेर स्थानीयले दिएको जग्गा अहिले दुरुपयोग हँदा जनस्तरबाट विरोध हुनु स्वाभाविक भएको उनले बताए ।

लुम्बिनी विकास कोषलाई संयमित र जिम्मेवारीबोध गराउन एवं अहिलेसम्म भएका कमी–कमजोरी र त्रुटि पत्ता लगाउन एउटा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने व्यवसायी हेमबहादुर विष्टले बताए ।

‘गल्ती–कमजोरी गर्दै जाने र कारबाही नहुने प्रवृत्तिका कारण विकृतिले प्रश्रय पाएको छ,’ उनले भने, ‘गुरुयोजनाविपरीत काम गर्नेलाई कारबाही हुनुपर्‍यो ।’ सरकार परिवर्तनपिच्छे स्वार्थ समूहले मन्त्रीलाई दबाब र प्रभावमा पारेर लुम्बिनीमा जथाभाबी काम गराइरहेको आरोप स्थानीय पिन्टु बनियाले लगाए ।

सम्बन्धित समाचार

प्रकाशित : माघ १०, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?