कोरोना घरघरै छ तर सतर्कता छैन

सन्जु पौडेल

लुम्बिनी — कोरोना संक्रमणको तेस्रो लहरका कारण लुम्बिनी प्रदेशका घरघरै बिरामी छन् । कोरोनासँग मेल खाने लक्षणका बिरामी धेरै छन् । स्वास्थ्यमा जटिल समस्या नदेखिएकाले सर्वसाधारण लक्षण भए पनि अस्पताल गएका छैनन् । यो लहरमा न त संक्रमणको डरले सर्वसाधारण ‘आतंकित’ बनेका छन्, न संक्रमितलाई पहिलेजस्तो ‘असभ्य’ व्यवहार नै गरिएको छ ।

कोरोना घरघरै छ तर सतर्कता छैन

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन यसअघिका भेरिएन्टभन्दा बढी संक्रामक भएको चिकित्सकहरूले बताइरहे पनि सार्वजनिक स्थल, बजारमा भीड घटेको छैन । सार्वजनिक यातायातका साधनमा समेत यात्रु कोचिएरै यात्रा गरिरहेका छन् । माघ लागेयता त रूपन्देहीमा धमाधम विवाहका कार्यक्रमसमेत गर्न थालिएको छ ।

विभिन्न संघसंस्थाले गरेका कार्यक्रम, खुला स्थान र बसपार्कमा मानिसको उपस्थिति बाक्लै छ । मास्क लगाउने, भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य मापदण्ड उतिसारो पालना भएको देखिँदैन । ओमिक्रोनबाट संक्रमित भए पनि जटिल स्वास्थ्य समस्या ल्याउने अवस्था कम रहेको सुनिएको र दुवै मात्रा खोपसमेत लगाइसकेकाले घरबाहिर निस्किरहेको सर्वसाधारण बताउँछन् ।

तिलोत्तमा–३ का माधवकुमार पौडेल र उनको परिवार हालै मात्र संक्रमणमुक्त भयो । संक्रमण भएपछि स्वास्थ्यमा खासै समस्या नदेखिएको उनले सुनाए । पहिलेजस्तो कोरोना संक्रमित भन्नेबित्तिकै मानिस अगाडि देखा नै नपर्ने व्यवहार पनि उनीहरूले यसपटक सहनुपरेन । मानिसमा बिस्तारै रोगसँग घुलमिल हुँदै जाने बानी परेको उनको बुझाइ छ । ‘अहिले मानिसले लिभिङ विथ कोरोनाको धारणा बनाइसकेका छन्,’ उनले भने, ‘ओमिक्रोन देखा परेपछि अब कोरोनासँग भागेर, लुकेर साध्य छैन भन्ने भएको छ । सचेतनाको अवस्था भने मिश्रित तरिकाको छ ।’ भीड हुने स्थानमा मानिसले त्यति धेरै सावधानी अपनाएको नदेखिएको उनले सुनाए ।

अघिल्ला लहरमा घरमै बसेर जोगिएको र अहिले त संक्रमित भएजस्तै महसुस नभएको सिद्धार्थनगर–८ की शोभा गौतमले बताइन् । उनले हिजोआज ‘संक्रमण जोखिम कायम छ, खतरा टरेको छैन’ भन्ने सोच नै नआउने बताइन् । ‘यसभन्दा अघि घरमा चाहिने सामान किन्न जाँदा पनि डरले मुटु काँप्थ्यो,’ उनले भनिन्, ‘यसपटक बाँचिन्छ केरे भन्ने भएको छ ।’ संक्रमण भइहाले पनि धेरै समस्या हुँदैन भन्ने सुनेकाले नआत्तिएको र पसल, यातायातका साधनमा सहज तरिकाले हिँडिरहेको उनले बताइन् । कोरोनाविरुद्धको खोप लगाइसकेको भएर पनि त्यति त्रास नभएको उनको भनाइ थियो ।

रूपन्देहीमा ३ वटा अस्पतालमा संक्रमितको उपचार हुने गरी प्रदेश सरकारले समन्वय गरेको छ । अघिल्ला २ लहरमा यी अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ खाली नभएरै कतिको ज्यान गयो भने कतिलाई जिल्लाबाहिर लैजाने अवस्था आयो । तर अहिले बिरामीको संख्या न्यून छ । भर्ना भएका बिरामी उपचारपछि घर जाने स्थितिका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित कोरोना वार्डमा ३२ जना बिरामीको उपचार भइरहेको अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए ।

खोप लगाएका र रोगसँग लड्ने क्षमता भएका मानिसलाई नयाँ भेरिएन्ट लाग्दा अवस्था असहज नदेखिए पनि उनीहरूबाट अन्यमा सर्दा ती मानिसको रोगसँग लड्न सक्ने क्षमता कमजोर पनि हुन सक्ने डा. पाठकको भनाइ छ । ‘ओमिक्रोन नै भएकाले केस जटिल छैन भन्ने पनि होइन,’ उनले भने, ‘संख्या बढी र मृत्युदर कम हुनुले भेरिएन्ट नै नयाँ भनेर प्रमाणित गरिहाल्ने स्थिति छैन ।’

प्रकाशित : माघ १०, २०७८ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?