कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लुम्बिनीमा खोप र सिरिन्ज अभाव

लुम्बिनी‚ पाल्पा‚ बाँके — लुम्बिनी प्रदेशमा खोप र सिरिन्ज अभावले कतिपय ठाउँमा खोप कार्यक्रम स्थगित भएको छ । केही जिल्लामा उमेर समूहअनुसार खोप उपलब्ध भएको छैन । जसले गर्दा लक्षित समूह खोपबाट वञ्चित भइरहेका छन् ।

लुम्बिनीमा खोप र सिरिन्ज अभाव

कपिलवस्तुमा आवश्यक खोप सकिएपछि तीन दिनदेखि खोप कार्यक्रम रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए । ‘हामीकहाँ उपलब्ध खोप संख्या सकियो,’ उनले भने, ‘१/२ दिनमा पाइने आश्वासन प्राप्त भएको छ ।’ तत्काल १ लाख मात्रा खोप आवश्यक रहेको उनले बताए । जिल्लामा ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दोस्रो मात्रा लगाइसकेका छन् ।’ माघ १६ देखि जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई दोस्रो डोज लगाउने सूचना गरिएको थियो । ‘खोप पर्खिने कामबाहेक अन्य केही गर्न सकिएन,’ उनले भने ।

रूपन्देहीमा भने खोपसँगै आउने सिरिन्ज अभाव भएकाले समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए । ‘खोपको मात्राजति सिरिन्ज नआउँदा समस्या भइहाल्छ,’ उनले भने, ‘सिरिन्ज र खोपको मात्रा बराबर पठाउनुपर्ने हुन्छ ।’ रूपन्देहीमा १७ वर्षमाथिका सबै जनाले खोपको पहिलो मात्रा लगाइसकेको उनले बताए ।

दोस्रो मात्रा पूरा गर्न भने सिरिन्ज अभाव छ । जिल्लामा अहिलेसम्म १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप नआएको उनले बताए । जिल्लाभर उक्त उमेर समूहका १ लाख २२ हजार जना छन् । उनीहरूलाई दुवै मात्रा आवश्यक छ ।

रुकुम पूर्वमा जिल्लाभर खोप कार्यक्रम जारी छ तर खोप केन्द्र पुग्न असहज र खोपप्रति चासो नदिएकाले धेरैले नलगाएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र बुढा क्षत्रीले बताए । ‘सार्वजनिक सेवा लिन जाँदा पनि खोप कार्ड अनिवार्य भनेपछि मात्रै खोप लगाउन भन्दै तर्खरिएका छन्,’ उनले भने, ‘लेकतिर गएका, चिसो र पानीले सडक अवरुद्ध भई आउन नसकेकाहरू पनि खोपबाट वञ्चित भएका छन् ।’ पश्चिम नवलपरासीका ९३ प्रतिशतले खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबारसम्म १२ वर्षमाथिका सबैलाई खोप लगाइएको कार्यालय प्रमुख ओमप्रकाश पन्थीले जनाए ।

प्यूठान र रोल्पामा पनि खोप लगाउने कार्य जारी छ । यी जिल्लामा माघ १६ गतेबाट १२–१७ उमेर समूहका बालबालिकालाई खोपको दोस्रो मात्रा लगाउने तयारी थालिएको स्वास्थ्य कार्यालयले जनाएका छन् । बाँकेमा ८२ प्रतिशतले खोप लगाइसकेका छन् । जिल्लाका ४ लाखमध्ये ७२ हजार ९ सय २५ जनाले अझै खोप लगाएका छैनन् । ‘त्यसैले हामी जोखिममा छौं,’ जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत नरेशबाबु श्रेष्ठले भने, ‘खोप नलगाएका व्यक्तिमा मृत्युदर बढी छ । त्यसैले खोप अभियानमा केन्द्रित छौं ।’

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये हालसम्म कोभिसिल्ड र एस्ट्रोजेनिका खोपको पहिलो मात्रा लगाउनेको संख्या ९ लाख १९ हजार ६ सय २२ पुगेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ । उक्त खोपको दोस्रो डोज ४ लाख २२ हजार ५ सय ५५ ले लगाएका छन् । त्यस्तै, भेरोसेलको पहिलो मात्रा १६ लाख १ सय ६७ ले लगाइसकेका छन् भने दोस्रो डोज १३ लाख ८१ हजार ५८ ले पाए । कोरोना फोकल पर्सन कौशल भण्डारीका अनुसार प्रदेशभरि जोन्सन लगाउनेको संख्या ३ लाख ६३ हजार ६ सय २८ रहेको छ । उनले फाइजर खोपको पहिलो मात्रा ५ हजार ३ सय ५९ र दोस्रो डोज ५ हजार १ सय १९ जनाले पाएको जनाए । मोडर्ना खोपको पहिलो डोज पाउने संख्या ३ लाख ४४ हजार १ सय ४ रहेको छ भने दोस्रो डोज पाउने ६७ हजार ८ सय ८८ रहेका छन् ।

प्रदेशमा खोप लगाउने जम्मा जनसंख्या ३८ लाख ९७ हजार ८ सय ३८ रहेकामा ६६ प्रतिशतले पूर्ण खोप पाएको भण्डारीले जानकारी दिए । स्टोरका कर्मचारीमा कोभिड संक्रमण भएकाले कुनै जिल्लामा खोप पुर्‍याउन नसकिएको उनको भनाइ छ ।

‘खोज र खोप’ अभियान सञ्चालन गरेको पाल्पा स्वास्थ्य कार्यालयलाई सिरिन्ज अभाव भएको छ । जसका कारण १८ वर्षमाथि मात्र होइन, १२ देखि १७ वर्ष उमेर समूहकालाई खोप लगाउन पनि समस्या भएको छ । तानसेनस्थित पाल्पा अस्पताल, रामपुर अस्पताल र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रको नियमित खोपबाहेक सबै स्थानीय तहमा सिरिन्ज अभाव छ । आइतबारदेखि प्रायः सबै स्थानीय तहमा खोप अभियान रोकिएको छ ।

‘पर्याप्त सिरिन्ज नभएपछि हामीले अभियान चलाउन सकेका छैनौं,’ स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले भने, ‘विदेश जाने र कोही अप्ठेरो भयो भन्नेलाई लगाउनबाहेक अभियान चलाउन सिरिन्ज समस्या छ ।’ प्रदेशमै अभाव भएकाले केही दिनका लागि खोप अभियानलाई रोक्नु परेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘शुक्रबार ७ हजार आएको थियो तर नगरपालिकाभित्रका विद्यार्थी र बगनासकालीका लागि अधिक लगाइयो,’ स्वास्थ्य प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘निस्दीका लागि १ हजार छुट्याएर बाँकी वितरण गरेका छौं ।’ निस्दी र बगनासकालीले विद्यार्थीको दोस्रो डोज खोप लगाउन पाएको थिएन । सबैभन्दा कम कभरेज भएको निस्दी गाउँपालिकामा माघ १४ गतेभित्र लगाउने कार्ययोजना बनाएको छ । निस्दीमा २ हजार ३ सय सिरिन्ज आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले जानकारी दिए ।

प्रकाशित : माघ ११, २०७८ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?