कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विभाजित मन्त्रालयका मन्त्री कामविहीन

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले पूर्वतयारीबिनै अनावश्यक रूपमा मन्त्रालय विभाजन गर्दा विभाजित मन्त्रालय र मन्त्रीहरु कामविहीन भएका छन् । प्रदेश सरकारले मंसिर १५ गते ८ मन्त्रालय विभाजन गरेर १४ वटा बनाएको दुई महिना पुग्दासमेत आवश्यक कर्मचारी, बजेट र संरचनाको अभावमा उनीहरु बेरोजगारझैं भएका हुन् । हाल वाग्मती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री गरी १८ जनामन्त्री छन् ।

विभाजित मन्त्रालयका मन्त्री कामविहीन

मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारको कामलाई प्रभावकारी बनाउन भन्दै सत्तारुढ गठबन्धनलाई खुशी बनाउन मन्त्रालय विभाजन गरे पनि हालसम्म मन्त्रालयले आवश्यकता अनुसार बजेट प्राप्त गरेका छैनन् । अघिल्लो डोरमणि पौडेल नेतृत्वको सरकारले ७ वटा मन्त्रालयको परिकल्पनाअनुसार बजेट ल्याएका थिए । हाल उक्त बजेट कार्यान्वन गर्नुपर्ने भएका कारण विभाजित मन्त्रालयले बजेट प्राप्त गरेका छैनन् । प्रदेश सरकारले पूरक बजेट ल्याएर मन्त्रालयगत रूपमा विभाजन गर्ने योजना बनाएपछि सम्भव नभएपछि हाल रकामान्तर गर्ने तयारी गरिरहेको छ ।

आफ्नो नेतृत्वमा रहेको मन्त्रालयले योजना र बजेट नपाएपछि विभाजित मन्त्रालयका अधिकांश मन्त्री हेटौंडा बस्दैनन् । विभाजित मन्त्रालयमध्ये कोरानो महामारी भएका कारण स्वास्थ्य मन्त्रालयको कामभने देखिरहेको छ । अन्य मन्त्रालयमा मन्त्री भेटिँदैनन् । मन्त्रालयमा मन्त्रीहरुले नियुक्त गरिएका कर्मचारीमात्र भेटिन्छन् । मन्त्रालयमा मन्त्री भेटिए पनि केहीबेर बसेर हिँडिहाल्ने गरेका छन् । कतिपय मन्त्रीहरु मन्त्रिपरिषद्को वैठकमा मात्र सहभागी हुनमात्र हेटौंडा आउने गरेका छन् । अन्य समयमा आफ्नै निर्वाचन क्षेत्रमा क्रियाशील भइरहेका छन् ।

‘धेरै मन्त्रीहरुको बजेट, संरचना र कर्मचारीको अभाव भएको गुनासो मन्त्रिपरिषद्को वैठकमा मुख्यमन्त्री समक्ष गरेका छन् । समस्या समाधानको उपाय खोज्छौं भन्ने जवाफदिनुभएको छ,’ एक मन्त्रीले भने । उनका अनुसार ४० प्रतिशत कर्मचारीको भरमा प्रदेश सरकार सञ्चालन गर्नुपर्ने अवस्था रहेका कारण यस्तो अवस्था सिर्जना भएको हो । ‘कर्मचारी संगठन संरचना निर्माण गरेका छौं । लोकसेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन समेत भनिएको छ,’ उनले भने । उनले बजेट बाँडफाँडको काम केहीदिनभित्र समाधा नहुने दाबी समेत गरे ।

वाग्मती प्रदेशमा एउटै मन्त्रालयलाई विभाजन गरेर ३ वटासम्म बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालयबाट टुक्रिएर बनेको श्रम, रोजगार तथा यातायात मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयहरू कामविहीन अवस्थामा छन् । तत्कालीन समयमा भौतिक पूर्वाधार मन्त्रालयलाई करिब ३८ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।

मन्त्रालय मातहतबाट हुनुपर्ने काम कारबाही नरोकिएको भए पनि सम्बन्धित मन्त्रालयले अख्तियारी नपाएको हुँदाअझैसम्म फुट्नुअघिको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट नै ती काम भइरहेको मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए । ‘मन्त्रालयहरू अलग भए पनि संरचना अलग भएर बजेट र योजना आउनै बाँकी छ,’ उनले भने, ‘छुट्टिएका मन्त्रालयबाट प्रशासनिक बाहेक अन्य काम भएको छैन ।’

यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका उनले भौतिक मन्त्रालयबाट विभाजित यातायात मन्त्रालय योजना हुने मन्त्रालय समेत नभएको भन्दै ऐन, नियमावली बनाउने र प्रशासनिक काम गर्ने कार्य भइरहेको बताए ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अहिले तीन मन्त्रालय बनेको छ । यस मन्त्रालयका कर्मचारी अहिले मन्त्रालयगत रुपमा बजेट बाँडफाँड गर्न व्यस्त छन् । ‘एउटा मन्त्रालयको बजेट केहीदिनभित्र तीनवटालाई बाँडफाँड गर्नेछौं,’ एक कर्मचारीले भने । ती कर्मचारीले दक्ष र प्राविधिककर्मचारीको अभावले लक्ष्यअनुसार काम गर्न भने गाह्रो अवस्था सिर्जना भएको बताए ।

प्रकाशित : माघ ११, २०७८ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?