कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्वास्थ्य मापदण्डको अझै बेवास्ता

लुम्बिनी, तनहुँ — पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको सीमावर्ती महेशपुर नाकामा सञ्चालित हेल्थ डेस्कमा खटिएकी स्टाफ नर्स सलोचनाकुमारी बानियाँ कोरोना संक्रमित बनिन् । हेल्थ डेस्कमा खटिएको तीन दिनमै उनमा संक्रमण पुष्टि भएको हो । ‘यसअघिका लहरमा दुई वर्ष पीपीई सेट, डबल मास्क, फेस सिल्ड सबै लगाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले पहिलेजस्तो डर नहुँदा संक्रमित हुन पुगियो ।’ 

पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेको भए संक्रमण हुन्थेन कि भन्ने सलोचनालाई अहिले लागेको छ । धेरै स्वास्थ्यकर्मी संक्रमित भएकाले नाकामा जनशक्ति अभाव भएको उनले बताइन् । ‘नाकामा धेरै संख्यामा स्वास्थ्यकर्मी छैनन्,’ उनले भनिन्, ‘बाँकी साथीहरू संक्रमित भएमा हेल्थ डेस्क कर्मचारीविहीन हुन्छ ।’ हेल्थ डेस्कमा आउने सेवाग्राही, नाकाबाट ओहोरदोहोर गर्ने यात्रुको भीडभाडले संक्रमण सरेको हुन सक्ने उनले सुनाइन् ।

स्थल मार्गबाट धेरै आउजाउ हुने रुपन्देहीको बेलहिया नाकामा खटिएका विक्रम कुँवर आइतबारदेखि आराम गरिरहेका छन् । उनी नाकामा स्क्रिनिङ गर्ने काम गर्थे । सधैं राती ड्युटी गर्दै आएका उनले गाउन, ग्लोब्स, बुट र मास्क लगाउँदा पनि संक्रमणले छाडेन । ‘दुई वर्षदेखि यही काम चलिरहेको छ,’ उनले भने, ‘विगतमा पनि संक्रमित भएको अनुभव थियो, पहिलेभन्दा सहज लागिरहेको छ ।’ अहिले गम्भीर लक्षण नदेखिएको उनले बताए । ‘हामीले मात्र ख्याल गरेर नहुने, कसैले स्वास्थ्य मापदण्ड पालना गर्दैनन्,’ उनले भने ।

कपिलवस्तुको तौलिहवा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडे संक्रमणलाई कमजोर आँकेर स्वास्थ्य मापदण्ड पालनामा लापरबाही गर्न नहुने बताउँछन् । स्वास्थ्य मापदण्ड पूरा गरेर बिरामी हेर्न खटिने भए पनि बिरामीको चापले गर्दा आफू संक्रमित बनेको उनको भनाइ छ । ‘कहाँ र कसरी भाइरस सर्‍यो भन्ने पत्ता लगाउन सकिएन,’ उनले भने, ‘२४ घण्टै पीपीई र बुट नलगाए पनि मास्क लगाएकै हुन्थें, हावा त जसरी पनि पसिहाल्ने, मानिस पछाडि, अगाडि, साइड जताततैबाट खोक्दै आउँथे । तिनै बिरामी जाँच्दा आफू संक्रमित भइयो ।’

संक्रमण सर्नुमा आम मानिसको चेतना स्तरले समेत भूमिका खेल्ने उनले बताए । केही बिरामी बिनामास्क आइदिने, बोल्ने र केही नजिकै आएर खोक्ने गर्दा आफ्नो स्वास्थ्य मापदण्डले काम नगर्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा ४ सय ८५ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ६९ फ्रन्टलाइनर (प्यारामाडिक्स, ल्याब टेक्निसियन), ४२ चिकित्सक र ७४ जना नर्स रहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । विभिन समयमा संक्रमण हुने र निको भई काममा फिर्ता हुने क्रम चलिरहेको उनले जानकारी दिए ।

‘स्वास्थ्यमै काम गर्ने भएकाले महामारीमा संक्रमित हुनु स्वाभाविक हो,’ उनले भने, ‘जोगिने प्रयास र जोगाउने प्रयास भने जारी राख्नुपर्छ ।’ बिरामीसँग नजिकबाट एक्सपोज हुने स्वास्थ्यकर्मी नै पहिलो भएकाले उनीहरू संक्रमणमा छिटो पर्ने गरेको भण्डारी बताउँछन् । बिरामीको हेरचाहमा खटिंदा आफ्ना स्वास्थ्य मापदण्डमा लापरबाही गर्न नहुने उनले सुझाए ।

स्वास्थ्यकर्मी बिरामीसँग धेरै घुलमिल हुनुपर्दा संक्रमणमा पर्ने स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनीका सचिव डा. विकास देवकोटाले बताए । संक्रमण भएका व्यक्तिले जानकारी नदिने, सम्भावित संक्रमित व्यक्तिले नजिकै आएर कुरा गर्ने गर्दा स्वास्थ्यकर्मीमा संक्रमण सरिरहेको उनको भनाइ छ । ‘स्वास्थ्यकर्मीलाई जोगाउन आमनागरिकले पनि भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘नागरिकको सेवामा खटिनेहरू प्रभावित भएमा उपचार सेवा पुर्‍याउन कठिनाइ हुन सक्छ ।’ चिकित्सक संक्रमित भए शल्यक्रिया र उपचारमा प्रभाव पर्ने, नर्स बिरामी परे बिरामीको हेरचाह रोकिने उनले जनाए । अहिले लुम्बिनी प्रदेशका सबै जिल्लामा जनशक्ति अभावको समस्या नदेखिए पनि स्वास्थ्यकर्मी संक्रमित भएर कपिलवस्तु, बर्दिया र पाल्पामा सेवा प्रवाहमा अप्ठ्यारो परेको छ ।

स्वास्थ्यकर्मीमा संक्रमण बढेपछि तनहुँका स्वास्थ्य संस्थाको सेवा प्रभावित हुन थालेको छ । व्यास नगरपालिकाद्वारा सञ्चालित पीसीआर प्रयोगशालाका कर्मचारी संक्रमित भएपछि पुष्टि हुँदा एक साताका लागि परीक्षण बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । प्रयोगशालामा कार्यरत ४ मध्ये ३ जनामा संक्रमण भएको हो । पीसीआर बन्द भए पनि प्रयोगशालामै एन्टिजेन परीक्षण भने भइरहेको छ ।

व्यास–१० दुम्सीस्थित पीसीआर प्रयोगशालाका कर्मचारी पनि संक्रमित हुन थालेपछि सेवा बन्द गर्नुपर्ने अवस्था आएको नगरपालिकाले जनाएको छ । यस्तै, दमौली अस्पतालका ५ कर्मचारीमा पनि संक्रमण देखिएको प्रमुख डा.सुनिल पौड्यालले बताए । ‘अस्पतालमा पहिल्यै जनशक्ति कम छ, भएका कर्मचारी पनि संक्रमित हुँदा सेवा प्रवाहमा जटिलता आइलागेको छ,’ उनले भने ।

शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका २ जना डाक्टरसमेत संक्रमित भएका छन् । ‘पछिल्ला दिन ज्वरो र रुघाखोकीका बिरामी बढिरहेका छन्,’ केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले भने, ‘संक्रमण नभएका डाक्टरले थप सिफ्ट समाल्नुपरेको छ ।’ जिल्लामा पुस २६ देखि हालसम्म ८३ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित : माघ १२, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?