कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

राष्ट्रिय सभा निर्वाचन : मतदान सुरु  

पोखरा, हेटौंडा, विराटनगर — राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्यका लागि बुधबार बिहान ९ बजदेखि मतदान सुरु भएको छ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रिय सभा निर्वाचन : मतदान सुरु  

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

यसैबीच राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । ३ सदस्यका लागि सत्तापक्षीय गठबन्धन र एमालेका गरी ६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय हातामा मतदान सुरु भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए । गठबन्धनबाट महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनारको उम्मेदवारी छन् ।

यसैगरी एमालेका तर्फबाट अन्य कोटामा पुण्यप्रसाद पौडेल, महिलामा लीला पोखरेल थनेत र दलिततर्फ अर्जुनकुमार सुनाम उम्मेदवारी रहेको छ । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एस गरी ५ दलिय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अन्य समूहबाट निर्वाचित माओवादी केन्द्रका दिनानाथ शर्मा (बागलुङ), दलित समूहका खिमकुमार विक (स्याङजा) र नेकपा एसकी शान्तिकुमारी अधिकारी जिसी (महिला समूहबाट बागलुङ) को ४ वर्षे कार्यकाल सकिन लागेकाले निर्वाचन हुन लागेको हो ।

गण्डकी प्रदेशमा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेशसभाका ५९ सांसद मतदाता छन । ६० सदस्यीय प्रदेशसभामा एकजना राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाइ पार्टीले कारबाही गरेपछि ५९ जना रहेका हुन् । प्रदेश सांसदको एकमत बराबर ४८ मतभार र स्थानीय तहका प्रमुख र उपप्रमुखको एकमत बराबर १८ मतभार कायम गरिएको छ ।

प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २/२ जना र एकजना स्वतन्त्र सांसद छन् । यसैगरी स्थानीय तहमा कांग्रेसका ८३, एमालेका ६९, माओवादी केन्द्रका १२, राजमोका ३, राप्रपाका २ र नेकपा एसका १ मतदाता छन् ।

...

त्यस्तै वाग्मती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा मतदान प्रक्रिया सुरु भएको छ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतीजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।

राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेका छन् । मतदातामा प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ रहेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेश सभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । जसअनुसार वाग्मतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

...

त्यस्तै प्रदेश १ मा तीन सदस्य चयनका लागि विराटनगरमा मतदान सुरु भएको छ ।

मतदानका लागि मतदान गर्न आएका जनप्रतिनिधिहरुले नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा निर्वाचित भएको प्रमाणपत्र देखाएर मतदान गरिरहेका छन् ।

यस प्रदेशमा मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्षका लागि प्रदेश निर्वाचन कार्यालय परिसरमा र प्रदेश सांसदहरुले बाली संरक्षण प्रयोगशाला मतदान केन्द्रमा मतदान गरिरहेका हुन् ।

प्रदेश १ मा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । सत्तारूढ गठबन्धन दलबाट जनता समाजवादी पार्टीले अल्पसंख्यक/अपांगमा भोजपुरका हेमराज राई थुलुङ, अन्यतर्फ कांग्रेसले झापाका गोपाल बस्नेत र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)ले भोजपुरकी जयन्ती राई उम्मेदवार छन् ।

यस्तै, एमालेबाट अन्यमा मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक/अपांगमा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा उम्मेदवार हुन् ।

यस्तै, राप्रपाका रन्जु प्याकुरेलले महिलामा र अमरबहादुर बिष्टले अन्य सदस्यका लागि उम्मेदवार छन् । राप्रपाले आफ्नो उम्मेदवारलाई मात्रै मतदान गर्ने निर्णय गरेको छ ।

यस प्रदेशको कूल मतभार ९ हजार ३१२ मा सत्तारुढ गठबन्धन दलको ५० जना प्रदेश सांसद र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष १२६ गरी कूल ४ हजार ६६८ मतभार रहेको छ ।

एमालेको प्रदेश सांसद ४१ र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष १४२ गरी कूल मतभार ४ हजार ५२४ रहेको छ ।

यस्तै, राप्रपाकी १ प्रदेश सांसद र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष ४ जना गरी कूल मतभार १२० रहेको छ ।

प्रकाशित : माघ १२, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?