२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतीय दूतावासले मनायो ७३औं गणतन्त्र दिवस

नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले पठाए शुभकामना सन्देश

काठमाडौँ — काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबार भारतको ७३औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । भारतीय राजदूतावासका अनुसार सोही कार्यक्रममा राजदूत क्वात्राले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

भारतीय दूतावासले मनायो ७३औं गणतन्त्र दिवस

राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ हजार रुपैयाँसहित कम्बल वितरण गरेर सम्मान व्यक्त गरेका थिए ।

मानवीय प्रयासका सबै क्षेत्रहरूमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘स्वतन्त्रताको अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।

उक्त महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरूको आयोजना गरिनेछ । नेपालमा उक्त महोत्सव मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरू यसै वर्ष उद्घाटन गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गणतन्त्र दिवसमा भारतलाई नेपालबाट शुभकामना सन्देश
भारतको ७३औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना सन्देश पठाएको छ । उक्त अवसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले शुभकामना सन्देश पठाएका हुन् । राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई, प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीलाई र परराष्ट्रमन्त्री खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरलाई छुट्टाछुट्टै शुभकामना सन्देश पठाएका हुन् ।

राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा भारतका राष्ट्रपति कोविन्दको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । साथै, राष्ट्रपति भण्डारीले स्वतन्त्रताको अमृत महोत्सवका रूपमा मनाइँदै आएको भारतको स्वतन्त्रताको ७५औं वर्षगाँठको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र सुखको कामना गर्दै भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक-आर्थिक विकासमा भारतको उल्लेखनीय उपलब्धि‚ प्रविधि र नवप्रवर्तनमा प्रभावकारी प्रगतिको प्रशंसा गरे । देउवाले आगामी दिनमा पनि सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री खड्काले भारतीय विदेशमन्त्री जयशंकर र भारतीय नागरिकलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित : माघ १२, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?