लिपुलेक कालापानी क्षेत्रको जनसंख्या ‘करिब ६ सय’

गणेश राई

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि अनुमानित जनसंख्या आकलन गरेको जनाएको छ ।

लिपुलेक कालापानी क्षेत्रको जनसंख्या ‘करिब ६ सय’

बुधबार प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तत्काल पालिकागत जनसंख्या मात्र सार्वजनिक गरिएको र वडा तहको पछिमात्र प्रकाशन गरिने बताए ।

‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भौतिक उपस्थितिमा जनगणना हुन सकेन,’ महानिर्देशक श्रेष्ठले भने, ‘तर इन्डाइरेक्ट टेक्निक्सहरू युज गरेर (प्रविधिको प्रयोग गरी) त्यहाँको प्रारम्भिक जनसंख्या पनि निकाल्न सकेका छौं । तथ्यांकमा समावेश भएको छ ।’ अहिले पालिकागत जनसंख्यामात्र सार्वजनिक गरिने भएकाले अन्तिम नतिजामा मात्र समेटिने उनले जनाए ।

विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार कालापानी क्षेत्रको जनसंख्या करिब ६ सय रहेको छ । ‘त्यस क्षेत्रको जनसंख्या पाँच सयदेखि ६ सयको बीचमा रहेको छ,’ उनले कान्तिपुरसित भने, ‘वडा तहसम्मको जनसंख्या यकिन गर्न बाँकी रहेकाले अहिले नै किटेर भन्न सक्ने अवस्था छैन ।’

२०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभाग जनगणना हुन सकेको छैन । अहिले लिम्पियाधुरा क्षेत्र भारतीय सेनाको कब्जामा छ । उतिखेरको जनगणनामा डोटी, बैतडी र डडेलधुरा जिल्लाको जोनल अफिसरका रूपमा खटिएका वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार लिम्पियाधुरा क्षेत्रका मानिसको संख्या १ हजार ५ सयजनाको हाराहारीमा थियो । त्यो जनगणनाले नेपालको कुल जनसंख्या ९४ लाख १२ हजार ९ सय ९६ जना देखाएको थियो । तर, केन्द्रीय तथ्यांक विभागमा उतिखेर लिइएको जनगणनाको खण्डिकृत तथ्यांकको रेकर्ड भेटिएको छैन ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काली नदीपूर्वका नाभी, गर्ज्याङ र बुँदी गरी तीन गाउँको क्षेत्र लिम्पियाधुरामा जिम्मेवारीपूर्वक जनगणना गराएको रिसाल सम्झिन्छन् । ‘लिम्पियाधुरामा तीन सय चानचुन गाउँ थिए र मानिसको संख्या १५ सयको हाराहारीमा थियो,’ धार्चुला हुँदै दार्चुला पैदल उक्लिएको उल्लेख गर्दै ६० वर्षअघिको जनगणनाबारे रिसालले यसअघि कान्तिपुरसित भनेका थिए, ‘त्यो हिमाली भेग हो । पातलो बस्ती छ । त्यहाँ सौका जाति बसोबास गर्छन् । त्यहाँका बासिन्दा जाडो याममा औलतिर झर्छन् । बर्खामासमा उक्लिन्छन् । करिब चार–पाँच सय घर थिए । हामीले घरपरिवार लगत पहिले लियौं, त्यसपछि व्यक्तिगत लगत भरेका थियौं ।’

नेपाल सरकारले २०७७ जेठ ४ गते नेपालको अद्यावधिक राजनीतिक प्रशासनिक नक्सा स्वीकृत गरी लागू गरेको छ । सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिअनुसार काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नेपाल राज्यको सिमानाभित्र देखिने गरी नक्सा निर्माण गरिएको जनाएको थियो । तर मित्रराष्ट्र भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत् समस्याको समाधान गर्न नसक्दा जनगणना कार्य भौतिक रूपमा हुन सकेन ।

विदेशमा करिब २२ लाख

त्यसैगरी पहिलो पटक विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत नेपाली कर्मचारी तथा तिनका आश्रित परिवार सदस्यको इसेन्स लिइएको थियो । जसमा संख्या करिब सात सय जना रहेको जनाइएको छ ।

त्यस्तै, विदेशमा रहेकाहरूको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको छ । जसमा पुरुष ८१ दशमलब २८ प्रतिशत र महिला १८ दशमलव ७२ प्रतिशत रहेको छ ।

प्रकाशित : माघ १२, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?