खानी उत्खननमा अनियमितता गरेको भन्दै भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

१ अर्ब २४ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

खानी उत्खननमा अनियमितता गरेको भन्दै भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे तथा ९ वटा कम्पनीका सञ्चालकसहित १८ जना विरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकम विगोसहित बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

चुनढुंगा उत्खननमा अनियमितता भएको आशंकामा अख्तियारमा उजुरी परेपछि अनुसन्धान अघि बढेको थियो । खानी सञ्चालकसग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारको ठहर छ । प्रतिवादी बनाइएका कसलाई कति बिगो कायम गरिएको छ भन्नेबारे केहीबेरमा जानकारी गराइने अख्तियारले जनाएको छ ।

अहिले अख्तियारका अनुसन्धान अधिकृतहरू मुद्दा लिएर विशेष अदालतमा पुगेका छन् । अदालत स्रोतका अनुसार अहिले फाइल रुजु गर्ने क्रममा रहेको छ । अख्तियारले मुद्दा दर्तापछि विवरण सार्वजनिक गरिने जनाएको छ ।

यसअघि पुस २६ मा मात्रै अख्तियारले वनका उपसचिव हेमराज विष्ट विरुद्ध करिब ७ करोड विगो मागदावी सहित विशेषमा मुद्दा दायर गरेको थियो ।

त्यसअघि मल खरिदमा भ्रष्टाचार गर्ने कर्मचारी र ठेकेदारमाथि पनि अख्तियारले मुद्दा चलाएको थियो । वनका कर्मचारीले त सरकारी सेवा प्रवेश गरेको २२ वर्षमा ८७ ठाउँमा जग्गा र २२ वटा घर बनाएको खुलेको थियो । सरकारी कर्मचारीहरू पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जनमा कसरी लाग्छन् भन्ने तथ्य उपसचिव विष्टमाथिको अनुसन्धानले पनि पुष्टि गरेको थियो ।

प्रकाशित : माघ १२, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?