२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एमाले पनि चुनाव केन्द्रित गठबन्धनतिर

एमाले अध्यक्ष ओलीले पाँचदलीय गठबन्धनसँग एक्लै भिड्न तयार रहेको लगातारका अभिव्यक्ति दिइरहेका बेला मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि भएको तालमेल अर्थपूर्ण
बबिता शर्मा

काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनप्रति आक्रामक अभिव्यक्ति र अनुदार नीति अपनाएको प्रमुख प्रतिपक्षी दल एमालेले पनि चुनाव केन्द्रित गठबन्धनको अभ्यास सुरु गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादीसँग तालमेल गरेर एमालेले आगामी तीनै तहका निर्वाचनमा चुनाव केन्द्रित गठबन्धनतिर जाने संकेत दिएको छ । 

एमाले पनि चुनाव केन्द्रित गठबन्धनतिर

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धन एकातिर भए पनि ऊसँग एमाले एक्लै भिड्न तयार रहेको लगातारका अभिव्यक्ति दिइरहेका बेला मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि भएको तालमेल अर्थपूर्ण रहेको नेताहरूको विश्लेषण छ । तालमेलले राष्ट्रिय सभा सदस्यको नतिजा आफूअनुकूल बनाउन नसक्ने अंकगणित हुँदाहुँदै पनि लोसपासँग सहकार्य गरेर एमालेले भविष्यमा गठबन्धन बनाउन सक्ने सन्देश दिएको छ ।

एमाले स्थायी कमिटी सदस्य रघुवीर महासेठ अरू पार्टीभन्दा लोसपासँग राजनीतिक एजेन्डामा मत मिल्ने हुँदा भविष्यमा गठबन्धन बन्ने सम्भावना रहेको बताउँछन् । ‘अहिले राष्ट्रिय सभाको निर्वाचनका लागि मात्रै गठबन्धन बनेको हो तर आज पनि हाम्रा राजनीतिका धेरै एजेन्डामा लोसपाको समर्थन छ, मत मिल्छ,’ उनले भने, ‘भविष्यमा पनि अहिलेजस्तै साथ दिनुभयो भने अरू पार्टीसँग भन्दा लोसपासँग गठबन्धनको सम्भावना बढी छ किनभने राजनीतिमा असम्भव भन्ने हुँदैन ।’

राष्ट्रिय सभा चुनावमा मधेस प्रदेशको नतिजा सत्ता गठबन्धनको पक्षमा गएको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भए । लोसपाले रूपाकुमारी यादवलाई र एमालेले उसमान अन्सारीलाई उम्मेदवार बनाएका थिए । हार्ने निश्चित हुँदाहुँदै पनि एमालेले किन मधेस प्रदेशमा लोसपासँग गठबन्धन बनायो ? एमाले र लोसपाका नेताहरू यसलाई रणनीतिक कदम मान्छन् । ‘नतिजा अनुकूल आउँदैन भन्ने स्पष्ट हुँदाहुँदै पनि अहिलेको सहकार्य भविष्यका चुनावमा गठबन्धन बनाउने आधार हो, यसले विश्वास र सन्देश दुवै दिन्छ,’ एमालेका एक पदाधिकारीले भने ।

अहिले एमालेका लागि मधेस प्रदेश केही कारणले रणनीतिक भूगोल हो भने त्यहाँ उसलाई गठबन्धन गर्ने नजिकको राजनीतिक शक्ति पनि छ । महन्थ ठाकुर नेतृत्वको लोसपासँग एमाले अध्यक्ष ओलीको केही समययता सहकार्य छ । संसद् विघटन गर्ने ओलीको कदमलाई तत्कालीन जसपा अध्यक्ष ठाकुरले समर्थन गरेका थिए भने उनीनिकट नेताहरू ओली नेतृत्वको सरकारमा सहभागीसमेत भएका थिए । यही विवाद बढ्दै गएपछि तत्कालीन जसपा विभाजन भएर ठाकुरको नेतृत्वमा लोसपा बनेको हो ।

‘राजनीतिमा सबै कुरा जित्नका लागि मात्रै गरिँदैन, हार्दा पनि त्यसको प्रतीकात्मक अर्थहरू हुन्छन्, आज लोसपाको निर्माण एमालेसँगको सहकार्यको कारणले भएको हो, एमालेको नेतृत्वमा रहनुभएका खड्गप्रसादजीले लोसपालाई देखाउन चाहनुहुन्छ कि यो परिस्थितिमा पनि हामी तपाईंसँग छौं,’ वरिष्ठ पत्रकार एवं लेखक चन्द्रकिशोर भन्छन्, ‘दोस्रो, एमालेका लागि अझै पनि मधेस प्रदेशमा चुनावी यात्रा चुनौतीपूर्ण छ । त्यसका लागि पनि उहाँले मधेस आन्दोलनसँग जोडिएको शक्तिलाई साझेदार बनाउन हौसिनुभएको छ । त्यसकै रूपमा राष्ट्रिय सभाको चुनावी तालमेललाई हेर्न सकिन्छ । यो आउने निर्वाचनलक्षित गतिविधि हो ।’

मधेसमा उपेन्द्र यादवको जसपा सरकारमा छ भने ठाकुर नेतृत्वको लोसपा विपक्षी दल हो । ‘पाँचदलीय गठबन्धन चुनावसम्मै गयो भने वैकल्पिक गठबन्धन त बन्छ नै,’ लोसपाका एक नेताले विश्लेषण गरे, ‘मधेस प्रदेशमा हामी र एमालेबीच सहकार्य भयो भने चुनावमा धेरै अर्थ राख्छ । भविष्यको ढोका खोल्न अहिले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहकार्य भएको हो । यसमा कुनै शंका गर्नु पर्दैन ।’

एमालेले मधेसबाटै वैकल्पिक गठबन्धन निर्माणको कोसिस गर्नु उसको बाध्यता पनि हो । उसले मधेसमा विभाजनको ठूलो धक्का व्यहोरोको छ । प्रदेशसभामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी एमालेभन्दा ठूलो शक्ति छ । यसले आगामी निर्वाचन एमालेका लागि मधेस प्रदेशमा सहज हुँदैन भन्ने सन्देश दिइसकेको छ । भर्खरै विभाजन भएको लोसपालाई पनि एक्लै चुनाव त्यति सहज देखिँदैन ।

लोसपाका नेता जितेन्द्र सोनलले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँगको गठबन्धनले राम्रो संकेत गरेको बताए । ‘चार–चार पार्टीको गठबन्धन हुँदा स्वाभाविक हिसाबले मतभार पनि धेरै थियो तर पनि हामीले राष्ट्रिय सभा निर्वाचनका लागि एमालेसँग गठबन्धन बनायौं, यसबाट हामीले राम्रो संकेत पायौं, हाम्रा मतदाता उत्साहपूर्वक सहभागी हुनुभयो । यद्यपि निर्वाचनमा हारजित हुन्छ,’ सोनलले भने, ‘अब यसपछिको बाटोबारे अहिले केही भन्नु हतार हुन्छ किनभने सरकारी गठबन्धन कसरी अगाडि बढ्छ, त्यो हेर्छौं । हाम्रा शीर्ष नेताहरूबीचमा पनि छलफल हुन्छ । जोसँग गठबन्धन बनाउनु छ, त्यो पार्टीको धारणा के आउँछ, त्यसपछि यस विषयमा निर्णय गरेर अगाडि बढ्ने स्थिति हुन्छ ।’

विभाजनमा धेरै धक्का खाएको मधेस प्रदेशमा आफ्नो शक्ति यथावत् राख्न एमालेका लागि सहज छैन । त्यसैले उसले लोसपालगायत शक्तिसँग सहकार्यको नीति लिएको हुन सक्ने कतिपयको विश्लेषण छ । लोसपाका अर्का एक केन्द्रीय नेता भन्छन्, ‘चुनाव हारजितको अंकगणित हो । यस्तोमा सीके राउतको जनमत पार्टीसँग सहकार्य भयो भने पनि अचम्म नमान्दा हुन्छ । त्रिपक्षीय सहकार्य हुँदैन भन्न सकिँदैन ।’ संयोग कस्तो छ भने सीके राउतले ओली प्रधानमन्त्री हुँदा सहमति गरेर मूलधारको राजनीति सुरु गरेका छन् । यद्यपि पृथकतावादी गतिविधि गरेको आरोप उनीमाथि कायमै छ ।

सार्वजनिक अभिव्यक्तिमा भने ओली आफैंले लगातार एमाले एक्लै चुनाव लड्ने दाबी गर्दै आएका छन् । पछिल्लो पटक पुस २३ मा एमाले जिल्ला अधिवेशन उद्घाटनलाई केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै उनले ‘एमाले कसैको बैसाखी टेकेर चुनाव नलड्ने, आफैँ जित्ने’ दाबी गरेका थिए । गठबन्धन र गठबन्धन सरकारप्रति एमालेले लगातार आलोचना गरिरहेको छ । सरकारको ६ महिना पुगेपछि ओलीले विज्ञप्ति निकालेर गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको दाबी गरेका थिए । यसबाहेक ओलीले यस अवधिमा शक्ति पृथकीकरण र राज्यका अंगहरूबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्ष गम्भीर रूपले समस्याग्रस्त बनेको दाबी गरेका थिए ।

निहित स्वार्थपूर्तिका लागि केही नेता र सर्वोच्च अदालतका पदाधिकारीको अवाञ्छित साँठगाँठबाट संविधानको अपव्याख्या गरिएको र त्यही अपव्याख्याको जगमा वर्तमान गठबन्धन सरकार बनेको ओलीको भनाइ छ । सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको, राष्ट्रिय हितको रक्षामा चुकेको, महामारीमा अकर्मण्य बनेको र जनतालाई न्यूनतम राहत दिन असमर्थ भएको एमालेको निष्कर्ष छ ।

गठबन्धन सरकारको ६ महिनामा राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको तथा अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरिरहेको एमालेको दाबी छ । अन्य पार्टीका नेता–कार्यकर्ता भित्र्याउने र चुनावमा बलियो शक्तिका रूपमा उदाउने एमालेको दाबी छ । यसका लागि उसले पार्टी प्रवेश अभियान नै चलाएको छ ।

प्रकाशित : माघ १३, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?