कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लालझाडीमा हिँड्दैन हात्तीका हूल

हात्तीको परम्परागत जैविकमार्ग मासेर बस्ती विस्तार त भएकै छ, संरक्षणमा लाग्नुपर्नेहरु नै फँडानीमा लागेपछि वन क्षेत्र निरन्तर घट्दो छ

धनगढी, कञ्चनपुर — कभै हात्ती लालझाडीमा 
कभै हात्ती दाङमा 
बादल फाटी घाम लागिजाऊ बैरागीका आङमा...

लालझाडीमा हिँड्दैन हात्तीका हूल

सुदूरपश्चिमको यो लोकभाकाले लालझाडीको घना वन र यहाँ विचरण गर्ने हात्तीका हुल हुन्थे भन्ने झल्काउँछ । कञ्चनपुरदेखि बाँकेको चारकोसे हुँदै दाङ जोडिएको यो क्षेत्रमा अहिले नाममात्रको जंगल छ । रानाथारू समुदायले परम्परागत रूपमा जोगाउँदै आएको लालझाडीमा वन मासियो, बस्ती बढ्यो ।

सग्ला रूखहरू वनकर्मी, स्थानीय उपभोक्ता र काठ तस्करका लागि कमाउने सहज माध्यम बनेको छ । ‘औसतमा दैनिक ३० वटा सालका रूख काटिन्छन्,’ लालझाडीका स्थानीय वृद्ध सेवया राना भन्छन्, ‘पुर्खाले जोगाएको यो जंगल हामीले सन्तानका लागि जोगाउन सकेनौं । वनरक्षक नै मास्न अघि सरेपछि लालझाडी कसरी जोगिनु !’दाङदेखि लालझाडीसम्म हात्तीको जैविक मार्ग थियो । एक दशकयता यो क्षेत्र कतै पनि हात्तीका हूल बस्न सहज छैन ।

परम्परागत जैविक मार्ग मासिएर विस्तार भएको बस्तीमा हात्तीका हुल आइपुग्दा बर्सेनि धनजनको क्षति हुने घटना बढेको छ । ‘वन पहिले जस्तो घना रहेन, फेरि हात्ती करिडोर पनि ठाउँ ठाउँमा ब्रेक भएको छ,’ लालझाडी संरक्षित क्षेत्रका सामुदायिक वनहरूको सञ्जाल सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले भने, ‘अहिले साउन, भदौ र पुस, माघमा वर्षको दुई पटक मात्रै हात्ती लालझाडीमा देखिन्छन् ।’ तीन दशकअघिसम्म लालझाडी संरक्षित क्षेत्रकै सिरान चुरे फेदीको सिस्नेमा हात्ती हुलमा धेरै देखिन्थे । वन विनाश बढेयता रैथाने मात्रै होइन आगन्तुक हात्तीका हूल पनि निकै कम आउँछन् ।

आज कस्को पालो हो ? कञ्चनपुरको देखतभूली वन पोस्टका कर्मचारीले बिहानै सामुदायिक वनका पदाधिकारीलाई फोन गरेर सोध्छन् । पदाधिकारीले ‘फलानाको पालो हो, जंगलको फलानो क्षेत्रमा जाने हुन्’ भनेपछि वनकर्मीले आफ्नो सबडिभिजनका अधिकारीलाई पनि जानकारी गराउँछन् । साँझ परेपछि दुई/चार गाडा सालका गोलिया लिएर आउँछन् र गाउँमा छ्याप्छयाप्ती खुलेका फर्निचर उद्योगहरूमा पुर्‍याउँछन् । अर्को दिन हिसाबकिताब हुन्छ ।

बस्तीनजिक लालझाडी वनमा लुकाएर राखिएको काठ ।

मोटो रकम आउने रुख कटानमा स्थानीय वन पोस्ट, उपभोक्ता समितिका पदाधिकारी, डिभिजन वन कार्यालयसम्म कर्मचारीको मिलेमत्तो हुन्छ । जहाँ काठ पठाइने हो त्यसै दिन त्यो ठाउँमा पुग्छ । दुई/दुई दिन बिराएर लालझाडी फँडानी भइरहेको दृश्य यहाँ नौलो छैन । लालझाडीको देखतभूली पोस्टको यो उदाहरण मात्र हो । अधिकांश सामुदायिक वनमा फँडानी गर्न मिलेमत्तो छ ।

सामुदायिक वनका पदाधिकारीमध्ये कसैले विरोध गरे अर्को दिन पदबाटै हटाउने प्रक्रिया सुरु हुन्छ । निर्णय प्रक्रियामा त्यस्ता पदाधिकारीलाई सहभागी नै गराइँदैन । ‘यसरी विरोध गर्ने पदाधिकारी हटाइएका थुप्रै उदाहरण लालझाडी क्षेत्रका सामुदायिक जंगलमा पाउन सकिन्छ,’ देखतभूलीका एक स्थानीयले भने, ‘जसले विरोध गर्‍यो त्यसलाई वन मुद्दा लगाउन पछि पर्दैनन् । त्यसैले समूहका पदाधिकारी विरोधमा मुख खोल्दैनन् ।फडानीमा नमिल्ने पदाधिकारीलाई एक्ल्याउने गरिएको उनले बताए ।

‘सरकारी नीति नियम र संरक्षणको त कुरै छैन, भने आफैंलाई लाज लाग्ने अवस्था छ । भनेर पनि के गर्ने कारबाही गर्ने निकायका अधिकारीकै निगरानीमा फँडानी हुन्छ भने भन्नुको पनि कुनै अर्थ छैन,’ लालझाडी क्षेत्रको एक सामुदायिक वन उपभोक्ता समूहकी सचिव धना जोशीले भनिन् । डिभिजन वन प्रमुखदेखि धेरै ठाउँमा यस क्षेत्रमा हुने अनियमितताका विषयमा कुरा राखे पनि कसैले चासो नै नदिएको उनको गुनासो छ ।

लालझाडीको क्षेत्रफल २९ हजार ६ सय ४१ हेक्टर छ । धेरै ठाउँ वन पातलो छ, भित्र रूखका ठुटै ठुटा छन् । बैलकुन्डी र भेटघाट शिविरलगायत चुरे फेदीको कुमगाडामा ३० हेक्टर बढी वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ । सुकम्बासी, आरक्ष पीडित, मुक्त कमैया, मुक्तहलियालाई सरकारले समयसमय पुनःस्थापित गर्दा लालझाडी अतिक्रमणमा बढी परेको हो । स्थानीय अगुवा सिद्धराज जोशी भन्छन्, ‘अधिकांशसँग कमाइ खाने जमिन छैन । रोजगारी पनि नहुँदा धेरैको गुजाराको माध्यम वन छ ।’

कञ्चनपुरको लालझाडी क्षेत्र सुरु हने मुख्यद्वारमा सञ्चालित एक फर्निचर उद्योग । काठ चिर्ने उद्देश्यले यहाँ यस्ता दर्जनौं उद्योग खोलिएको देख्न सकिन्छ । तस्बिर : कान्तिपुर

लालझाडी मोहना संरक्षित क्षेत्र कञ्चनपुरको चुरेफेदीदेखि भारतको दुधुवा नेसनल पार्क हुँदै पूर्वमा मोहना नदी आसपास र पश्चिममा वनहरा नदीसम्म पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जदेखि भारतको राजाजी जीम कोर्वेटसम्म जोडेर जैविक मार्ग निर्माण गर्ने उद्देश्यअनुरूप एक दशकअघि लालझाडी मोहना संरक्षित क्षेत्र घोषणा गरिएको हो । ६८ वटा सामुदायिक वन रहेको लालझाडी मोहना करिडोरमा वैधानिक रूपमा दर्ता भएका मात्र ४१ वटा फर्निचर उद्योग र स–मिल छन् । योभन्दा ठूलो संख्यामा दर्ता नभएका पनि रहेको स्थानीयको दाबी छ । ‘नाम मात्र उद्योगको हो,’ सचिव जोशीले भनिन् ‘उद्देश्य चाहिँ के हो ? सबैले बुझेका छन् ।’ वनमा काटेका रूखको प्रमाण मेटाउन मुढामा आगो लगाउने र माटोले पुर्ने गरिएको स्थानीय बताउँछन् ।

संघीय सरकारले यसको संरक्षणका लागि लालझाडी मोहना करिडोर बनाएर काम अघि बढाएको लामो समय भएको छ । लालझाडीलाई कैलालीको मोहना वनक्षेत्र र भारतको दुधुवा नेसनल पार्कसँग जोडेर वन्यजन्तुको आवागमन सहज तुल्याउने योजना कार्यान्वयन हुन सकेको छैन । लालझाडी मोहना करिडोर, दुधुवा नेसनल पार्क, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वसन्ता वन क्षेत्रसहित चुरेलाई जोडेर दुर्लभ वन्यजन्तुको संरक्षणका लागि दातृ निकायको कार्यक्रम छ ।

संघ र प्रदेश सरकारले मात्र लालझाडी संरक्षणका लागि भन्दै बर्सेनि बजेट खर्च गर्दै आएका छन् । त्यसबाहेक सामुदायिक वनले पनि खर्च गर्छ । चालु वर्ष प्रदेश सरकारले १० लाख छुट्याएको छ । लालझाडी वन परिषद्को निर्णयको आधारमा उक्त रकम खर्च हुने गरेको छ । वन परिषद्ले ५ लाख बिरुवा उत्पादन र ५ लाख वन संरक्षणदेखि तालहरू व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको छ । यसअघिको बजेट पनि बिरुवा उत्पादनदेखि तालिम गोष्ठी र वन संरक्षण आदिमा खर्च गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर शिवराज अवस्थीले बताए ।

वन्यजन्तु संरक्षणमा काम गरिरहेका दातृ निकायले पनि बर्सेनि यो क्षेत्रमा लगानी गरिरहेको छ । एकातिर संरक्षण अर्कोतिर वन विनाश चलिरहेको छ । वनकर्मी भने फँडानी भइरहेको स्वीकार गर्दैनन् । ‘त्यसरी फँडानी भएको विषयमा हामीलाई कुनै जानकारी छैन,’ लालझाडी सबडिभिजन प्रमुख रेञ्जर करुणाकर जोशी भन्छन्, ‘थारू समुदायमा दाउरा धेरै प्रयोग हुने भएकाले दाउरासम्म लैजाने गरिएको छ ।’ जोशीले डेढ वर्षको अवधिमा वन फँडानी र चोरीसिकारका १३ मुद्दा दर्ता भएका भएर कारबाही भइरहेको बताए ।

प्रकाशित : माघ १३, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?