सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा दुर्घटना : एक बेपत्ता, एक घाइते

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् । 

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा दुर्घटना : एक बेपत्ता, एक घाइते

बिहीबार बिहान पौने ४ बजे आयोजना निर्माणस्थल पञ्चनस्थित सुरुङभित्र पाइप लैजाने क्रममा एक्स्काभेटर नै भाँचिएपछि दुर्घटना भएको हो । सुरुङभित्र पानी बगाउने पाइप एक्स्काभेटरको बकेटमा लिएर जाँदा एक्स्काभेटर नै भाँचिएपछि बकेटमा रहेका मजदुरसमेत सुरुङभित्र खसेका थिए ।

सुरुङभित्र बेपत्ता हुनेमा बाराको कोल्हवी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेका छन् । उनको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका पर्साको पटेर्वा गाउँपालिका ४ का २० वर्षीय आंगत राय थारुलाई भने उपचारका लागि ओखलढुंगास्थित मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटवालले जानकारी दिए । घाइते थारुको अवस्था सामान्य रहेको बताइएको छ ।

एक महिनाअघि सोही आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको थियो । त्यतिबेला जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय कन्सल्ट्याण्ट इन्जिनियर अर्जुन थापाको मृत्यु भएको थियो ।

प्रकाशित : माघ १३, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?