२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

खराब काम गर्ने जनप्रतिनिधिलाई कारबाही : नेता पुन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पार्टीको नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने बताएका छन् । पार्टीको हितविरुद्ध काम गर्ने र पार्टीलाई बदनाम गर्ने काम भए कारबाही गरिने पनि बताएका छन् । 

खराब काम गर्ने जनप्रतिनिधिलाई कारबाही : नेता पुन

पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले राम्रो काम गर्न निर्देशन दिएका हुन् । उनले निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने बताए ।

२०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पार्टी र पार्टीले जनप्रतिनिधि नखोजेको भन्दै अब त्यसरी नचल्ने नेता पुनले बताए । आफ्ना जनप्रतिनिधिलाई अरुको आलोचना र खिसीट्युरीमा नअल्झिन सुझाव दिए । राम्रो काम गरेर मन जितेपछि जनता आफैं माओवादी खोज्दै आउने उनको भनाइ थियो ।

राम्रो काम गरेकै कारण भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अघिल्लो निर्वाचनमा दुई सय मतान्तरले जितेकामा यसपटक १२ हजार भन्दा बढीले जित हासिल गरेको उनले चर्चा गरे ।

पार्टीको इज्जत र प्रतिष्ठा धुलोमा मिलाउने जनप्रतिनिधिलाई पार्टीमा राखिरहन नसकिने स्पष्टोक्ति पुनको भनाइ थियो । ‘राम्रो गर्नेलाई प्रोत्साहन गर्ने । राम्रा प्रतिनिधिलाई सम्मान गर्ने र हौसला बढाउने काम हुन्छ’, उनले भने, ‘नराम्रो गर्नेलाई सच्याउने र आवश्यक परे कारबाही पनि गर्ने हुन्छ । किनभने मत घटाउने, पार्टीलाई बदनाम गर्ने प्रतिनिधिलाई राखेर केही काम छैन । गल्ती गरेको छ, गन्हाएको छ, दुनियाँले छिःछिः गरेको छ, हामीले त्यसलाई संरक्षण गर्नु हुँदैन ।’

जनप्रतिनिधिलाई प्रशिक्षित गर्न १८ र १९ गते प्रशिक्षण राखिएको जानकारी दिँदै पुनले यसअघि जितेका ५० प्रतिशत जनप्रतिनिधिले किन निर्वाचन हारे भन्ने कारण खोजिने बताए । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको वाहक हुनुका नाताले अहिले पनि एजेन्डाका आधारमा माओवादी मुलुकको पहिलो पार्टी भएको दाबी गरे । शान्तिपूर्ण प्रतिस्पर्धामा पार्टीको अनुहार जनप्रतिनिधिमा देखिने भएकाले रातदिन जनताका पक्षमा काम गर्न उनको सुझाव थियो ।

माओवादी संख्याका हिसाबले पनि पहिलो पार्टी बन्ने गरी काम गरिरहेको भन्दै सबैलाई त्यही रुपमा अघि बढ्न कार्यकर्तालाई पुनले निर्देशन दिए । ‘एजेन्डाका आधारमा माओवादी पहिलो पार्टी बन्दा मात्र राजनीति सुल्टो हुन्छ । हाम्रो पाहिलो बन्ने कोसिस छ,’ उनले भने, ‘माओवादी अरुले भनेजस्तो हराउने, बिलाउने र मासिने पार्टी होइन ।’

एमाले अध्यक्ष केपी ओलीले ३० वैशाखपछि माओवादी सक्किने र गुगलमा मात्र भेटिने टिप्पणी गरेको चर्चा गर्दै पुनले माओवादीले अघिल्लोपटक भन्दा धेरै सुधार गरेको बताए । पुनले यस पटकको स्थानीय निर्वाचनमा आफूहरुले ‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेर भोट मागेको भन्दै जनताको आर्थिक अवस्था बदल्नुपर्नेमा जोड दिए । ‘जनताको आर्थिक अवस्थामा सुधार भएन र जनताको जीवनस्तर माथि उठेन भने राजनीतिक उपलब्धिको अर्थ हुँदैन,’ उनले भने ।

प्रकाशित : जेष्ठ १४, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?