१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आर्थिक, सामाजिक रुपान्तरणसहित समृद्ध नेपाल निर्माणमा अघि बढौं : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक, सामाजिक रुपान्तरणसहित समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आह्वान गरेका छन् ।

आर्थिक, सामाजिक रुपान्तरणसहित समृद्ध नेपाल निर्माणमा अघि बढौं : अध्यक्ष नेपाल

आइतबार १५ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको दशकौं लामो संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका छन् । गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक जनक्रान्तिसहित न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै उनीहरुको योगदानको उच्च सम्मान व्यक्त गरेको उनले बताएका छन् ।

'जनताको बलिदानपूर्ण संघर्षको फलस्वरुप लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको हो । सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन सकिरहेको छैन । राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन,' शुभकामना सन्देशमा उनले भनेका छन् ।

अर्कोतिर यही व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृति, निरंकुश तरिका र अहंकारी व्यवहार तथा भ्रष्ट आचरण देखिनु दु:खद पक्ष भएको उनको भनाई छ ।

'गत वर्ष सार्वभौम जनताको प्रतिनिधित्व हुने प्रतिनिधिसभालाई पटक-पटक विघटन गरी मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएका थिए। जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता हो,' उनले भनेका छन्, 'असंलग्न परराष्ट्र नीतिप्रति निष्ठावान रहँदै राष्ट्रको सार्वभौम सत्ता र स्वाभिमानको रक्षार्थ दृढताका साध उभिनु हामी प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी हो ।'

प्रकाशित : जेष्ठ १५, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?