कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीपीसी विदेश विभाग प्रमुखद्वारा ओली र दाहालसँग छुट्टाछुट्टै भिडियो संवाद

जगदीश्वर पाण्डे

काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालका दुई मुख्य कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग बिहीबार र शुक्रबार छुट्टाछुट्टै भिडियो संवाद गरेका छन् ।

सीपीसी विदेश विभाग प्रमुखद्वारा ओली र दाहालसँग छुट्टाछुट्टै भिडियो संवाद

सोङ ताओको स्थानमा भूमिका निर्वाह गर्न आएका लिउको टोलीले माओवादी अध्यक्ष दाहालसँग बिहीबार र एमाले अध्यक्ष ओलीसँग शुक्रबार द्विपक्षीय कुराकानी गरेको हो । संवादको अवसरमा सीपीसीका विदेश विभाग उपप्रमुख उपमन्त्री चेन झोउ पनि उपस्थित थिए ।

नेपालले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको केही दिनमै उत्तरी छिमेकबाट संवाद भएको हो । नेपालले सोमबार उक्त एसपीपी कार्यक्रमलाई अघि नबढाउने निर्णय गरेको थियो । जसलाई बिहीबार वेइजिङले प्रसंशायोग्य काम भन्दै टिप्पणी गरेको थियो ।

भिडियो कुराकानीका दौरानमा सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो टोलीसहित संवाद गरेका थिए भने माओवादी अध्यक्ष दाहाल एक्लै सहभागी थिए । ओलीले भने संवादका दौरानमा एमालेका उपमहासचिव विष्णु रिमाल, इजरायलको लागि पूर्वराजदूत अन्जान शाक्यलगायत केही व्यक्तिहरु समावेश गराएका थिए ।

संवादपछि शुक्रबार बेलुकी सीपीसीको विदेश विभागद्वारा जारी सूचनाअनुसार लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकीका साथै साझा भविष्यका विकास साझेदार भएको बताएका थिए । उनले सन् २०१९ को अक्टोबरमा सीपीसीका महासचिव सीले नेपालको ऐतिहासिक भ्रमण गरेको बताएका थिए ।

लिउले दुई देशका नेताहरूले गरेको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजनाहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गर्न र ‘बेल्ट एण्ड रोड’को रूपरेखाअन्तर्गत विभिन्न क्षेत्रमा व्यवहारिक सहयोग गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएका छन् । उनले हिमालयपारिको मित्रतालाई नयाँ उचाइमा पुर्‍याइएको पनि उल्लेख गरेका छन् ।

लिउले सीपीसी, माओवादी केन्द्र र एमालेको समान अवधारणा र भावनाहरू रहेको उल्लेख गर्दै अन्तरपार्टी आदानप्रदानलाई सुदृढ गर्न, पार्टीहरु बीचको सहयोग प्रवर्द्धन गर्न, जनता–जनताको सम्बन्धलाई बढाउन इच्छुक रहेको संवादको दौरानमा बताएका थिए । उनले एकअर्काको मुख्य चासो र प्रमुख चासोहरूको सम्मान गर्नु पर्ने बताए । उनले चीन–नेपाल सम्बन्धको स्वस्थ र स्थिर विकासलाई प्रवर्द्धन गर्न भूमिका खेल्ने बताए । लिउले यस वर्षको दोस्रो खण्डमा सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन अर्को चरणमा चीनको विकासको खाका तयार गर्न आयोजना हुने तथा यसले चीन–नेपाल सम्बन्धको विकासमा नयाँ गति दिने बताए ।

संवादका दौरानमा ओली र दाहाल दुवैले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताएका थिए । ओली र दाहालको दुवैको सचिवालयले उक्त कार्यक्रममा भाग लिएको जनाएको छ ।

ओली र दाहालले चीन र नेपालको कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै कुनै पनि शक्तिलाई चीनविरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै पनि अनुमति नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । दुवैले चिनियाँ सीपीसीको २०औं राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको अपेक्षा र कामना समेत गरे । संवादपछि एमाले र माओवादीले छुट्टाछुट्टै सीपीसीका प्रतिनिधिसँग दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा र सीपीसीबीच लगातार संवाद र साझेदारी भएको थियो । पार्टीको विचारधारादेखि सरकार कसरी चलाउनेसम्मका विचारहरु दुई पार्टी बीचमा आदानप्रदान भएको थियो । तर पछि नेकपामा विवाद आएपछि सर्वोच्च अदालतले दुई पार्टीलाई पुरानै अवस्थामा पुर्‍याइदियो । त्यसपछि सीपीसीले एमाले र माओवादीलाई छुट्टाछुट्टै संवाद र सहकार्य गरिरहेको छ । चीनले नेपालमा कम्युनिष्टहरु मिलेर एक पार्टी भन्नुपर्छ भन्ने सल्लाह दिँदै आइरहेको छ । त्यसका लागि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले तत्कालीन नेकपा र त्यसपछि कम्युनिष्ट नेताहरुलाई भेटेर सन्देश पनि दिँदै आइरहेकी छिन् । तर कम्युनिष्ट पार्टीहरु मिल्नेभन्दा पनि फुट्ने काम भयो । अहिले एमाले प्रमुख प्रतिपक्षमा रहेको छ भने माओवादी केन्द्र सत्ता घटकको महत्वपूर्ण साझेदार हो ।

प्रकाशित : असार १०, २०७९ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?