कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

उराव समुदायका पहिलो पाइलट

छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरीको 
विनोद भण्डारी

विराटनगर — लालसरी झाँगडलाई अझै हो कि होइन भन्ने लागेको छ– २३ वर्षे छोरा प्रमोद पाइलट बनिसक्दा समेत । अल्पसंख्यक झाँगड (उराव) समुदाय गरिबी र अशिक्षाका कारण विगतमा जाँडरक्सी खाएर रमाउने र सिकार खेल्न हिँडने समूहका रूपमा चिनिन्थ्यो ।

उराव समुदायका पहिलो पाइलट

पछिल्लो समय यो समुदायमा परिवर्तन आएको छ । तर पनि यो समुदायका युवाले उच्च शिक्षा पूरा गरेको भेटे अझै अचम्म मान्नेहरू छन् । प्रमोद आफ्नो समुदायबाट पहिलो पाइलट बनेका छन् । जीवनमा कहिल्यै विमान नचढेकी लालसरीलाई अब छोराले उडाएको विमान चढ्ने रहर छ ।

मोरङको कटहरी–५ भौडाहा बस्तीका प्रमोदले दुई महिनाअघि दक्षिण अफ्रिकाको बर्ड एभिएसन कलेजबाट कमर्सियल पाइलटको लाइसेन्स लिएका हुन् । उक्त कलेजबाट १८ महिनाको प्रशिक्षण पूरा गरेका उनी हाल नेपालको लाइसेन्स कन्भर्सन परीक्षाको तयारीमा छन् । उनले भने, ‘यो परीक्षा पास भएपछि यहाँको एयरलायन्समा आबद्ध हुने बाटो खुला हुन्छ ।’

आमाको रहर पूरा गर्न प्रमोदलाई पनि इच्छा छ । आफूले उडाउने जहाजको पहिलो उडानमा उनी बाआमालाई चढाउन चाहन्छन् । लालसरीले पुलकित हुँदै सुनाइन ‘मलाई पनि छोराले पहिलो पटक उडाएको हवाईजहाजमा बस्ने इच्छा छ ।’ बाबु विष्णु कृषक हुन् । उनले एक बिघा बेचेर छोरालाई पाइलट पढाएका हुन् । विराटनगर हाटखोलाको वाल्मीकि बोर्डिङ स्कुलबाट एसईई र ग्रीनल्यान्ड कलेजबाट विज्ञानमा १२ कक्षा सकेपछि प्रमोद पाइलट पढ्न गएका थिए ।

‘छोराले पाइलट बन्ने चाहना राख्यो,’ विष्णुले भने, ‘खेत बेचेर उसको इच्छा पूरा गरिदिएँ ।’ उनका अनुसार प्रमोदलाई पाइलट बनाउँदा करिब ५५ लाख रुपैयाँ खर्च भयो ।

प्रमोदका बुबा विष्णु र आमा लालसरी

प्रमोदका बाबु विष्णुले ५ र आमा लालसरीले ७ कक्षासम्म पढेका छन् । राजनीतिक रूपमा पनि सचेत लालसरी गत स्थानीय निर्वाचनमा कांग्रेसबाट वडामा महिला सदस्यकी उम्मेदवार थिइन् । प्रमोदका एक दिदी र एक भाइ छन् । दिदी संगीता स्टाफ नर्स छिन् भने भाइ मनीष ५ कक्षामा पढ्छन् ।

साबिकको भौडाहा र थलाहा गाविस हाल कटहरी गाउँपालिकाको वडा ५, ६ र ७ मा पर्छ । यहाँ करिब दुई हजार झाँगड (उराव) बस्छन् । स्थानीय हरि भट्टराईका अनुसार यो भेगमा मुस्किलले करिब दर्जन युवायुवती भेटिएलान्– ११, १२ र स्नातक तहमा पढने । मोरङ, सुनसरी, झापा, कञ्चनपुर, कैलाली, बारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरी र उदयपुरमा झाँगड (उराव) को बसोबास छ ।

प्रमोदको घर

उराव आदिवासी जनजाति प्रतिष्ठानका संस्थापक अध्यक्ष नुनुलाल उराव (झाँगड) का अनुसार मुलुकभरि झाँगडको जनसंख्या करिब अढाइ लाख मात्र छ । ‘तीमध्ये समुदायको पहिलो र एक्लो पाइलट प्रमोद हुन्,’ उनले भने । यो समुदायबाट निजामती सेवामा १० औं तहसम्म पुग्ने पहिलो र एक्लो व्यक्ति संस्थापक अध्यक्ष नुनुलाल नै हुन् । माटो विज्ञानमा एमएसी गरेका उनी कृषि विभागवाट दुई वर्षअघि सेवानिवृत्त भएका हुन् ।

पछिल्लो समय यो समुदाय आदिवासी जनजाति महासंघमा आबद्ध छ । यो समुदायबाट सुनसरीका शिवनारायण उराव संविधानसभा सदस्य पनि भए । नुनुलालका अनुसार सुनसरीको तत्कालीन नर्सिङ गाविसका सुरेन्द्र उराव प्राध्यापक डाक्टर छन् । त्यसैगरी सुनसरीकै नवीन उराव, सञ्जु उराव एमबीबीएस डाक्टर हुन् भने प्रवीन उराव सिभिल इन्जिनियर छन् । उनका अनुसार झाँगड समुदायका दर्जनबढी महिला स्टाफ र बीएससी नर्स छन् ।

प्रकाशित : असार ११, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?