कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘अन्तर्राष्ट्रिय स्तरका शिक्षण संस्था नेपालमै छन्’

काठमाडौँ — विद्यार्थी र अभिभावकलाई स्वदेशकै शिक्षण संस्थामा पढ्न–पढाउन प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबारदेखि राजधानीमा शैक्षिक मेला सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार ‘कान्तिपुर हिसान एडुफेयर (मेला)’ को उद्घाटन गरे ।

‘अन्तर्राष्ट्रिय स्तरका शिक्षण संस्था नेपालमै छन्’

सोमबारसम्म चल्ने मेलाका विषयमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीसँग सुदीप कैनीले गरेको कुराकानी :

हरेक वर्ष कान्तिपुर हिसान शैक्षिक मेला आयोजना गर्नुको उद्देश्य के हो ?

स्वदेशमै उत्कृष्ट शिक्षण संस्था छन् । यहीं गुणस्तरीय पढाइ हुन्छ भन्ने सन्देश दिन खोजिएको हो । अर्को कुरा, नेपालका शिक्षण संस्था पनि अन्तर्राष्ट्रियस्तरका छन् भनेर देखाउन खोजिएको हो । भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधार, फ्याकल्टी, विद्यार्थीलगायत विविध कार्यक्रम सबल हुँदै छन् भन्ने उदाहरण पनि हो यो । त्यसका लागि ब्रान्डिङ गर्दै सबै शिक्षण संस्था एकै ठाउँमा बसेर स्वस्थ प्रतिस्पर्धा गर्न खोजिएको हो । यसले विद्यार्थी, अभिभावकलाई सबैभन्दा बढी फाइदा पुग्छ ।

एकै ठाउँबाट धेरैभन्दा धेरै शिक्षण संस्थाको जानकारी दिन खोजिएको हो । ७४ शिक्षण संस्थाको सूचना एकै ठाउँमा केन्द्रित गरिएको छ । शिक्षण संस्थाबारे कस्तो–कस्तो जानकारी चाहिन्छ, त्यो लिन सकिन्छ ।

यस्ता मेलाबाट के अपेक्षा गर्न सकिन्छ ?

पढ्नकै लागि विदेश जानुपर्ने अवस्था छैन भन्ने कुरा मेलाले देखाउँछ । विद्यार्थीसँगै नेपाली पैसा पनि विदेशिएको छ । विदेश जानेको भीडलाई कम गर्न मेलाले मद्दत गर्दै आएको छ । निजी शैक्षिक संस्थाले के गरिरहेका छन्, उनीहरूको हैसियत के छ भन्ने कुरा मेलाबाट देखिन्छ । विदेश जाने सोचमा रहेका विद्यार्थी अभिभावकले पनि मेला अवलोकन गरेपछि निर्णय परिवर्तन गरेको उदाहरण विगतदेखि नै छ ।

राज्यले सकारात्मक रूपमा सहयोग गरे अझै धेरै सुधार गर्न सकिन्छ । नेपालका सबै शिक्षण संस्था सुधार गरेर अन्तर्राष्ट्रिय मापदण्डस्तरकै बनाउन सकिन्छ । निजी शिक्षण संस्थालाई नियमन गर्दै गुणस्तरीय, उत्कृष्ट शिक्षा नेपालमा नै दिन सक्ने वातावरण बनाउनुपर्छ ।

‘उत्कृष्ट शिक्षा नेपाल’ मै भन्ने मेलाको नारा छ । यसलाई कसरी मेलाले प्रोत्साहन गर्छ ?

यो नारा एउटा शिक्षण संस्था, एउटा व्यक्तिले बोलेर स्थापित हुन सक्दैन । संस्थागत रूपमै हिसानले नारा दिएर मेला आयोजना गरेको हो । त्यसमा सरकार, अभिभावक, विद्यार्थी, सरोकारवाला, सञ्चारमाध्यमको सहयोग चाहिन्छ । सबैलाई हाम्रा शिक्षण संस्थाको पूर्वाधार, शैक्षिक अवस्था, शिक्षण पद्धति, परीक्षा प्रणालीलगायत विविध शैक्षिक पक्ष हेर्न आउनुस् भनेर बोलाएका छौं । हाम्रो दाबी के भने हामी विदेशमा जस्तै शिक्षा दिन सक्षम छौं । हाम्रा शिक्षण संस्थाका हरेक पक्ष अन्तर्राष्ट्रिय मापदण्डका हुँदै गएका छन् । क्रमिक रूपमा सबल हुँदै गएका छन् । यो शिक्षक, अभिभावक, विद्यार्थी सबैले हेर्न लायक छ । यसले विद्यार्थी अभिभावकलाई आकर्षित पनि गरेको छ ।

कोभिडपछि शिक्षण संस्थाको अवस्था कस्तो देखिन्छ ?

पूरै पहिलेकै अवस्थामा आउन सकेका छैनन् तर लयमा फर्किने क्रममा छन् । हामीले कोभिडका कारण दुई वर्षपछि मात्रै मेला गर्दै छौं । यो पनि बिस्तारै शिक्षण संस्था तंग्रिँदै छन् भन्ने सन्देश हो । शैक्षिक संस्थालाई अझै प्रोत्साहन गर्न पनि मेला गरिएको हो । शिक्षण संस्थाका गतिविधि अझै बढाउन चाहन्छौं । कोभिडका असर बाँकी छन् । आर्थिक रूपमा शिक्षण संस्था अझै समस्यामा छन् । शिक्षक, लगानीकर्ता विस्थापित हुने, विद्यार्थी नपाउने समस्या थियो । अभिभावक पनि आर्थिक समस्यामा हुनुहुन्थ्यो । समस्या बिस्तारै हट्दै जान थालेको छ ।

प्रकाशित : असार ११, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?