कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उड्नै लागेको जहाजलाई जब प्रहरीले रोक्यो

सुरज कुँवर

काठमाडौँ — कप्तान नरबहादुर विश्वकर्मा बुधबार दिउँसो १ सय २९ यात्रु लिएर नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजलाई मुम्बईका लागि उडाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोनबाट ट्याक्सी–वे हुँदै धावनमार्गतर्फ सोझ्याउने तरखर गर्दै थिए । विमानस्थल टावरबाट एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले जहाजमा ‘आपराधिक क्रियाकलापमा संलग्न’ भएका कुनै व्यक्ति रहेको खबर गरे । 

उड्नै लागेको जहाजलाई जब प्रहरीले रोक्यो

कोपाइलट हिरा थापाका साथ ८ जना क्याबिन क्रुसहित पीआईसी (पाइलट–इन–कमान्ड) विश्वकर्मालाई एटीसीले दिएको खबरले झस्काइदियो । टावरबाट एटीसीले दिएको खबरलाई थप पुष्टि गर्न उनले जहाजबाटै निगमको अपरेसन हेर्ने ‘ग्राउन्ड’ कर्मचारीलाई सम्पर्क गरे । ककपिटमा रहेका चालक दल र विमानस्थलमा यात्रुलाई बोर्डिङ गराउने निगमका कर्मचारीले आधिकारिक पत्र भए मात्र जहाज

रोक्न सकिने बताएपछि विमानस्थल प्रहरीले निगमलाई पत्र लेख्यो । प्रहरीबाट त्यस्तो पत्र आएको सन्देश पाएपछि चालक दलले जहाजलाई पार्किङ वेमा पुर्‍याए ।

‘सामाजिक हितविरुद्ध अभियोग लागेको व्यक्ति निगमको आरए २०१ नम्बरको उडानबाट मुम्बई जान लागेको र थप अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने भएकाले जहाज रोकिदिनुपर्‍यो भनी निगमलाई पत्र लेख्यौं,’ विमानस्थलका एक प्रहरीले कान्तिपुरसँग भने, ‘हामीले पत्र लेखेर निगमका कर्मचारीलाई थमाइदिएको खबर पाएपछि पाइलटले जहाजलाई ८ नम्बरकै पार्किङ वेमा फर्काए ।’

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार जहाज पार्किङ वेमा पुगेपछि त्यहाँ रहेका प्रहरीका अतिरिक्त केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले जहाजको अघिल्तिरको ढोकाबाट सबै यात्रुलाई ओराल्यो । हरेकलाई प्रहरीले जाँच गर्‍यो । शंकास्पद भनिएका व्यक्तिबारे कैलाली प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले विमानस्थल प्रहरी र विशेष ब्युरोलाई सूचना पठाइसकेका थिए । त्यही सूचनाका आधारमा जहाजमा रहेका कैलालीमा सुन व्यवसाय गर्दै आएका सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गर्‍यो ।

एसपी राठौरका अनुसार लामिछानेलाई भारतका विभिन्न सहरबाट चोरीका सुन कैलाली ल्याई बिक्रीवितरण गरेको आरोपमा पक्राउ गरिएको हो । ‘धेरै लामो समयदेखि लामिछानेलाई निगरानी गरिरहेका थियौं,’ एसपी राठौरले कान्तिपुरसँग भने, ‘उनी काठमाडौंबाट मुम्बई उड्न लागेको सूचनाका आधारमा प्रमाणसहित पक्राउ गर्न मैले पत्र पठाएको थिएँ ।’ गौशाला प्रहरी वृत्तका डीएसपी केशव भट्टराईले विमानस्थलबाट पक्राउ गरिएका लामिछाने हिरासतमा रहेको बताउँदै बिहीबार उनलाई कैलाली पठाइने बताए ।

मुम्बईका लागि आइतबार र बुधबार गरी सातामा दुई उडान गर्ने निगमको संशोधित प्रस्थान समय बुधबार १ बजेर १० मिनेट थियो तर यो घटनाका कारण जहाजभित्र रहेका यात्रुलाई ओरालेर सुरक्षा जाँच गरी पुनः बोर्डिङ गराउँदा २ घण्टा लागेको थियो । ‘प्रहरीले वायु सेवालाई नभनी विमानस्थल प्रमुखलाई बेलैमा भनेको भए, आरोपित व्यक्तिलाई ५ मिनेटमै निकालेर बेलैमा जहाज उडान सकिन्थ्यो,’ विमानस्थल प्रमुख ठाकुरले भने, ‘तर प्रहरी प्रक्रिया नबुझेर जहाज रोक्न सिधै वायु सेवाकहाँ पुग्दा दुई घण्टा यात्रुले दुःख पाए ।’

काठमाडौं मुम्बईको उडान अवधि अढाई घण्टा हो । बेलैमा उडेको भए साढे ५ बजे काठमाडौं फर्किसक्नुपर्ने निगमको ‘९ एन अल्फा किलो एक्सरे’ जहाज बेलुकी ९ बजेपछि मात्रै १ सय २३ यात्रु बोकेर काठमाडौं अवतरण भयो । चार वटा विमानमध्ये हाल दुइटा मात्रै उडानमा रहेकाले निगमले मुम्बईपछि उक्त विमानलाई साढे ११ बजे दुबईका लागि राखेको थियो ।

प्रकाशित : श्रावण १९, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?